डेढ दशकभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य हुन्छ : मन्त्री अर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न गरिने बताएका छन् । मन्त्रालयले आयोजना गरेको ‘बृहत् रोजगार मेला’ सम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामीले अहिलेदेखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ ।’ श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरुबीच समन्वय गर्ने उद्देश्यका साथ बृहत् रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ । रोजगार मेला आयोजनाका विषयमा सुझाव लिनका लागि मन्त्रालयले आज छलफल आयोजना गरेको हो । मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरिरहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री अर्यालले बताए । उनले भने, ‘मेलामा रोजगारदाताले आफूलाई चाहिने श्रमिकमा हुनुपर्ने सीपको विषयमा जानकारी दिनेछन् भने अवसरको खोजीमा रहेका युवा रोजगारीका लागि आवश्यक पर्ने सीपका बारेमा जानकारी पाउनेछन् ।’ उनका अनुसार मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहेअनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् रोजगार मेलाको आयोजना गर्न लागिएको बताए । मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने उनको भनाइ छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्दप्रसाद रिजालले आन्तरिक रोजगारीको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्नका लागि बृहत् रोजगार मेलाको परिकल्पना गरिएको बताए । छलफलमा नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, होटल व्यवसायी सङ्घका अध्यक्ष विनायक शाह, उद्योग वाणिज्य महासङ्घ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्की, रोजगारविज्ञ रामेश्वर नेपाललगायतले सुझाव दिएका थिए । रासस
महासंघमा संयोजकको जिम्मा सापकोटालाई, प्राथमिकतामा व्यवसायीका समस्या समाधान
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको संयोजकमा भागिरथ सापकोटा चयन भएका छन् । संघीय सांसद एलपी साँवा लिम्बु अध्यक्ष रहेको उक्त महासंघले महाधिवेशन आयोजक कमिटि घोषणा गर्दै संयोजकको जिम्मा सापकोटालाई दिएको हो । व्यवसायी सापकोटा पार्टी संगठन विस्तारमा काविलका साथै उद्योगी व्यवसायीका समस्या बुझेर सरकारसँग लविङ गर्न सक्ने व्यक्ति हुन् । नेकपा एमालेको उद्योगी व्यवसायीहरुको भातृ संगठनको रुपमा रहेको उक्त महासंघमा सापकोटा यसअघि महासचिव रहेका थिए । यसैगरी महासंघको महासचिवमा बालकृष्ण सिवाकोटी चयन भएका छन् । उनी यसअघि सोही महासंघको उपाध्यक्ष रहेका थिए । यस्तै कोषाध्यक्षमा डीमप्रकाश पौडेल चयन भएका छन् । उनी यसअघि महासंघका लेखा आयोग संयोजक रहेका थिए । देशको विग्रदो अर्थतन्त्र सुधारका साथै उद्योगी व्यवसायीक समस्या समाधानका लागि पहल गर्न एमालले सापकोटाको संयोजकत्वमा उक्त आयोजक कमिटि गठन गरेको हो । उनको संयोजकत्वमा २१ सदस्यीय सचिवलाय समेत गठन भएको छ भने महासंघको पाँचौं केन्द्रिय कमिटि बैंठकमा उपस्थित केन्द्रिय सदस्यहरुलाई आयोजक समितिमा राखिएको छ । साथै लगातार ३ पटक केन्द्रिय कमिटि बैंठकमा नआउने केन्द्रिय सदस्यहरुलाई संस्थाको विधान अनुसार पदबाट हटाइएको छ । यसैगरी महासंघको केन्द्रिय कार्यसमिति बैंठकले विधान मस्यौदा समिति समेत चयन गरेको छ । महासंघका तत्कालिन उपाध्यक्ष डेकनाथ गौतमको संयोजकत्वमा ९ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको हो । कार्यक्रममा एमाले जनसंगठन इन्चार्ज एवं पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले नयाँ बनेको आयोजक समितिले उद्योगी व्यवसायीको समस्या समाधानमा पलह गर्नुका साथै पार्टीको नीति निर्देशन भित्र रहेर समयमै संस्थाको महाधिवेशन गराउनुपर्ने बताए । यसैगरी संयोजक भएसँगै सापकोटाले अहिलेको विषम परिस्थितमा व्यवसायीका समस्या समाधान गर्न पार्टीदेखि सरकारसँग लविङ गर्नुपर्ने जिम्मेवारी आफुकहाँ आएको बताए । ‘मैले अहिलेपनि पनि महासंघमा रहेर संगठन विस्तारदेखि उद्योगी व्यवसायीका समस्या समाधान गर्न अग्रसर भएर काम गर्दै आएको छु,’ उनले भने, ‘अब यो आयोजक कमिटिले अहिले देखिएको उद्योगी व्यवसायीका समस्या समाधान गर्दै तोकिएको समयभित्र महासंघको अधिवेशन गर्नेछ ।’
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
अष्ट्रेलिया । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका अखबारहरूले जनाएका छन् जनवरी र फेब्रुअरीको बिचमा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या एक लाख १६ हजार पाँच सयले बढेपछि रोजगारीमा गिरावट आएको हो । एबीएसले फेब्रुअरी र मार्चको बिचमा पूर्ण-समय भूमिकामा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या २७ हजार नौ सयले बढे पनि सोही अवधिमा अंशकालीक रोजगारी ३४ हजार पाँच सयले घटेको बताएको छ । जागिर गुमाए पनि अष्ट्रेलियालीहरूले काम गरेको घण्टाको कुल संख्या एक करोड ७० लाख वा फेब्रुअरीको तुलनामा मार्चमा ०.९ प्रतिशत र मार्च २०२३ को तुलनामा १.७ प्रतिशत बढी थियो । एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले सहभागिता दर पूर्व-महामारीकोस्तर भन्दा धेरै बढी भएको र नोभेम्बर २०२३ मा सेट गरिएको ६७ प्रतिशतको रेकर्ड उच्च रहेको बताए । सहभागिता दरले काम गर्ने उमेरका जनसंख्याको अनुपात मापन गर्दछ, जसबाट कार्यरत छन् वा सक्रिय रूपमा काम खोज्दै छन् भन्ने थाहा हुन्छ, जुन ६६.७ प्रतिशतबाट केही घटेर ६६.६ प्रतिशतमा झरेको छ । रासस