फाजिल कर्मचारी समायोजन गर्न वन मन्त्रालय सहमत

काठमाडौं । करिब ४ वर्षदेखि सङ्घ सरकारको पुल दरबन्दीमा रहेर विभिन्न प्रदेशमा फाजिल कर्मचारीका रुपमा काम गर्दै आएका फरेष्टरको समायोजन गर्न वन तथा वातावरण मन्त्रालय सहमत भएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वन विभागअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा।प।अनङ्कित द्वितीय श्रेणीका खरिदार वा सो सरहका फरेष्टर पदका ३ सय ८४ कर्मचारी अहिले फाजिलमा काम गर्दै आएका छन् । अहिले कोशी प्रदेशमा ७४, मधेस प्रदेशमा ५३,, बागमती प्रदेशमा ६९, गण्डकी प्रदेशमा २५, लुम्बिनी ७३, कर्णाली प्रदेश ५४ र सुदूरपश्चिम प्रदेशमा ३२ गरी ३ सय ८४ फाजिल कर्मचारी कार्यरत छन् । उनीहरुको समायोजनका लागि प्रदेशसँग आवश्यक समन्वय गर्ने कार्यलाई मन्त्रालयले अगाडि बढाउने भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि फाजिलमा रहेका कर्मचारी व्यवस्थापनका लागि वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गरेको छ । सङ्घ सरकारको पुल दरबन्दीमा समायोजन गरी कामकाजका लागि विभिन्न प्रदेशमा खटाएकोमा उनीहरुको समायोजन व्यवस्थापन गर्न सामान्य प्रशासन मन्त्रालयले वन मन्त्रालयलाई सम्बन्धित प्रदेशसँग आवश्यक समन्वयका लागि अनुरोध गरेको छ । प्रदेशका तत्तत् कार्यालयमा दरबन्दी सिर्जना गरी कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम फरेष्टर पदका कर्मचारीलाई समायोजन÷मिलान सहमतिसम्बन्धी पत्रका आधारमा उनीहरुको प्रदेशमा समायोजन गर्न उपयुक्त हुने राय सामान्य प्रशासन मन्त्रालयले वन मन्त्रालयलाई दिएको छ । करिब ११ दिनदेखि फाजिल कर्मचारीले सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयमा फाजिल कर्मचारीलाई एक तह बढाएर प्रदेशमा समायोजन गर्न दबाब दिँदै आएका थिए । लामो समयको दबाबपछि बिहीबार वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोसँग भेटवार्ता भएको फरेष्टर सन्तोष अधिकारीले जानकारी दिए । उनका अनुसार फाजिल कर्मचारीको व्यवस्थापनका लागि वन मन्त्रालय मन्त्रिपरिषद्मा फाइल लिन तयार भएको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा महतो नियुक्त

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा डा. श्याम किशोर महतो नियुक्त भएका छन् । साउन २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले डा. महतोलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

डोमेनिक रिपब्लिकको अवैतनिक बाणिज्यदूतमा अग्रवाल नियुक्त

काठमाडौं । नेपालका लागि डोमेनिक रिपब्लिकको अवैतनिक बाणिज्यदूतमा गौरव अग्रवाल नियुक्त भएका छन् । अग्रवाल काठमाडौं मेरियट होटलको प्रबन्ध निर्देशक छन् । वाणिज्यदूतमा अग्रवालको नियुक्तिले दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक पक्षको प्रवद्र्धनमा सहयोग पुग्ने उनले बताएका छन् । अग्रवालले नेपाल र डोमेनिक रिपब्लिकबीचको मित्रता र सहयोगलाई बढावा दिनेतर्फ ध्यान दिने बताएका छन् । डोमेनिक रिपब्लिकले नेपालसँग पर्यटन, व्यापार र शिक्षाको क्षेत्रमा सहकार्य गर्न सक्ने अग्रवालले बताए । त्यसका लागि आफूले सक्दो प्रयास गर्ने उनले बताएका छन् ।