चिकित्सा शिक्षा आयोगका चार पदका लागि १२ जनाको नाम सर्टलिष्टमा

काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि मागेको दरखास्त आह्वानमा १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिष्ट)मा परेको छ । मंसिर ५ गते सातदिने सुचना निकाल्दै आयोगमा रिक्त रहेका चार वटा निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो । २० जनाले दिएको आवेदनबाट वागलुङको पैयुथन्थाप ४ का डाक्टर कृष्ण शर्मा, मोरङ ५ दुलारीका प्राध्यापक डाक्टर गुरुप्रसाद खनाल, रुपन्देही ५ करहियामा प्राध्यापक डाक्टर दिनेश कुमार लम्साल, दर्चुलाको व्यास ५ का भिमसिंह तिकंरी, ललितिपुर ५ ललितपुरका प्राध्यापक डाक्टर बन्दना गुरुङ शर्माको नाम सर्टलिष्टमा परेको छ । यसैगरी, चितवन गीतानगर ५ का विजयचन्द्र आचार्य, ललितपुर पुल्चोकका प्राध्यापक डाक्टर सरला श्रेष्ठ, गोरखाको गोरखकाली ३ का प्राध्यापक डाक्टर सुजनबाबु मरहट्ठा, भक्तपुर ५ लोकन्थलीका प्राध्यापक डाक्टर सुदिप आचार्य, काठमाडौं १७ का प्राध्यापक डाक्टर सुरज बज्रचार्य, कास्की, ३२ पोखराका प्राध्यापक डाक्टर स्वयं प्रकाश पण्डित, र पाल्पा ३ चापपानीका हरी प्रसाद बस्याल छनोटमा परेका छन् । सर्टलिष्ट परेकाहरुको भोलि सोमबार अन्तर्वार्ता लिइने आयोगले जनाएको छ । अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने आयोगले जनाएको छ ।

वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. श्रवण कुमार थापालाई

काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा श्रवण कुमार थापालाई दिइएको छ । उनलाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी थापालाई निमित्त निर्देशक नियुक्त गरेका हुन् । यसअघि उक्त पदमा डा सन्तोष पौडेल थिए । उनी पार्टीमा संलग्न भएको जानकारी पाएपछि निर्वाचन आयोगले तत्कालिन निर्देशक डा. पौडेललाई कारबाहीको लागि सिफारिस गरेको थियो ।

माण्डु हाईड्रोपावरको सञ्चालकमा श्रेष्ठ निर्विरोध निर्वाचित

काठमाडौं । माण्डु हाईड्रोपावरको सञ्चालकमा बरुण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनी कम्पनीको सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । मंसिर १५ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाको निर्णयबाट श्रेष्ठ उक्त पदमा निर्विरोध निर्वाचित भएका हुन् ।