इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली

मध्यपूर्वको राजनीतिमा आज इरान र इजरायल एकअर्काको अस्तित्व मेटाउन लागिपरेका देखिन्छन्, इतिहासको पाना पल्टाउँदा अवस्था ठ्याक्कै उल्टो थियो । सन् १९४८ मा इजरायलको स्थापना हुँदा इरान उसलाई मान्यता दिने दोस्रो मुस्लिम राष्ट्र मात्र थिएन, बरु यी दुई देशबीचको सम्बन्ध निकै प्रगाढ र रणनीतिक थियो ।  इरानका तत्कालीन राजा मोहम्मद रेजा शाह पहलवीको शासनकालमा यी दुई राष्ट्रले आर्थिक र सैन्य क्षेत्रमा सहकार्यसमेत गरेका थिए । इरानले इजरायललाई आफ्नो तेल बेच्थ्यो भने बदलामा इजरायली प्रविधि र हतियारले इरानी सेनालाई सुसज्जित बनाइन्थ्यो । त्यतिबेला यी दुवै देशको साझा दुश्मन तत्कालीन सोभियत संघ र अरबका केही राष्ट्रहरू थिए, जसले गर्दा उनीहरूलाई एक-अर्काको साथ अपरिहार्य बनेको थियो । तर, सन् १९७९ को इस्लामिक क्रान्तिले यो मैत्रीपूर्ण सम्बन्धलाई एकाएक कट्टर दुश्मनीमा बदलिदियो । अयातोल्लाह खोमेनीको नेतृत्वमा भएको उक्त क्रान्तिले इरानमा राजतन्त्र अन्त्य गरी कट्टरपन्थी इस्लामिक शासन व्यवस्था लागू ग‍र्यो । नयाँ नेतृत्वले इजरायललाई ‘अवैध कब्जाकारी’ र ‘मुस्लिम जगतको दुश्मन’ घोषणा गर्दै उसको अस्तित्व नै स्वीकार्न अस्वीकार ग‍र्यो । इरानले इजरायललाई ‘सानो शैतान’ र उसको मुख्य सहयोगी अमेरिकालाई ‘ठूलो शैतान’ को संज्ञा दियो । इरानले प्यालेस्टाइनको मुद्दालाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनायो ताकि उसले सम्पूर्ण मुस्लिम विश्वको नेतृत्व गर्न सकोस् । यहीँबाट इरान र इजरायलबीचको शीतयुद्ध सुरु भएको हो जसले आजसम्म मध्यपूर्वलाई अशान्त बनाइरहेको छ । दुश्मनी बढ्दै गएपछि इरानले इजरायललाई प्रत्यक्ष रूपमा चुनौती दिनुको साटो ‘प्रोक्सी वार’ अर्थात् छद्म युद्धको सहारा लियो । इरानले इजरायलको सिमाना नजिक रहेका सशस्त्र समूहहरू जस्तै लेबनानको हिजबुल्लाह र गाजाको हमासलाई भारी आर्थिक र सैन्य सहयोग गर्न थाल्यो । यसको मुख्य उद्देश्य इजरायललाई उसको आफ्नै सिमानामा व्यस्त र त्रसित राख्नु थियो । अर्कोतर्फ इजरायलले पनि इरानको यो रणनीतिलाई निस्तेज पार्न सिरिया र लेबनानमा रहेका इरानी सैन्य अखडाहरूमाथि लगातार हवाई आक्रमण गर्दै आयो । यो लुकिछिपी चलिरहेको युद्धले गर्दा दुवै देशका सुरक्षा एजेन्सीहरू संसारभर एकअर्काका विरुद्ध गुप्तचर अप्रेसनमा सक्रिय रहे । यस दुश्मनीको सबैभन्दा खतरनाक मोड इरानको आणविक कार्यक्रम हो । इजरायलको मान्यता अनुसार यदि इरानले परमाणु बम बनायो भने त्यो इजरायलको अस्तित्वका लागि सिधै अन्त्यको कारण बन्नेछ । त्यसैले इजरायलले इरानको आणविक क्षमता रोक्न विभिन्न साइबर आक्रमणहरू र इरानी वैज्ञानिकहरूको रहस्यमय हत्या गराएको आरोप लाग्दै आएको छ । इरानले पनि यसको बदला स्वरूप इजरायली जहाजहरूमाथि समुद्रमा आक्रमण गर्ने र साइबर हमला गर्ने कार्यलाई तीव्रता दियो । पछिल्लो समय इरानले इजरायली भूमिमै सिधै मिसाइल र ड्रोन प्रहार गरेपछि यो युद्ध अब छायाँबाट बाहिर निस्किएर प्रत्यक्ष सैन्य मुठभेडको अवस्थामा पुगेको हो । वर्तमान समयमा यो संघर्ष केवल दुई देशको लडाइँ मात्र होइन, यसले विश्व राजनीतिलाई नै दुई कित्तामा विभाजन गरिदिएको छ । अमेरिका र पश्चिमा मुलुकहरू इजरायलको रक्षा कवच बनेर उभिएका छन् भने इरानले रुस र चीनसँगको सम्बन्ध बलियो बनाउँदै इजरायललाई क्षेत्रीय रूपमा एक्ल्याउने प्रयास गरिरहेको छ । इजरायलले अरब देशहरूसँग सम्बन्ध सुधार गर्दै ‘अब्राहम एकर्ड’ नीति सुरु गरेको छ ।  यो नीति २०२० मा मध्यपूर्वका केही देशहरू विशेषगरी इजरायल, संयुक्त अरब इमिरेट्स  र बहराइनबीच गरिएको ऐतिहासिक शान्ति सम्झौताको उपज हो । यस मान्यताले यी देशहरूबीच कूटनीतिक र आर्थिक सम्बन्ध स्थापना गर्ने व्यवस्था गरेको थियो । यसै आधारमा इजरायलले नयाँ समीकरण बनाउन खोज्दा इरान थप आक्रामक बनेको देखिन्छ । यसरी आधा शताब्दीदेखि चल्दै आएको यो दुश्मनीले आज मध्यपूर्वलाई एउटा यस्तो मोडमा उभ्याएको छ, जहाँ सानो एउटा गल्तीले पनि विश्वव्यापी महायुद्धको रूप लिन सक्छ । इरान र इजरायलबीचको यो दुश्मनी केवल सीमाको झगडा होइन, बरु यो त मध्यपूर्वमा ‘को शक्तिशाली’ भन्ने वर्चस्वको लडाइँ पनि हो । इरानले आफ्नो ‘एक्सिस अफ रेसिस्टेन्स’ मार्फत इराक, सिरिया, लेबनान र यमनसम्म एउटा सैन्य सञ्जाल तयार पारेको छ । यसको मुख्य उद्देश्य इजरायललाई चारैतिरबाट घेराबन्दीमा पार्नु र अमेरिकी प्रभावलाई यो क्षेत्रबाट हटाउनू हो । इरानले हुथी विद्रोहीहरूलाई प्रयोग गरेर लालसागरमा इजरायलसँग जोडिएका जहाजहरूमाथि आक्रमण गराउनु यसै रणनीतिको एउटा कडी हो, जसले विश्व व्यापारलाई नै प्रभावित बनाएको छ । अर्कोतर्फ इजरायलले इरानको यो घेराबन्दीलाई तोड्न ‘डक्ट्रिन अफ द हेड अफ द स्नेक’ (सर्पको टाउकोमा प्रहार गर्ने सिद्धान्त) अपनाएको देखिन्छ । इजरायल अब इरानका प्रोक्सी समूहहरूसँग मात्र लडेर पुग्दैन भन्ने निष्कर्षमा पुगेको छ र सिधै इरानी भूमि वा इरानी सैन्य कमान्डरहरूलाई निशाना बनाउन थालेको छ । सिरियाको दमास्कसस्थित इरानी दूतावास नजिकै भएको आक्रमण र त्यसको जवाफमा इरानले इजरायली भूमिमा सिधै प्रहार गरेका सयौं मिसाइलहरूले यो दुश्मनी अब ‘छद्म युद्ध’ बाट निस्किएर ‘आमने–सामनेको युद्ध’ मा परिणत भएको पुष्टि गर्दछ । यसले गर्दा दुवै देशका नागरिकहरू सधैं भय र मनोवैज्ञानिक युद्धको चपेटामा परेका छन् । यो द्वन्द्वको अर्को पाटो भनेको प्रविधिको प्रतिस्पर्धा पनि हो । इजरायलले आफ्नो ‘आइरन डोम’ र ‘एरो’ जस्ता अत्याधुनिक मिसाइल डिफेन्स सिस्टममार्फत इरानी आक्रमणलाई निस्तेज पार्ने प्रयास गरिरहेको छ भने इरानले आफ्ना ड्रोन र व्यालिस्टिक मिसाइलहरूको संख्या र क्षमतालाई लगातार बढाइरहेको छ । इरानको बढ्दो सैन्य शक्ति र रुससँगको उसको सामरिक साझेदारीले इजरायल र पश्चिमा मुलुकहरूलाई झनै सशंकित बनाएको छ । रुस–युक्रेन युद्धमा इरानी ड्रोनको प्रयोग भएपछि यो दुश्मनीमा युरोपेली देशहरूको चासो र चिन्ता पनि ह्वात्तै बढेको छ । अन्त्यमा इरान र इजरायलबीचको यो दुश्मनीले मध्यपूर्वको भूगोल मात्र होइन, विश्वको ऊर्जा सुरक्षा र आर्थिक स्थायित्वलाई पनि जोखिममा पारेको छ । यदि यी दुई देशबीच पूर्ण रूपमा युद्ध भयो भने विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिने निश्चित छ, जसको प्रत्यक्ष असर नेपालजस्ता विकासोन्मुख देशहरूको अर्थतन्त्रमा पर्नेछ ।  धार्मिक कट्टरता, परमाणु हतियारको होड र क्षेत्रीय शक्तिको घमण्डले गर्दा यी दुई पुराना मित्रहरू आज यस्तो मोडमा आइपुगेका छन्, जहाँबाट फर्कने बाटो निकै कठिन देखिन्छ । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित सामग्रीको सहयोगमा तयार पारिएको सामग्री) इरानमाथिको आक्रमणले तेलको मूल्य प्रतिव्यारेल १०० डलर नाघ्ने संकेत, एसियाली अर्थतन्त्रमाथि दबाब

इरानमाथिको आक्रमणले तेलको मूल्य प्रतिव्यारेल १०० डलर नाघ्ने संकेत, एसियाली अर्थतन्त्रमाथि दबाब

काठमाडौं । ओपेक सदस्य इरानमाथि संयुक्त रूपमा अमेरिका र इजरायलले गरेको आक्रमणले मध्यपूर्वमा ठूलो तेल आपूर्ति अवरोधको जोखिम बढाएको छ । सबैभन्दा खराब अवस्थामा यसले विश्वव्यापी आर्थिक मन्दीसमेत निम्त्याउन सक्छ । इरान ओपेकभित्र चौथो ठूलो तेल उत्पादक हो, जसले जनवरी महिनामा प्रतिदिन ३० लाख ब्यारेलभन्दा बढी तेल उत्पादन गरेको थियो । इस्लामिक गणतन्त्र इरानको तटरेखा विश्व तेल व्यापारका लागि सबैभन्दा महत्त्वपूर्ण जलमार्ग मानिने स्ट्रेट अफ होर्मुजसँग जोडिएको छ । तेल बजारले लामो समयदेखि मध्यपूर्वमा आपूर्ति अवरोधको जोखिमलाई खासै गम्भीर रूपमा लिएको थिएन । तर पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसका पूर्वऊर्जा सल्लाहकार बब म्याकनालीका अनुसार अमेरिकी आक्रमणविरुद्ध इरानले गर्न सक्ने प्रतिशोधलाई व्यापारीहरूले कम आँकेका छन् । रापिडान इनर्जीका संस्थापक तथा अध्यक्ष म्याकनालीले भने, ‘यो वास्तविक अवस्था हो ।’ उनका अनुसार आइतबार साँझ ६ बजे (ईटी) बजार खुल्नेबित्तिकै जोखिम समायोजनका कारण कच्चा तेलको मूल्य प्रतिव्यारेल ५ देखि ७ डलरसम्म बढ्न सक्छ । शुक्रबार ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ७२.४८ डलरमा बन्द भयो, जुन १.७३ डलर (२.४५ प्रतिशत) ले वृद्धि हो । त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडिएट ६७.०२ डलरमा बन्द भयो, १.८१ डलर (२.७८ प्रतिशत) को वृद्धिसहित । म्याकनालीका अनुसार इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दबाब दिन होर्मुज जलडमरूमध्यलाई व्यावसायिक जहाज आवागमनका लागि असुरक्षित बनाउन सक्छ, जसले तेलको मूल्य १०० डलरभन्दा माथि र्पुयाउन सक्छ । तेहरानसँग ठूलो मात्रामा बारुदी सुरुङ (माइन) र छोटो दूरीका क्षेप्यास्त्र रहेको तथ्यलाई बजारले गम्भीर रूपमा नलिएको उनको भनाइ छ । ऊर्जा परामर्श कम्पनी क्लेप्लरका तथ्यांकअनुसार २०२५ मा दैनिक १ करोड ४० लाख ब्यारेलभन्दा बढी तेल होर्मुज जलडमरूमध्यबाट बगेको थियो, जुन विश्वको कुल समुद्री कच्चा तेल निर्यातको करिब एक–तिहाइ हो । तीमध्ये करिब तीन–चौथाइ चीन, भारत, जापान र दक्षिण कोरियातर्फ गएका थिए । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आफ्ना कच्चा तेल आयातको आधा भाग यही मार्गबाट प्राप्त गर्छ । ‘होर्मुज लामो समयसम्म बन्द भएमा विश्वव्यापी मन्दी निश्चित हुन्छ,’ म्याकनालीले भने । क्लेप्लरका तेल विश्लेषक म्याट स्मिथका अनुसार आज साउदी अरेबिया, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत र कतारबाट २ करोड ब्यारेलभन्दा बढी कच्चा तेल निर्यातका लागि खाडी क्षेत्रमा लोड गरिएको छ । केही ट्यांकरहरू जलडमरूमध्य पार नगरी मार्ग परिवर्तन गरिरहेको देखिएको उनले बताए । म्याकनालीका अनुसार विश्वको अतिरिक्त तेल उत्पादन क्षमता प्रायः खाडी राष्ट्रहरूमै केन्द्रित छ र होर्मुज बन्द भएमा त्यो बजारसम्म पुग्न सक्नेछैन । विश्वको करिब २० प्रतिशत तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात पनि मुख्यतः कतारबाट यही मार्ग हुँदै जान्छ, जसको विकल्प सजिलै उपलब्ध छैन । ‘होर्मुज बन्द भयो भन्ने थाहा पाएपछि विशेषगरी एसियाली आयातकर्ता देशहरूले तेल र ग्यास सञ्चय सुरु गर्नेछन्,’ म्याकनालीले भने । विश्लेषकहरूका अनुसार बजार सन्तुलनमा ल्याउन तेलको मूल्य यति धेरै बढ्नुपर्छ कि त्यसको प्रभावले आर्थिक गतिविधि नै सुस्त बनाओस् । अर्थात् तेल महँगो हुँदा उद्योग, यातायात र अन्य क्षेत्रको खर्च बढ्छ । खर्च बढेपछि उत्पादन र उपभोग दुवै घट्न थाल्छ । यसरी समग्र आर्थिक गतिविधि कम हुँदा तेलको माग पनि घट्छ र बजार सन्तुलनतिर जान्छ । उनीहरू भन्छन्, ‘अहिले तेलको माग सजिलै घट्ने खालको छैन । मूल्य बढ्दा पनि मानिसहरू र उद्योगहरू तुरुन्तै तेलको प्रयोग कम गर्न सक्दैनन् । त्यसैले माग घटाउन मूल्य धेरै माथि जानुपर्ने अवस्था देखिएको हो ।’ केही सानो हिस्सा मात्र वैकल्पिक मार्गतर्फ मोड्न सकिने म्याकनालीले बताए। साउदी अरेबियासँग पूर्वबाट रातो सागरतर्फ जाने पाइपलाइन छ भने यूएईसँग होर्मुजलाई बाइपास गर्ने गरी ओमानको खाडीमा टुंगिने पाइपलाइन छ । राज्य सञ्चारमाध्यमका अनुसार इरानले कतार, कुवेत, यूएई र बहराइनस्थित अमेरिकी आधारशिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ । तेल तथा ग्यास परामर्शदाता टम क्लोजाका अनुसार यसले होर्मुजमार्गको आवागमनलाई थप प्रभावित गर्न सक्छ । उनले भने, ‘पर्सियन खाडीका छिमेकीमाथि इरानको आक्रमणले समीकरण बदल्छ । यसले बीमा कम्पनीहरूलाई होर्मुजमार्ग हुँदै जाने ट्यांकरको बीमा दर अत्यधिक बढाउन वा पूर्ण रूपमा बीमा गर्न अस्वीकार गर्न दबाब दिन सक्छ ।’ क्लियरभ्यु इनर्जी पार्टनर्सका केभिन बुकका अनुसार तेल मूल्य अत्यधिक बढेमा ट्रम्प प्रशासनले रणनीतिक पेट्रोलियम भण्डार प्रयोग गर्न सक्छ । अमेरिकी ऊर्जा विभागका तथ्यांकअनुसार हाल उक्त भण्डारमा करिब ४१ करोड ५० लाख ब्यारेल तेल मौज्दात छ । तर उनले चेतावनी दिए, आपूर्ति संकटमा समयावधि र परिमाण दुवै महत्वपूर्ण हुन्छन्। पूर्ण होर्मुज संकटले अमेरिका र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) सदस्य राष्ट्रहरूको रणनीतिक भण्डारले दिने राहतलाई पनि नाघ्न सक्छ ।’ (सीएनबीसीबाट अनुदूति तथा सम्पादित)

आफ्ना सर्वोच्च नेता खामेनेई मारिएको इरानद्वारा पुष्टि, ४० दिने राष्ट्रिय शोक घोषणा

काठमाडौं । इरानले अमेरिकी र इजरेली आक्रमणमा परी आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको औपचारिक पुष्टि गरेको छ । सरकारी टेलिभिजनमार्फत् देशभर ४० दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरिएको जनाइएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त हमलामा खामेनेईकी छोरी, ज्वाइँ, नातिनातिना तथा एक बुहारीसमेत मारिएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि भएको अमेरिकी–इजरेली आक्रमणमा खामेनेई मारिएको सामाजिक सञ्जालमार्फत् घोषणा गरेका थिए । उनले ‘इरानी जनता’, ‘अमेरिकी जनता’ र ‘विश्वभरिका धेरै मानिसका लागि न्याय भएको’ दाबी गर्दै बमबारी जारी रहने चेतावनीसमेत दिएका छन् । साथै उनले इरानी जनताका लागि ‘आफ्नो देश फिर्ता लिने यो नै एक अवसर भएको’ टिप्पणी गरेका छन् । संयुक्त राज्य अमेरिका र इजरेलको आक्रमणको जवाफमा इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा प्रतिआक्रमण गरेको जनाएको छ । दुबई, दोहा, बाहरेन र कुवेतस्थित अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाइएको विवरण सार्वजनिक भएका छन् । दोहास्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा अल उदेइद हवाई अखडालाई लक्षित गरी विस्फोट गराइएको जनाइएको छ । रोएटर्सका अनुसार इराकको एर्बिलस्थित अमेरिकी सैन्य अखडा नजिकै उडिरहेको एक ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालेको छ । इजरेलसँग सिमाना जोडिएको जोर्डनले आफ्ना सशस्त्र बलले दुईवटा बलिस्टिक क्षेप्यास्त्र अवरोध गरी खसालेको जनाएको छ । त्यसैगरी, संयुक्त अरब एमिरेट्सको दुबईस्थित फेअरमोन्ट द पाम होटल क्षेत्रमा विस्फोट भएको देखिएको छ । अधिकारीहरूका अनुसार पाम जुमेरा क्षेत्रमा रहेको एक भवनमा भएको उक्त घटनामा चार जना घाइते भएका छन् । रेडक्रसका अनुसार अमेरिका र इजरेलको हमलामा इरानमा दुई सयभन्दा बढी व्यक्ति मारिएका छन् । इरानी सञ्चारमाध्यमहरूले एक कन्या विद्यालयमाथि भएको आक्रमणमा कम्तीमा ८५ जना मारिएको दाबी गरेका छन् । खामेनेई सन् १९७९ को इस्लामिक क्रान्तिपछिका इरानका दोस्रा सर्वोच्च नेता हुन् । सन् १९८९ मा रुहोल्लाह खोमेइनीको निधनपछि उनी सर्वोच्च नेता बनेका थिए । चार दशकभन्दा बढी समय सत्तामा रहेका खामेनेईका कट्टरपन्थी धारणा र नीतिहरूले इस्लामिक गणतन्त्र इरानको राजनीतिक तथा सामाजिक दिशालाई प्रभाव पारेका थिए । उनको कार्यालयको व्यापक अधिकारका कारण उनी देशका सर्वाधिक शक्तिशाली व्यक्तिका रूपमा स्थापित थिए । बीबीसी