समता घरेलु लघुवित्तमा रोजगारीको सुनौलो अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै विभिन्न पाँच पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले व्यवस्थापकीय अधिकृतका लागि केही, बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाईजर, बरिष्ठ सहायक, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीहरु माग गरेको हो । कम्पनीले केन्द्रीय, ईलाका तथा शाखा कार्यालयहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन् ।  

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, को हुन् उनी ?

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले ढकाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सीईओ रहेका श्रीचन्द्र भट्टले राजीनामा दिएपछि ढकाललाई कामु सीईओ जिम्मेवारी दिएको थियो । बुधबारदेखि लागू हुने गरी उनलाई सीईओको जिम्मेवारी दिईएको कम्पनी सचिव बलदेव थापाले जानकारी दिए । ढकालले तत्कालीन हाम्रो विकास बैंकको सीईओ भएर सन् २०१० देखि सन् २०१६ सम्म ६ वर्ष काम गरिसकेका छन् । ढकालले यसअघि एनआईसी एसिया बैंकको व्यवस्थापकीय भूमिकामा रहेर काम गरेका थिए । आईसीआईसीआई बैंक र डिलोइट इण्डियामा समेत काम गरिसकेका उनीसँग बैंकिङ्ग क्षेत्रको डेढ दशक बढीको अनुभव छ । ढकाल एनआईसी एशिया बैंकमा हुँदा एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्ष समेत हुने अवसर प्राप्त गरेका थिए । उनी चार्टर्ड एकाउन्टेन्ट्स हुन् भने अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका हुन् । उनको स्थायी ठेगाना रुद्रपर ४ रुपन्देही हो ।

नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त, पुस १३ गते बोलायो एजीएम

काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त भएकी छिन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिमा आइएमई इन्स्योरेन्सबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक दिवाकर पौडेल बिदा भएसँगै कम्पनीले उक्त पदमा मास्केलाई नियुक्त गरेको हो । मास्के यसअघि एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक थिइन् । उनले हालै मात्रै उक्त पदबाट राजीनामा दिएकी हुन् । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएसँगै उक्त समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक बाहिरिएका हुन् । गत साउनमा मात्रै नेपाल इन्स्योरेन्समा रहेको आईएमई समूहको २१ लाख ५७ हजार ६१५ कित्ता अर्थात १५ प्रतिशत संस्थापक सेयर एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनेको थियो । साथै, मंगलबार बसेको सोही बैठकले आगामी पुस १३ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।