हिटलरको घर अब प्रहरी चौकी
काठमाडौं । नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस र मिश्रित प्रतिक्रिया चुलिएको छ । सरकार उक्त भवनलाई अति–दक्षिणपन्थी चरमपन्थीहरूको आकर्षण केन्द्र बन्न नदिने उद्देश्यले नयाँ प्रयोगमा ल्याउन अग्रसर भएको हो । सन् १८८९ अप्रिल २० मा हिटलर जन्मिएको उक्त घर सहरको केन्द्रमा साँघुरो पसलहरूले घेरिएको सडकमा अवस्थित छ । भवनअगाडि राखिएको स्मारक ढुङ्गामा ‘शान्ति, स्वतन्त्रता र लोकतन्त्रको रक्षा गरौँ । फासीवादी शासन फेरि कहिल्यै दोहोरिन नदिऔँ । लाखौँ मानिसको मृत्यु यसका लागि चेतावनी हो’ लेखिएको छ । यसै साता एएफपीले अवलोकन गर्दा जीर्णोद्धारको अन्तिम काम भइरहेको देखिएको थियो । गृह मन्त्रालयका अनुसार सन् २०२६ को दोस्रो त्रैमासिकभित्र प्रहरी त्यहाँ सर्ने तयारीमा छ । सरकारले सन् २०१६ मा निजी मालिकबाट भवनको नियन्त्रण लिन विशेष कानून पारित गर्दै यसलाई ‘बेअसर’ बनाउने नीति अघि सारेको थियो । अस्ट्रिया सन् १९३८ मा नाजी जर्मनीद्वारा कब्जा गरिएको थियो र नरसंहारमा आफ्नो भूमिकाबारे विगतमा पर्याप्त आत्मस्वीकृति नगरेको आरोप खेप्दै आएको छ । नाजी शासनकालमा करिब ६५ हजार अस्ट्रियाली यहुदी मारिएका थिए भने एक लाख ३० हजार निर्वासनमा पठाइएका थिए । स्थानीय बासिन्दा सिबिले ट्रेइब्लमेयरले यो निर्णयलाई ‘दुई धारको तरबार’ भएको प्रतिक्रिया दिए । उनका अनुसार यसले अति–दक्षिणपन्थी समूहलाई भेला हुन निरुत्साहित गर्न सक्छ, तर भवनलाई फरक ढङ्गले पनि उपयोग गर्न सकिन्थ्यो । नरसंहार पीडितहरूको प्रतिनिधित्व गर्ने मौथौसेन कमिटी अस्ट्रियाका सदस्य लेखक लुडविग लहरले प्रहरी चौकी बनाउने निर्णयलाई ‘समस्यापूर्ण’ बताए । उनका अनुसार प्रहरी राज्यको संरचनाअनुसार चल्ने भएकाले स्मृति र शान्ति संवादका लागि छुट्टै केन्द्र उपयुक्त हुने थियो । यसअघि भवनलाई शान्ति निर्माण र ऐतिहासिक सचेतनाका कार्यक्रम सञ्चालन गर्ने स्थल बनाउने प्रस्तावले व्यापक समर्थन पाएको बताइएको छ । स्थानीय पसल व्यवसायी जस्मिन स्ट्याडलरले हिटलरको जन्मलाई ‘ऐतिहासिक सन्दर्भमा राखेर प्रस्तुत गर्नु रोचक हुने’ धारणा व्यक्त गरे । पुनर्निर्माणमा करिब दुई करोड युरो खर्च भएको विषयमा पनि आलोचना भएको छ । तर सबै प्रतिक्रिया नकारात्मक छैनन् । इलेक्ट्रिकल इन्जिनियर वोल्फगाङ्ग लेथनरले भवनलाई प्रहरी चौकीमा रूपान्तरण गर्दा ‘केही शान्ति आउने’ विश्वास व्यक्त गरे । उनका अनुसार यसरी प्रयोग गर्दा भवन अति–दक्षिणपन्थीहरूको तीर्थस्थल बन्ने सम्भावना कम हुनेछ । ब्राउनाउका कन्जरभेटिभ मेयरको कार्यालयले यस विषयमा टिप्पणी दिन अस्वीकार गरेको छ । यसबीच, अस्ट्रियामा नाजी अतीत र नरसंहार इतिहासलाई कसरी स्मरण र सम्बोधन गर्ने भन्ने बहस फेरि सतहमा आएको छ । अति–दक्षिणपन्थी फ्रिडम पार्टी सन् २०२४ को चुनावमा सबैभन्दा ठूलो दल बने पनि सरकार गठन गर्न असफल भएको थियो । गत वर्ष ब्राउनाउ एम इनमा नाजी स्मृतिसँग जोडिएका दुई सडकको नाम परिवर्तन गरिएको थियो । इतिहासको पीडादायी स्मृतिलाई कसरी रूपान्तरण गर्ने भन्ने प्रश्नबीच हिटलर जन्मिएको घरको नयाँ पहिचानले अस्ट्रियामा स्मृति, जिम्मेवारी र भविष्यको दिशाबारे पुनः बहस जगाएको छ । रासस
एकै खेतमा दुई उत्पादन, यस्तो छ १५ सय वर्ष पुरानो ‘राइस-फिस फार्मिङ’
काठमाडौं । धानखेतीसँगै माछापालन सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर छिमेकी मुलुक चीनमा धानसँगै माछा पालन गर्ने ‘राइस–फिस फार्मिङ’ हजारौं वर्ष पुरानो अभ्यासको रूपमा स्थापित छ । कृषि इतिहाससम्बन्धी अध्ययनहरूका अनुसार यो प्रणाली पन्ध्र सय वर्ष पहिलादेखि प्रचलनमा रहेको देखिन्छ । विशेषगरी चिङथ्येन काउन्टी, झेजियाङ प्रान्तमा पन्ध्र सय वर्षदेखि धान र माछाको सहखेती हुँदै आएको अभिलेख पाइन्छ । धान–माछा सहखेती कुनै एक व्यक्तिको आविष्कार नभई किसानहरूको दीर्घ अनुभव र स्थानीय परिस्थितिक अवस्थाको बुझाइबाट विकास भएको धारणा मानिन्छ । धानखेतीमा सधैं पानी रहने भएकाले त्यही पानीमा माछा हुर्काउने उपाय खोज्दै जाँदा यो प्रणाली विकसित भएको कृषि विज्ञहरू बताउँछन् । समयसँगै यसले वैज्ञानिक आधार पनि पायो– जस्तो कि माछाले खेतभित्रका कीरा र झार नियन्त्रण गर्नु, माछाको मलले माटोको उर्वरता बढाउनु र धानले माछालाई छायाँ तथा सुरक्षित बासस्थान उपलब्ध गराउनु । स्थानीय कृषि विभागको रिपोर्ट अनुसार करिब ३५ हजार किसानहरू यस धान–माछा प्रणालीमा प्रत्यक्ष रूपमा संलग्न छन् । राष्ट्रीय अध्ययनहरूले देखाउँछन् कि चीनमा लगभग १ लाख ६७ हजार हेक्टर क्षेत्र धान–माछा समुदायमा रूपान्तरण भइसकेको छ, जुन देशभरिको कुल धान लगाइएका क्षेत्रको केही प्रतिशत मात्र हो । हाल चीन विश्वकै ठूलो धान उत्पादक देशमध्ये एक हो । विभिन्न कृषि प्रतिवेदनहरूका अनुसार चीनमा धानखेती करिब ३० मिलियन हेक्टर हाराहारीमा फैलिएको अनुमान छ । कृषि अनुसन्धानका निष्कर्षअनुसार एउटै खेतबाट धान र माछा दुवै उत्पादन हुँदा कुल आम्दानी परम्परागत धानखेतीभन्दा २०–३० प्रतिशतसम्म वृद्धि हुने देखिएको छ । उत्पादन विविधिकरणका कारण किसानले अतिरिक्त नगद आय प्राप्त गर्नुका साथै जोखिम पनि विभाजन गर्न सकेका छन् । परम्परागत महत्त्व र दिगोपनको मूल्याङ्कन गर्दै खाद्य तथा कृषि संगठन (एफएओ) ले चिङथ्येनको धान–माछा प्रणालीलाई विश्वव्यापी रूपमा महत्त्वपूर्ण कृषि सम्पदा प्रणालीहरू (जीआईएएचएस) सूचीमा सूचीकृत गरेको छ। विशेषज्ञहरूका अनुसार धान–माछा सहखेतीको प्रमुख फाइदा एउटै जमिनबाट बहुउत्पादन लिन सक्नु हो । धानसँगै प्रोटिनयुक्त माछा उत्पादन हुँदा किसानको आम्दानी र पोषण सुरक्षा दुवैमा सुधार देखिन्छ । माछाले कीरा खाएर प्राकृतिक जैविक नियन्त्रण गर्ने भएकाले रासायनिक विषादीको प्रयोग घट्ने र माछाको मलले जैविक उर्वरता बढाउने बताइन्छ । यसले उत्पादन लागत घटाउनुका साथै वातावरणीय सन्तुलनमा सकारात्मक प्रभाव पार्ने कृषि अनुसन्धानहरूले देखाएका छन्। वातावरणविद्हरूले यो प्रणालीलाई जलवायु–स्मार्ट कृषि अभ्यासका रूपमा पनि लिन्छन् । कम रासायनिक इनपुट, माटोको स्वास्थ्यमा सुधार र जैविक विविधताको संरक्षणले दीर्घकालीन दिगोपनमा योगदान पुर्याउने उनीहरूको भनाइ छ । धानखेतीलाई सानो पारिस्थितिकी तन्त्रमा रूपान्तरण गर्दै पानी, माटो र जीवबीच सन्तुलन कायम गर्ने यो मोडेल विश्वका विभिन्न देशहरूमा पुनः चर्चामा आउन थालेको छ । यद्यपि चुनौतीहरू पनि छन् । पानी व्यवस्थापनमा दक्षता, उपयुक्त माछा प्रजाति छनोट, प्रारम्भिक संरचनागत लगानी र बजार पहुँचजस्ता पक्षमा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । उचित तालिम, प्रविधि र नीतिगत समर्थन उपलब्ध भएमा यी चुनौतीहरू व्यवस्थापनयोग्य हुने उनीहरूको निष्कर्ष छ । कृषि क्षेत्रमा दिगो उत्पादन र पोषण सुरक्षाको खोजी भइरहेका बेला चीनको धान–माछा सहखेती प्रणाली परम्परा र आधुनिक विज्ञानको सफल संयोजनका रूपमा उदाहरणीय देखिएको छ ।
जर्मनीले कार्गो सहायक कम्पनीमा ६ हजार कर्मचारी कटौती गर्ने
काठमाडौं । जर्मनीको राज्य सञ्चालित रेल सेवा ‘डच बान’ले बिहीबार नाफा बढाउन र सरकारी कोषमाथिको निर्भरता कम गर्न आफ्नो कार्गो सहायक कम्पनीमा करिब ६ हजार रोजगारी कटौती गर्ने बताएको छ । ‘हालको पुनर्संरचना योजनाले ‘डच बान’ कार्गोमा करिब ६ हजार रोजगारी कटौतीको परिकल्पना गरिएको छ,’ डच बानले एक ब्लग पोस्टमा जानकारी गराएको छ । यसलाई सामाजिक रूपमा उत्तरदायी ढङ्गले कार्यान्वयन गर्ने योजना रहेको उसले बताएको छ। घाटामा रहेको डच बान कार्गोले राज्य सहायता नियम अन्तर्गत इयूको अनुसन्धानको सामना गरिरहेको छ, जसको आधिकारिक निर्णय अक्टोबरमा हुने छ । ‘रेल सेवा फर्मले ६ हजार रोजगारी कटौती गर्दा लगभग आधा कर्मचारी बराबर कटौति हुने र यसले ‘डच बान’लाई परनिर्भरता कम गर्न मद्दत हुनेछ,’ डच बानका उपप्रमुख कोशिमा इन्सेन्जेले भने, ‘लक्ष्य भनेको ‘डच बान’ कार्गोलाई युरोपेली विकास बजारसँग सङ्रेखित गर्नु, संरचनाहरू सुव्यवस्थित गर्नु र यसलाई दिगो रूपमा लाभदायक बनाउनु हो र यसले कम्पनीलाई ईयू प्रतिस्पर्धा प्रक्रियाको सर्तहरू पालना गर्न सक्षम बनाउनेछ ।’ ‘हामी आशा गर्छौं कि ठूलो मात्रामा रोजगारी कटौती सुरु हुनुअघि दक्षता बढाउनको लागि हरेक सम्भावित उपायहरू जाँच गरिनेछ,’ इन्सेन्जेले भने, ‘म रोजगारदातासँग प्रतिज्ञा गर्दछु कि धेरै कडा वार्ताहरू अगाडि छन्। हामी हरेक कामका लागि लड्नेछौँ ।’