गरिमा विकास बैंकका निवर्तमान सीईओ ढकालको बिदाइ, नवनियुक्तमा उपाध्याय नियुक्त
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । त्यस्तै बैंकले निवर्तमान सीईओ गोविन्दप्रसाद ढकालको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको बुढानिलकण्ठस्थित एक रिसोर्टमा विशेष समारोह आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ । उक्त समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहरु, पूर्वअध्यक्षहरू, गरिमा म्युचुअल फन्डका कोष सुपरिवेक्षक, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारी तथा अन्य कर्मचारीसमेतको उपस्थिति रहेको थियो । विगत १५ वर्षदेखि सीईओको जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त भएसँगै बैंकको चैत्र १४ गते सम्पन्न सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । पद तथा गोपनियताको शपथ ग्रहणपश्चात् बोल्दै नवनियुक्त सीईओ उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी बैंकलाई थप उचाइँमा पुर्याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी निवर्तमान सीईओ ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समितिप्रति कृतज्ञता व्यक्त गरे । कार्यक्रममा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले बैंकलाई यो उचाइँसम्म पुर्याउनका लागि निवर्तमान सीईओ खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै नवनियुक्त सीईओको नेतृत्वमा बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए ।
देवेन्द्ररमण खनालले पाए राष्ट्रिय वाणिज्य बैंकको कामु सीईओको जिम्मेवारी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी देवेन्द्ररमण खनाललाई दिइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले अवकाश पाएपछि नायब प्रमुख कार्यकारी अधिकृत खनालले कामु जिम्मेवारी पाएका हुन् । चैत २९ गतेदेखि लागू हुने गरी खनाललाई कामु सीईओको जिम्मेवारी तोकिएको बैंकले जनाएको छ । वि.सं २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् । बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ ।
रमेश शर्मा बने नेपालको लागि किर्गिजस्तानको अवैतनिक महावाणिज्यदूत
काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मा नेपालको लागि किर्गिजस्तानका अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । शर्मालाई बिहीबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलिपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष शर्मा गुणस्तरीय कार्यका लागि देश विदेशमा ख्याति कमाएको शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक हुन् । निर्माण व्यवसायीको पृष्ठभूमिबाट अवैतनिक महावाणिज्यदूत नियुक्त हुने शर्मा पहिलो व्यक्ति हुन् । नेपाल र किर्गिजस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइ नेपालमा किर्गिजस्तानको लगानी भित्र्याउन आफूले विशेष पहल गर्ने शर्माले बताए । निर्माण व्यवसाय लगायत अन्य विविध क्षेत्रमा समेत लगानी गरेका शर्मा विभिन्न सामाजिक संस्थामा पनि उत्तिकै क्रियाशिल हुन् ।