वैदेशिक रोजगारीमा गएका धादिङका २३ युवा बेखबर, मलेसियामा मात्रै १२ वेपत्ता
काठमाडौं ११, पुस । रोजगारकिा लागि विभिन्न समय खाडी मुलुक पुगेका धादिङका २३ युवा लामो समयदेखि परिवारको सम्पर्कमा नआएको उजुरी परेका छन् । यी मध्ये मलेसियामा १२, भारतमा तीन, साउदीमा दुई कुवेतमा दुई, युएईमा दुई, कतारमा एक र जर्जियामा एकजना बेपत्ता छन् । धादिङमा पछिल्लो दुई वर्ष अवधिमा सूचना तथा परामर्श केन्द्रमा तीन सयभन्दा बढी उजुरी परे । यीमध्ये २३ युवा परिवारको सम्पर्कमा नआएको केन्द्रले जनाएको हो । बेपत्तामध्ये कागजपत्र अभावका कारण निकै कमलाई मात्र उद्धार गर्न सकिएको सामी परियोजनाका कार्यक्रम संयोजक गंगा सुवेदीले बताइन् । वेदेशिक रोजगारीमा जानेमध्ये धादिङ उत्तरी क्षेत्रका युवा बढी रहेको पाइएको छ । नागरिक दैनिकबाट।
एनबी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा हेमराज ढकाल चयन
काठमाडौं, १० पुस । एनबी इन्स्योरेन्स कम्पनी लि.को अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । आइतबार बसेको कम्पनीको सञ्चालक समितिले ढकाललाई अध्यक्ष बनाएको हो । ढकालले यस कम्पनीको प्रवद्र्धक समूह आइएमई ग्रुपबाट प्रतिनिधित्व गरेका हुन् । यस अघि सोही ग्रुपबाट अम्बिकाप्रसाद पौडेलले प्रतिनिधित्व गरेका थिए । मंसिर १७ गते कम्पनीको साधारणसभा सम्पन्न भएपछि पौडेलले अध्यक्षको पदबाट राजीनामा गरेका थिए ।
सनराइज बैंककाे विज्ञ संचालकमा जोशी नियुक्त, नेशनल नारायणी फाइनान्सको सिम्बोलिक प्रतिनिधित्व
काठमाडौं, ७ पुस । सनराइज बैंकको संचालक समितिले विज्ञ सञ्चालकमा ओमकृष्ण जोशीलाई नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार व्यवसायिक विशेषज्ञको रुपमा उनलाई आगामी ४ वर्षको लागि नियुक्त गरिएको बैंकले जनाएको छ । उनको नियुक्तीसँगै सनराईज बैंकमा गाभिएको नेशनल नारायणी फाइनान्सको सिम्बोलिक प्रतिनिधित्व भएको छ । दुई संस्था मर्ज हुँदा नेशनल नारायणी फाइनान्सबाट सञ्चालक समितिमा प्रतिनिधित्व भएको थिएन । जोशी यसअघि नेशनल नारायणी फाइनान्समा विज्ञ सञ्चालक थिए । त्यसअघि नारायणी फाइनान्समा प्रबन्ध निर्देशकको रुपमा कार्यरत थिए । बैंक व्यवस्थापन समिति र सञ्चालक समिति दुबै तहमा बसेर काम गरेका जोशीलाई व्यवहारिक बैकर्सको रुपमा चिनिन्छन् ।