विदेश जान ६ महिनामा ३ लाखले लिए श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख बढी पुगेको छ । साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ४३ हजार पुगेको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९÷८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट४ लाख १४ हजारले श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या ७१ हजारले कमी देखिएको उप्रेतीले बताए । उनले भने, ‘पुस महिनामा ६५ हजार आठ सय १३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन्, यो सङ्ख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।’ चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन र भदौभन्दा मङ्सिर र पुसमा सङ्ख्या बढेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै युएइ जाने रहेका विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार युएइका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् भने साउदी अरब र कतार १४ हजार, मलेसिया आठ हजार, कुवेत तीन हजार र कोरिया एक हजार जना गएका छन् ।

छिमेक लघुवित्तको कामु सीईओमा दिपक निधि तिवारी नियुक्त

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिपक निधि तिवारी नियुक्त भएका छन् । बिहीबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले तिवारीलाई माघ ६ गतेदेखि लागु हुने गरी कामु सीईओ पदमा नियुक्त गरेको हो । हाल संस्थाको सीईओको कार्यभार चोलराज शर्माले सम्हाल्दै आएका थिए । उनको पदावधि आज अर्थात माघ ५ गते सकिने भएकाले संचालक समितिले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेलसम्मका लागि तिवारीलाई उक्त पदमा नियुक्त गरेको हो । संस्थाको नायब महाप्रवन्धक पदको कार्यभार सम्हाल्दै आएका शर्माले पनि माघ ६ गतदेखि संस्थाको कामु सीईओको कार्यभार सम्हाल्ने छन् ।

सहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. मल्ल नियुक्त

काठमाडौं । सहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा प्रा. डा. रवि मल्ललाई नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा. डा. मल्ललाई हृदय केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । गत पुस ६ गते कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो। डा. अधिकारीको कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न नामहरुमा छलफल गरेको थियो। प्रा. डा. मल्ल मुटु राेग विशेषज्ञ तथा सर्जन हुन् ।