मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ

काठमाडौं । फिफा विश्व कप सन् २०२६ सँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी सुरु गरीएको राष्ट्रव्यापी अपरेसनमा ३३१ जनालाई पक्राउ गरिएको मलेसियन अधिकारीहरूले घोषणा गरेका छन् । उनीहरुको बीचबाट लगभग ३५ हजार अमेरिकी डलर नगद जफत गरिएको तथा ६ लाख ४० हजार अमेरिकी डलर भन्दा बढीको सट्टेबाजी लेनदेनको पर्दाफास भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले  विज्ञप्ति मार्फत जनाएका छन् ।  मलेसियन कम्युनिकेसन एण्ड मल्टिमेडिया कमिसन (एमसीएमसी) को सहकार्यमा गत जुन –११ मा सुरु भइ जुलाई –१९ सम्म जारी रहने अपरेसनले देशव्यापी रुपमा २९३ वटा छापा मारी  वेबसाइट र सामाजिक सञ्जाल मार्फत जुवा सम्बन्धी विज्ञापन र प्रचार गतिविधिहरूको निगरानी गरिएको उनले बताएका छन् ।  उनका अनुसार अधिकारीहरूले १८५ वटा वेबसाइटहरू, विभिन्न अनलाइन प्लेटफर्महरू, र सामाजिक सञ्जालका  खाताहरू फुटबल सट्टेबाजी र जुवा प्रचारका लागि प्रयोग भइरहेको पहिचान गरेको उल्लेख गरेका  छन् ।

एआई विस्तारसँगै दक्षिण कोरियाले बढायो सेमीकन्डक्टरमा लगानी

काठमाडौं । कृत्रिम बौद्धिकता (एआइ) चलाउन आवश्यक साधनहरूको ठूलो मागले दक्षिण कोरियालाई चीनजस्ता प्रतिस्पर्धीहरूविरुद्ध आफ्नो ‘चिप’ उद्योगलाई बलियो बनाउने अवसर दिएको विश्लेषकहरूले बताएका छन् ।  सियोलले सोमबार नयाँ सेमीकन्डक्टर कारखाना र एआई डाटा सेन्टरहरू समेटिने गरी ठूलो लगानीको घोषणा गरेको छ र यसको नेतृत्व दक्षिण कोरियाली चिप उत्पादक कम्पनीहरूले गरेका छन् ।  व्यापक नाफा  एआई प्रणाली चलाउन मद्दत गर्ने उन्नत मेमोरी चिप उत्पादन गर्ने विश्व बजारमा अमेरिकी कम्पनी माइक्रोन र दक्षिण कोरियाका सामसुङ इलेक्ट्रोनिक्स तथा एसके हाइनिक्सगरी प्रमुख तीन कम्पनीको वर्चस्व छ ।  सरकार तथा प्रविधि कम्पनीहरूले एआई उपकरण प्रशिक्षण र सञ्चालनमा सयौँ अर्ब डलर खर्च गरिरहँदा यी कम्पनीहरूको नाफा र शेयर मूल्य अत्यधिक बढेको छ ।  'एआईले ठूलो माग मात्र होइन, अभाव पनि सिर्जना गरेको छ जसले मूल्य वृद्धि गराएको छ,' सेमीकन्डक्टर विशेषज्ञ जिम ह्यान्डीले एएफपीले प्राप्त ‘अब्जेक्टिभ एनलाइसिस’ मा एएफपीलाई बताए ।   मेमोरी र स्टोरेज चिपको बढ्दो मूल्य उपभोक्तासम्म पुगेको छ । एप्पलले म्याकबुक र आइप्याडको मूल्य यसै महिना बढाएको छ ।  यो विकासले ल्याएको आर्थिक वृद्धिले कामदारहरूको तलब मागलाई पनि बढावा दिएको छ । सामसुङले मे महिनामा ठूलो हडताल टार्न आफ्नो सबैभन्दा ठूलो ट्रेड युनियनसँग बोनस सम्झौता गरेको थियो ।   चिनियाँ प्रतिस्पर्धा    दक्षिण कोरियाले यस वर्ष एआईमा खर्च तीन गुणा बढाउने प्रतिबद्धता जनाएको छ । यसले अमेरिका र चीनसँगै विश्वका शीर्ष एआई शक्तिमध्ये एक बन्न लक्ष्य राखेको छ ।  विशेष गरी चीनले आफ्नो प्रविधि उद्योग विकासमा दौडिरहेको बेला सियोलले यो विकासको अवधिलाई ‘एक पटकको अवसर’ को रूपमा हेरेको प्रविधि कम्पनी ‘ओमडिया’का प्रमुख विश्लेषक लियन ज्ये सुले बताए ।   'यो दक्षिण कोरियाका लागि आफ्नो रणनीतिक लाभ प्रयोग गरेर लगानी गर्न उपयुक्त समय हो किनकि एआईको प्रगति सुस्त हुनसक्छ र माग घट्न सक्छ,' उनले एएफपीसँगको कुराकानीमा भने ।  फाइनान्सियल टाइम्सले शनिबार आफ्नामे समाचारमा लेखेको छ, 'एप्पलले चिनियाँ उत्पादक ‘सीएक्सएमटी’बाट मेमोरी चिप किन्न खोजिरहेको छ र यो कम्पनी अभावबाट फाइदा लिने स्थितिमा छ ।' एएफपीले यस सम्बन्धमा एप्पल र सीएक्सएमटीसँग प्रतिक्रिया मागेको छ । 'चिनियाँ कम्पनीहरूलाई सस्तो श्रम र ठूलो घरेलु मागको फाइदा छ, तर उनीहरूको प्रविधि वृद्धिमा सीमा हुनसक्ने देखिन्छ,' सुले भने । 'मानिसहरू चिनियाँ ‘सिलिकन’मा अत्यधिक निर्भर हुन कम इच्छुक छन् र यसै कारण सामसुङजस्ता कोरियाली कम्पनीहरूले उत्पादनमा ‘दोब्बर’ जोड दिन चाहेका छन् ।  नवप्रवर्तन अनिवार्य  'स्थापित एसियाली चिप उत्पादकहरूले एआइको तीब्रतर विकासको फाइदा लिन सक्छन् किनकि उनीहरू अझै नवप्रवर्तनशील छन्,' ह्यान्डीले भने ।   'यसले उनीहरूलाई नाफा दिन्छ, उनीहरू र उस्तै स्तरको खर्च र अनुसन्धान लगानी गर्न नसक्ने ती साना कम्पनीहरूबीचको खाडललाई यसले बढाउँछ,' उनले अगाडि भने । 'सोमबारको घोषणासँगै दक्षिण कोरियाली चिप उत्पादकहरूले आफूसँग भएको प्रशस्त नगदको उपयोग गरेर आफ्नो उत्पादन विविधीकरण गर्न चाहेका छन्,' सुले थपे ।   यसले उनीहरूलाई हालको आकर्षण क्षेत्र बनेको मेमोरी चिप निर्माणमा अत्यधिक निर्भर हुनबाट जोगाउँछ । अर्थशास्त्रीहरूले यसलाई ‘डच डिजिज’ भन्छन्, जसले एक वस्तुको अस्थायी मूल्य वृद्धिको नकारात्मक प्रभावलाई जनाउँछ ।  तीब्रतर आर्थिक वृद्धि कि अवनति  एआई क्षेत्रको चकित पार्ने विकास गतिले सामसुङको शेयर मूल्य गत वर्ष ४३० प्रतिशतभन्दा बढी बढेको छ भने एसके हाइनिक्सको ७७० प्रतिशत बढेको छ । यसले एआईको तीब्रतर विकास कति समय टिक्छ भन्ने चिन्ता बढाएको छ ।  सुजस्ता केही विश्लेषकहरू एआई उपकरणहरू व्यवसायिक सञ्चालनमा गहिरिएर एकीकरण हुँदै गएकाले माग बलियो रहनेमा आशावादी छन् ।  'मेमोरी चिपका लागि अन्तिम बजारमा प्रभाव नपरेसम्म मूल्य बढ्न रोकिने कुराको कम सम्भावना छ,' ह्यान्डीले भने, 'यदि मूल्य अत्यधिक बढ्यो भने बजारले अर्को प्रविधितर्फ लाग्छ वा पूरै हराउँछ,तर हामी अझै त्यहाँ पुगेका छैनौँ ।' रासस 

चीनले २० जापानी संस्थालाई कालोसूचीमा राख्यो, निर्यातमा कडाइ

काठमाडौं । चीनले सोमबार २० जापानी संस्थालाई ब्ल्याकलिस्टमा थप गरेको छ । यसमा प्रमुख कम्पनीहरू समावेश छन् । वाणिज्य मन्त्रालयले दोहोरो उपयोग सामग्रीको निर्यात रोक्न यो कदम चालेको हो । यो कदमले बेइजिङ र टोकियोबीच महिनौँदेखि चलेको विवादलाई थप उग्र बनाएको छ ।      'राष्ट्रिय सुरक्षा र हितको रक्षा गर्न तथा अप्रसारजस्ता अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नका लागि जापानको सैन्य क्षमता वृद्धिमा संलग्न २० जापानी संस्थालाई निर्यात नियन्त्रण सूचीमा समावेश गर्ने निर्णय गरिएको छ,' वाणिज्य मन्त्रालयल जारी विज्ञप्तिमा भनिएको छ ।     जापानी प्रधानमन्त्री सानाए टाकाइचीले ताइवानमाथि आक्रमण भएमा टोकियोले सैन्य प्रतिक्रिया दिन सक्ने सङ्केत दिएपछि दुई देशबीचको सम्बन्ध नोभेम्बरमा तनावपूर्ण बनेको थियो । चीनले ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर आफ्नो नियन्त्रणमा लिने बताउँदै आएको छ ।     चिनियाँ अधिकारीहरूले फेब्रुअरीमा टोकियोको सैन्य क्षमता वृद्धिमा संलग्न रहेको आरोप लगाउँदै दर्जनौं जापानी कम्पनीमाथि निर्यात प्रतिबन्ध लगाएर दबाब बढाएका थिए ।     सोमबार कालो सूचीमा थपिएका २० संस्थामा जापानको रक्षा क्षेत्रलाई विभिन्न सामान र इन्जिनियरिङ सहयोग पुर्याउने विशेषज्ञता प्राप्त सहायक कम्पनी तथा प्रविधि फर्महरू छन् ।     यीमध्ये राष्ट्रिय रक्षा अध्ययन संस्थान र ‘मित्सुबिशी इलेक्ट्रिक डिफेन्स एन्ड स्पेस टेक्नोलोजिज कर्पोरेशन’ दुई प्रमुख फर्म रहेका छन् ।     चीन विश्वको सबैभन्दा ठूला दुर्लभ खनिज उत्पादक र परिष्करणकर्तामध्ये एक हो । दुर्लभ खनिज विद्युतीय सवारी, स्मार्टफोन, मिसाइल निर्देशन प्रणाली र लेजर जस्ता उच्च प्रविधिका उत्पादनहरूका लागि अत्यावश्यक छ ।     'जापान गलत बाटोमा अझ अगाडि बढेको छ र ‘नयाँ प्रकारको सैन्यवाद’ लाई तीव्रता दिइरहेको छ,' वाणिज्य मन्त्रालयका प्रवक्ताको नाममा जारी एक अलग्गै विज्ञप्तिमा भनिएको छ ।      'चीनको यो कदम पूर्ण रूपमा न्यायोचित, उचित र कानुनी छ', उनले थपे, 'यो निर्णयले चीन र जापानबीचको सामान्य आर्थिक तथा व्यापारिक आदानप्रदानलाई प्रभावित गर्दैन ।' रासस