राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त
काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी पुस १६ गतेबाट लागु हुनेगरी जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत नियुक्त गरिएको हो । आयोगले जारी गरेको सूचना अनुसार कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल निर्वाचन अधिकृत छन् । त्यस्तै मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला निर्वाचन अधिकृत बनेका छन् । लुम्बिनीमा दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याल निर्वाचन अधिकृत बनेका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन अधिकृतले पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।
एनआईसी एसिया लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापनसहित)
काठमाडौं । एनआईसी एसिया लघुवित्तले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । लघुवित्तले आज एक सुचना जारी गर्दै विभिन्न पदको लागि १७७ जना कर्मचारीको माग गरेको हो । लघुवित्तका अनुसार नायब प्रबन्धकमा ६ जना, सहायक प्रबन्धकमा २ जना, बरिष्ट अधिकृतमा ६ जना, अधिकृतमा १० जना, कनिष्ठ अधिकृतमा २ जना, सुपरभाइजरमा २८ जना, वरिष्ठ सहायकमा २३ जना र सहायकमा १०० जना कर्मचारीको माग गरेको छ । उक्त पदका लागि प्लस टु देखि स्नातकोत्तर सम्मको योग्यता हुनुपर्ने लघुवित्तले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले पुस २६ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।
कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा बिजय स्थापित नियुक्त
काठमाडौं । कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा सिए बिजय स्थापित नियुक्त भएका छन् । पुस ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्थापितलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार स्थापितलाई उक्त पदमा चार वर्षको लागि नियुक्त गरेको हो ।