त्रिविको अर्थशास्त्र विभाग हाँकेका अधिकारी बने योजना आयोगको उपाध्यक्ष
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई नियुक्त गरेकाे हो । उनी चैत २०८०मा योजना आयोगको सदस्य नियुक्त भएका थिए । उनले डा. डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगमा सदस्यका रुपमा काम गरेका थिए । त्यसअघि राष्ट्रिय योजना आयोगको वरिष्ठ सल्लाहकार र अन्तरसरकारी वित्तीय परिषद्को सदस्यको रूपमा काम गरिसकेका छन् ।
श्रमिकलाई दुःख दिए म्यानपावर कम्पनीलाई कारबाही गर्ने विभागको चेतावनी
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ । बिहीबार विज्ञप्ती जारी गर्दै विभागले म्यानपावर व्यवसायीहरूले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने जस्ता कार्य गरेको भन्दै दुःख नदिन भनेको हो । ‘इजाजतपत्र प्राप्त संस्थाहरूले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने जस्ता गुनासोहरू विभागमा प्राप्त हुने गेरेकोले त्यस्तो कार्यहरू नगर्न नगराउन हुन अनुरोध छ,’ विज्ञप्तीमा उल्लेख छ । अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ । त्यस्तै, विभागबाट अनुगमन गर्दा समेत त्यस प्रकारको अवस्था भेटिएकाले ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ बमोजिम अनिवार्य तोकिएको मापदण्ड बमोजिम तालिम प्रदान गरेर मात्र प्रमाणपत्र उपलब्ध गराउन विभागले सचेत गराएको छ ।
ग्लोबल आइएमई बैंकको सञ्चालकमा भट्टराई नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । साउन १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निणर्य गरेको हो । ‘बैंक सञ्चालक समितिको ४४३ औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १७ (क) बमोजिम योग्यता तथा अनुभव प्राप्त काठमाडौंमा बस्ने श्रीमति भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय भएको व्यहोरा अनुरोध गर्दछौं’, नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।