दुर्गम खानीखोलामा श्रमाधान-कल सेन्टर सञ्चालन

काभ्रेपलाञ्चोक । जिल्लाको दुर्गम खानीखोला गाउँपालिकामा श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ । उक्त सेन्टरबाट असल श्रमसम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष संकलनसहित सम्बोधन गरिने जनाइएको छ । उक्त स्थानीय तह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘अति दुर्गम’ मा सूचीकृत गाउँपालिका हो । सेन्टरमार्फत् प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषका काम कारबाहीबारे जिज्ञासा तथा सरोकारवालालाई जानकारी दिइने र गुनासाको सुनुवाइ गरी तत्काल समस्या समाधानमा पहल गरिने गाउँपालिकका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार सेन्टरको सञ्चालनबाट गाउँपालिकास्थित निकायका कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह भई सेवाग्राहीका समस्याको शीघ्र सम्बोधन हुने अपेक्षा गरिएको छ । यस्तै दैनिकरूपमा प्राप्त हुने गुनासालाई सुनुवाइ गरी तत्काल सम्बोधन गर्न, जानकारी लिन वा गुनासो सेन्टरबाट सम्बद्ध निकायमा सम्पर्क एवं समन्वय गर्न र सम्बन्धित निकायले समेत तत्काल सम्बोधन गरे/नगरेको विषयमा गाउँपालिकाबाट नियमित अनुगमन एवं ताकेता गर्न सकिने व्यवस्था मिलाइएको थिङले बताए । यसका लागि गाउँपालिकाको केन्द्रस्थान साल्मेचाकलमा सेवाग्राहीले सेन्टरका निःशुल्क फोन तथा सेन्टरको क्युआर कोड स्क्यानमार्फत् निःशुल्क गुनासो गर्न सकिने व्यवस्था गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही साताबाट श्रम तथा रोजगारसँग सम्बन्धित नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउने उद्देश्यसहित ‘श्रमाधान’ अभियानअन्तर्गत ‘सेकेन्ड इनिङ्स’, रोजगार बैंक, समता, कनेक्ट, साथ, कल सेन्टर, पेसागत यात्राको सहयात्रीलगायत कार्यक्रम अभियानकारूपमा लैजाने योजना सुरुआत गरेको छ ।

पिपुल्स पावरको सञ्चालक समिति परिवर्तन, अध्यक्षमा टंकराज अर्याल

काठमाडौं । पिपुल्स पावर लिमिटेडको सञ्चालक समिति परिवर्तन भएको छ । कम्पनीको वैशाख १७ गते काठमाडौंमा सम्पन्न छैटौँ र सातौँ वार्षिक साधारण सभाले पुरानो सञ्चालक समितिलाई बिदाइ गर्दै नयाँ समिति चयन गरेको हो । कम्पनीका अनुसार यसअघि भरतबहादुर खत्रीको नेतृत्वको सञ्चालक समितिलाई बिदाइ गर्दे संस्थापक सेयरधनी टंकराज अर्यालको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन गरिएको हो । नयाँ सञ्चालक समिति सदस्यहरूमा रामकाजी श्रेष्ठ, श्रीकृष्ण अर्याल, आरती अधिकारी, उपेन पराजुली, उद्धव भट्ट र निर्वाण शर्मा चयन भएका छन् । यीमध्ये श्रेष्ठ र पराजुली सर्वसाधारण सेयरधनीहरूबाट सञ्चालकमा चयन भएका हुन् भने श्रीकृष्ण अर्याल आरती अधिकारी र उद्धव पराजुली संस्थापक सेयरधनीबाट चयन भएका हुन् । निर्माण शर्मा भने स्वतन्त्र सञ्चालकका रूपमा समितिमा आएका हुन् । सोही साधारण सभाले कम्पनीको हाल कायम ६३ लाख २६ हजार कित्ता सेयरको १ बराबर ०.५ का दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ ।

महानरपालिकाको श्रम बैंकबाट ४ सयले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो । अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध गराइरहको श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले बताए । उनका अनुसार रोजगार पाउनेमा स्थानीय र केही भाडामा बसोबास गर्ने व्यक्तिको निवेदन प्राथमिकतामा परेको छ । व्यक्तिको कार्यक्षमताका आधारमा दैनिक ज्यालामा रोजगार दिने गरिएको उनले बताए । ‘कार्यालयमै आएर फाराम बुझाउनेहरु थुप्रै हुनुहुन्छ’, उनले भने, ‘यद्यपि श्रमप्रतिको सम्मान भाव नभएका कारण अझै रोजगार खोज्दै आउने युवाको जमात थोरै देखिन्छ ।’ अनलाइन फाराम भर्ने भनिए पनि भौतिक उपस्थिति अनिवार्य भएकाले बैंकसम्म आउनेको सङ्ख्या  तुलनात्मकरुपमा थोरै भएको उनको बुझाइ छ ।