एनआईसी एशिया लघुवित्तका नवनियुक्त सीईओ जोशीले लिए सपथ

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलराज शर्मा जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नव नियुक्त सीईओ चोलराज शर्मा जोशीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम साउन ७ गते संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका हुन् । लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभव भएका चोलराज शर्मा जोशीले मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

कोरियाको कृषितर्फ भाषा पास गरी रोस्टरमा रहेकाले वन क्षेत्र रोज्न पाउने

काठमाडौं । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा पास गरेर रोस्टरमा रहेकाहरूले क्षेत्र परिवर्तन गर्न पाउने भएका छन् । ईपिएस कोरिया शाखाका अनुसार ३१ डिसेम्बर २०२४ भित्र म्याद सकिनेहरूले वन क्षेत्रतर्फ रोस्टर परिवर्तन गर्न पाउने भएका हुन् । नेपालसहित म्यानमार र भियतनामबाट गएकाहरूले क्षेत्र परिवर्तन गर्न पाउने जनाइएको छ । उनीहरूले २१ जुलाई २०२४ देखि २४ जुलाई २०२४ सम्म रोस्टर परिवर्तन गर्न चाहेको निवेदन शाखामा दिनुपर्नेछ । निवेदनमा राहदानी नम्बर, प्रवेशपत्र नम्बर, सम्पर्क नम्बर र सूचीमा नाम उल्लेख भएको सिरियल नम्बर राख्नुपर्नेछ ।

युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

वासिङ्टन डिसी । नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको अमेरिकी सहयोग नियोग युएसएआइडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएका छन् । नियोगकी प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले शुक्रबार युएसएआइडीको मुख्यालय डिसीमा उनको शपथ गराएका छन् । कार्यक्रममा नेपाली दूतावासकातर्फबाट कायममुकायम राजदूत कुमार खरेलले सहभागिता जनाएका थिए । उक्त अवसरमा खरेलले युएसएआइडीसँग नेपालको विकास साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगको निरन्तरताका लागि अनुरोध गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले विगत वर्षमा आफूले नेपाल भ्रमण गर्दाको बखतको विविध पक्षका बारेमा स्मरण गरेका थिए ।