प्रिमियर इन्स्योरेन्सको सीईओ तिमिलाले दिए राजिनामा, जोशीले पाइन् कामुको जिम्मेवारी

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वराम तिमिलाले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले सीईओ पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई माघ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले फागुन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । सोही बैठकले कम्पनीको कायम मुकायम सीईओ पदमा कबिता जोशीलाई नियुक्त गरेको छ । यससँगै उनले अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको कामु सीईओको जिम्मेवारी सम्हाल्ने छिन् । उनी कम्पनीको चिफ अपरेटिङ्ग अफिसर तथा आरआई विभागको प्रमुख हुन् । साथै, अर्को व्यवस्था नभएसम्म इन्स्योरेन्सको कम्पनी सचिवमा पदम बहादुर थापालाई नियुक्त गरिएको छ ।

एनआइसी एशिया लघुवित्तले माग्यो ३० जना कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ३० जनाका लागि कर्मचारी मागेको हो । कम्पनीले सुपरभाइजर बरिष्ठ सहायक/ शाखा प्रमुखका लागि ५ जना, सहायक पदका लागि १० जना र कनिष्ठ सहायकका लागि १५ जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकाे माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १० गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

इको प्यानलको तालिमपछि पाए ३५ जनाले रोजगारी

काठमाडौं । नेपाल इको प्यानलको आयोजनामा दुईदिने इको प्यानल जडान तालिम सम्पन्न भएको छ । दुईदिनको तालिमपछि तालिममा सहभागीहरुले इको प्यानल जडान गर्न सिकेका छन् । इको प्यानल जडान गर्न सिकेसँंगै उनीहरुले रोजगारी पाएका छन् । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले देशभरि नै इको प्यानलको प्रयोगबाट भौतिक संरचना निर्माण गर्नेहरुको संख्या बढिरहेकोले आवश्यक जनशक्तिका लागि तालिम दिएको स्पष्ट पारे । तालिम प्राप्त व्यक्तिहरुले अव ती ठाउँंहरुमा पुगेर इको प्यानल जडान गर्ने काम पाउने उनले जानकारी गराए । देशमा रोजगारीको समस्या भइरहेको बेला स्वरोजगार बनाउने उद्देश्य तालिमको रहेको इन्जिनियर दुवालले बताए । आज स्वरोजगार भएका व्यक्तिहरु भोलिका दिनमा उद्यमशिल हुनसक्ने पनि उनले जनाए । भोलिका दिनमा इको प्यानलको विक्रीवितरणसमेतमा सहभागी भई जडान गर्ने काममा उनीहरु लाग्नसक्ने उनले जनाए । सहभागीहरुलाई एक कार्यक्रमवीच प्रमाणपत्रसमेत वितरण गरिएको छ । तालिममा काठमाडौ उपत्यकासहित देशका विभिन्न जिल्लाहरुबाट सहभागी भएका थिए । महिला पाँंच जनासहित कुल ३५ जना तालिममा सहभागी भएको जनाइएको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्प प्रतिरोधी, तीव्र निर्माण सम्भब हुनुलगायतका कारण पछिल्ला वर्ष यसको माग देशभरि उच्च रहेको बताइएको छ ।