सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्तिका लागि सिफारिस
काठमाडौं । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको हो । त्यस्तै, कानुन व्यवसायीका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । बैठकले उच्च अदालतमा मुख्य न्यायाधीशको नियुक्तिका लागिसमेत सिफारिस गरेको छ । उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा लोहितचन्द्र शाह, उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा रमेशप्रसाद भण्डारीलाई सिफारिस गरिएको छ । उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा शान्तिसिंह थापालाई सिफारिस गरिएको हो । मुख्य न्यायाधीशमा सिफारिस हुनुभएका न्यायाधीशहरू उच्च अदालतमै कार्यरत थिए ।
ज्योति विकास बैंकको कामु सीईओमा कपिल ढकाल
काठमाडौं । ज्योति विकास बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी कपिल ढकालले पाएका छन् । बैंक सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । साथै, सञ्चालक समितिले बैंकका सीईओ श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गरेको छ । अर्काे व्यवस्था नभएसम्मका लागि कामु सीईओ जिम्मेवारी ढकाललाई दिईएको कम्पनी सचिव बलदेव थापाले जानकारी दिए ।
कुमारी बैंकको सीईओ बने रामचन्द्र खनाल
काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रूपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । बैंकका सीईओ रमेशराज अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी दिईएको हो । सीईओ अर्यालले एक साताअघि दिएको राजीनामा शुक्रबार स्वीकृत गर्दै सीईओमा खनाललाई नियुक्त गरेको बैंकका सञ्चालक इमानसिंह लामाले बताए । उनी यसअघि पनि कुमारी बैंकको सीईओ थिए । तर, साविकको एनसीसी बैंकसँग मर्जर भएपछि अर्याल सीईओ र खनाल डीसीईओ बनेका थिए । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले एनआईसी एसिया र सिद्धार्थ बैंकमा पनि काम गरेका थिए । नवनियुक्त सीईओ खनालले यसअघि पनि कुमारी बैंकमा तीन महिना कामु सीईओ र ९ महिना सीईओ भएर काम गरिसकेका छन् । ‘मैले यसअघि पनि बैंकको नतृत्व गरिसकेको छु, त्यतिबेला तरलताको समस्या हुँदा पनि बैंकलाई सहज किसिमले अगाडि बढाइयो, अब खराब कर्जा घटाउँदै लग्ने तथ एसेट म्यानेजमेन्ट गर्दै जानु पर्ने चुनौती छ, त्यसका लागि म मेहनत गर्छु,’ उनले विकासन्युजसँग भने,’