नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सञ्चालक समितिमा प्रतिनिधि परिवर्तन भएको छ । नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले समूह ‘क’ (संस्थापक समूह) अन्तर्गत मनोनयन गर्ने सदस्य परिवर्तनका लागि पठाएको पत्रअनुसार कम्पनीको सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त गरिएको हो। मन्त्रालयले सहसचिव अरुणा जोशीलाई नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । नियमावलीको नियम १२ को खण्ड (छ) अनुसार नेपाल सरकारको प्रतिनिधि सञ्चालकको व्यवस्था भएकाले सचिवस्तरीय निर्णयअनुसार जोशीको नियुक्ति गरिएको हो । नवनियुक्त सदस्य जोशीले गोपनीयताको शपथ ग्रहण गरिसकेकी छन् । उनले यसअघि सञ्चालक रहेका कोमल बहादुर खत्रीको स्थान लिनेछिन् ।

मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना श्रेष्ठ नियुक्त

काठमाडौं । भक्तपुरमा रहेको शहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गरिएको छ  । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा डा. श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो  ।  यसअघिका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ अवकाशपछि पद रिक्त थियो । डा. कल्पना प्रत्यारोपण केन्द्रको सबैभन्दा वरिष्ठ चिकित्सक हुन् ।

मातृभूमि लघुवित्तको कामु सीईओमा बटाला नियुक्त

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा बखत बहादुर बटाला नियुक्त भएका छन् । मंसिर १ गते बसेको संस्था सञ्चालक समितिको बैठकले बटालालाई कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाका सीईओ लक्ष्मी प्रसाद शर्माले पदबाट राजीनामा दिएपछि रिक्त भएको पदमा नायव प्रमुख कार्यकारी अधिकृत बटालालाई कामु सीईओको जिम्मेवारी दिइएको हो । संस्थाका अनुसार बटालाले मंसिर २ गतेदेखि कार्यभार समाल्नेछन् ।