एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुन खानिया
काठमाडौं । एनआईसी एशिया बैंकका सहायक महाप्रबन्धक अर्जुन राज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् इकोसिस्टममा काम गरी २० वर्ष भन्दा लामो अनुभव सँगालेका छन् । नेपाल बैंकमा आन्तरीक लेखापरीक्षकको रूपमा नायब प्रबन्धक बनेका खनिया सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपालमा शाखा प्रमुखको रुपमा प्रवेश गरेका थिए । त्यसपछि बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरूमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा योगदान पुर्याउँदै आएका छन् । हाल उनले बैंकको स्ट्राटिजी पर्फमेन्स म्यानेजमेन्ट इकोसिस्टम÷एक्सपेरियन्स एसुरेन्स इकोसिस्टम प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन् । बैंकको विभिन्न विभाग तथा इकोसिस्टममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको ट्रान्सफोर्मसनल जोर्नीमा योगदान पुर्याएका छन् ।
राष्ट्रिय बीमा कम्पनीको सीईओमा डा.शिवहरि श्रेष्ठ नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । बैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सीईओ पदपूर्ति उपसमितिले सीइओको लागि ४ जनाको नाम सर्टलिस्ट गरेको थियो । जसमा डा. शिवहरी श्रेष्ठ, नारायण कुमार भट्टराई, सुरेन्द्र थापा र सुवास कोईराला थिए । तीमध्ये श्रेष्ठ कम्पनीको सीईओमा छानिएका हुन् । उनलाई कम्पनीको नियमावलीको नियम ३३(५) र नियम ३५ बमोजिम सीईओ पदमा नियुक्त गरिएको कम्पनी सचिव डा. सृजना पन्तले जानकारी दिइन् । डा. श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्व सीईओ हुन् ।
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
काठमाडौं । ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुवकुमार गौतम र सीए मन्दिप वशिष्ठ नियुक्त भएका छन् । वैशाख १३ गते बिहीबार बसेको सञ्चालक समितिको ४८औं बैठकले उक्त निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनितिक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । प्रा.डा. गौतमसंग एसियन ईन्स्टीच्यिुट अफ टेक्नोलोजि थाईल्याडको एडजक्ट प्राध्यापक, विरला इन्स्टिच्यिुट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिको केस अध्ययन केन्द्रको वोर्ड सदस्य, डंग ए विश्वविद्यालय दक्षिण कोरियाको भिजिटिङ प्राध्यापक, टेक्सास क्रिष्चियन विश्वविद्यालयको रिसर्च एशोसिएट भई काम गरेको अनुभव रहेको छ । सीए मन्दिप वशिष्ठले नेपाल बोर्र्डबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुका साथै डिप्लोमा इन आईएफआरएस समेत गरेका छन् । विशेष गरी एसएमई क्षेत्रको परामर्शदाता तथा विभिन्न कम्पनीहरुको लागि ऋण तथा सेयर पूँजी परिचालन गरेको अनुभव भएका सीए वशिष्ठसँग स्वीस राजदुतावास तथा यूएसएआईडीको एसएमईज फर ग्रोथ फाइनान्सिङको विशेषज्ञको रुपमा सफल कार्य गरेको अनुभव रहेको छ । नवनियुक्त स्वतन्त्र सञ्चालकद्धय प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनियताको सपथ गराएका छन् । स्वतन्त्र सञ्चालकद्धय प्रा.डा. ध्रुवकुमार गौतम र सि.ए. मन्दिप वशिष्ठकोे लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले उनीहरुले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नेमा क्यापिटल विश्वस्त रहेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।