सिटिजन्स बैंकको सञ्चालक ईला शर्माले लिइन् सपथ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छन् । ईला शर्मालाई अध्यक्ष प्रवल जंग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालय बाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गर्नुका साथै युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी छन् । उनीसँग अन्तराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ । निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत भइसकेकी छन् । काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा समेत काम गरेकी शर्मा विभिन्न आईएनजीओमा समेत संलग्न छिन् । उनले फूड फस्र्ट इन्फर्मेशन एक्शन नेटवर्क नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडियाको कार्यकारी समितिका साथै साउथ एशिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इनभारोमेन्टको कार्यकारी समितिको बोर्डमा पनि काम गरिसकेकी छन् । आइआइएलएम विश्वविद्यालय गुढगाँव भारतमा एक प्राध्यापकको रूपमा ल एन्ड जस्टिस, क्रस बोर्डर आरबिट्रेसन एन्ड इनभेष्टमेन्ट ल र इन्टरनेसनल ह्यूमन राइट्स अध्यापन गराउँदै आएकी छन् । उनी यस अघिनै एक प्रतिष्ठित वाणिज्य बैंकको सञ्चालक भइसकिन् ।

देवेन्द्ररमण खनाल बने राष्ट्रिय वाणिज्य बैंकको सीईओ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको उपकार्यकारी अधिकृत (डीईओ) देवेशप्रसाद लोहनीले जानकारी दिए । खनाल खुला प्रतिस्पर्धाबाट बैंकको सीईओमा नियुक्त भएका हुन् । वि.सं २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् । बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ । पूर्व सीईओ किरण कुमार श्रेष्ठले अवकाश पाएपछि खनालले कामु सीईओको जिम्मेवारी समेत पाएका थिए । बैंकको सीईओ छनोट तथा सिफारिस समितिले ५ जनाको नाम सर्ट लिष्ट गरी बुधबार अन्तवार्ताका लागि बोलाएको थियो । अन्तवार्तामा ३ जनाको नाम सञ्चालक समितिमा पेस गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न २० जनाले आवेदन दिएका थिए ।

सरकारले सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दै

काठमाडौं । सरकारले सात प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म श्रमाधान रोजगार मेला आयोजना गर्ने भएको छ । मंगलबार सिंहदरबारस्थित श्रम मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने जानकारी दिएको हो । सरकारले सात प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागेको बताएको छ । सरकारले जेठ १७ र १८ कोशी प्रदेश,१९-२० मधेस प्रदेश,२१–२२ गण्डकी प्रदेशको पोखरा,२३-२४ लुम्बीनी,२५-२६ कर्णाली प्रदेशको सुर्खेत,२७-२८ सुदुरपश्चिम प्रदेशको धनगडी र २९-३० बागमती प्रदेशको ललितपुरमा श्रमाधान मेला आयोजना गर्न लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी दिन सकिने बताए । उनले मंगलबारदेखि नै दर्ता खुला भएकाले रोजगारदाता कम्पनीहरू र रोजगारीको खाजीमा रहेका नेपालीहरू जाेडिन सकिने बताए । सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको उनकाे भनाइ छ । मन्त्री अर्यालले ‘श्रमाधान रोजगार मेला’ गर्ने कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेत समावेश भएको बताए । उनले श्रमाधान रोजगार मेलामा सातै प्रदेशका प्रदेश सरकार र स्थानीय सरकारको सहयोगको अपेक्षा रहेको बताए । श्रमाधान रोजगार मेला सरकारको सानो प्रयास मात्रै भएको उनकाे भनाइ छ ।