लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालक श्रेष्ठले लिए सपथ
काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । फागुन ३० गते नियुक्त भएका श्रेष्ठलाई संस्थाका अध्यक्ष चिन्तामणि भट्टराइले सपथ ग्रहण गराएका हुन् । स्वतन्त्र सञ्चालक श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट कानुन संकायमा स्नातक, एमपीए र एमबीए उपाधि हासिल गरेका छन् । उनले सरकारी निकायहरुको अधिकृतदेखि सह-सचिवसम्मको उच्च पदमा रहि ३७ वर्षभन्दा बढी सेवा गरेका थिए । साथै, उनले ऋण असुली न्यायाधिकरणमा लेखा सदस्यको जिम्मेवारी समेत सफलता पूर्वक निर्वाह गरेका थिए । उनको कार्यकालमा बैंकले थप उन्नत्ति प्रगति गर्ने बैंकको विश्वास छ । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।
गरिमा विकास बैंकको सीईओमा माधवप्रसाद उपाध्याय
काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चैत १४ गते बसेको बैठकले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते सकिँदैछ । त्यसैले २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी उपाध्यायलाई बैंकको सीईओमा नियुक्त गरेको कम्पनी सचिव अनिल रेग्मीले जानकारी दिए । उनका अनुसार उपाध्यायलाई आगामी ४ वर्षका लागि बैंकको सीईओमा नियुक्त गरेको हो । हाल उपाध्याय नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर काम गरिरहेका छन् । स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरेका उपाध्यायसँग १५ वर्षको अध्यापन/प्रध्यापक अनुभव छ । उनले बैंकमा हुँदा कम्पनी सचिव, शाखा प्रमुख, प्रशासन प्रमुख तथा क्रेडिट रिकभरी समितिको संयोजक भएर काम गरेका छन् ।
‘रुस जान व्यक्तिगत श्रम स्वीकृति खुला गरिएको छैन’
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्ति रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार यहाँ आयोजना गरेको काठमाडौंको आँखामा कर्णाली विषय कार्यक्रम उनले हाल रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था बन्द नै रहेको र खुला नगरिएको स्पष्ट पारेका हुन् । मन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायीले रुसमा युद्धग्रस्त क्षेत्र होइन भन्ने स्पष्ट पारेको र जोखिम छैन भन्ने मागलाई स्वीकृत दिने अघिल्लो मन्त्रीको पालामा भएको निर्णयका सन्दर्भमा आफूहरु पुनःमूल्याङ्कनका लागि अध्ययनका क्रममा रहेको जानकारी गराए । सरकार अविछिन्न उत्तराधिकारी हुने र निरन्तर चलिरहने विषयका सन्दर्भमा भने आफू सजग रहेको उनको भनाइ थियो । मन्त्री अर्यालले श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकको उद्धारका हकमा आफ्नो मन्त्रालयले जिम्मेवार हुने र श्रम स्वीकृति नलिई गएका नागरिकको हकमा परराष्ट्र मन्त्रालयले समन्वय गर्नुपर्ने बताए । कार्यक्रममा रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले राजनीतिक सङ्गठन निर्माणसँगै मुलुकको समृद्धिका लागिसमेत पार्टीले ध्यान दिने बताए । उनले २०८४ सालमा पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वापा निर्वाचनमा होमिनेमा स्पष्ट रहेको उल्लेख गरे । उपसभापति डा. वाग्लेले कर्णालीमा अपार सम्भावना हुँदाहुँदा पनि विकास निर्माणमा पछाडि परेको बताउँदै सङ्गठन निर्माणसँगै समृद्धिका लागि नीतिमा पनि योगदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको उद्घाटनपछि सत्रहरूमा विभिन्न विषयका विज्ञहरुले पार्टी सुदृढीकरण र कर्णाली विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए ।