एप्पलका उत्पादनहरूको मूल्य बढ्नसक्छ : सीईओ टिम कुक
काठमाडौं । एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने भएको छ। कम्पनीका सीईओ टिम कुकले अब मूल्यलाई यथावत् राख्न गाह्रो भइरहेको बताउँदै मूल्इ बढ्नसक्ने बताएका हुन् । द वाल स्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा टिम कुकले मेमोरी चिप्सको लागत धेरै बढेका कारण कम्पनीका लागि आफ्ना उत्पादनहरूको मूल्य वृद्धि टार्न मुस्किल हुँदै गइरहेको जानकारी दिए । यद्यपि उनले मूल्य कहिले बढ्छ वा कुन–कुन उत्पादनहरूमा यसको असर पर्छ भन्ने कुरा भने खुलाएनन्। । आगामी सेप्टेम्बरमा आउने आइफोन १८ यो मूल्यवृद्धिबाट प्रभावित हुन्छ अथवा हुँदैन भन्ने कुरा पनि स्पष्ट भइसकेको छैन । मेमोरी चिप्स स्मार्ट डिभाइसहरूका लागि अत्यावश्यक हिस्सा हुन्, तर पछिल्ला महिनाहरूमा कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासका कारण यिनीहरूको मूल्य बढेको छ । डाटा सेन्टर र एआई सिस्टमहरूलाई धेरै ठूलो परिमाणमा मेमोरी आवश्यक पर्छ, जसले गर्दा बजारमा मेमोरी चिप्सको आपूर्ति कम हुन पुग्यो र मूल्य तीव्र रूपमा आकासिएको हो ।
अमेरिका-इरानबीच सम्झौता, सैन्य गतिविधि रोक्नेदेखि प्रतिबन्ध फुकुवासम्म
काठमाडौं । अमेरिका र इरानले युद्ध अन्त्य गर्ने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजिस्कियानले सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ । फ्रान्सको भर्साइल्स दरबारमा जी-७ सम्मेलनका क्रममा भएको भनिएको हस्ताक्षरपछि अमेरिकी अधिकारीहरूले सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक गरेका हुन् । यद्यपि दुवै देशले औपचारिक प्रतिलिपि सार्वजनिक गरेका छैनन् । सम्झौताअनुसार तत्काल सैन्य गतिविधि रोक्ने, जलमार्ग खुलाउने, प्रतिबन्ध हटाउने र ६० दिनभित्र दीर्घकालीन सम्झौताका लागि वार्ता अघि बढाउने खाका तय गरिएको छ । सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने सहमति गरिएको छ । अमेरिका, इरान र उनीहरूका सहयोगीहरूले तत्काल तथा स्थायी रूपमा सैन्य गतिविधि रोक्ने, एकअर्काविरुद्ध बल प्रयोग नगर्ने र एकअर्काको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डताको सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् । दुवै पक्षले आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति गरेका छन् भने अधिकतम ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्य राखिएको छ । सम्झौताअनुसार अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने प्रक्रिया सुरु गर्नेछ, जसलाई ३० दिनभित्र पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता छ । त्यस अवधिमा व्यापारिक आवागमन पूर्ववत् स्तरमा फर्काउने लक्ष्य राखिएको छ । इरानले फारसको खाडी र ओमान सागरबीचको हर्मुज जलमार्ग व्यापारिक जहाजका लागि सुरक्षित र खुला राख्ने सहमति जनाएको छ। यो व्यवस्था ६० दिनका लागि लागू हुनेछ । अमेरिकाले इरानको पुनर्निर्माण तथा आर्थिक विकासका लागि करिब ३०० अर्ब अमेरिकी डलरको योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ । प्रतिबन्ध हटाउने, इरानी तेल निर्यातमा छुट दिने तथा रोक्का सम्पत्ति प्रयोग गर्न दिने विषयमा पनि सहमति भएको छ । सम्झौतामा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको छ भने हालको अवस्थामा कुनै परिवर्तन नगर्ने सहमति गरिएको छ । अन्तरिम सम्झौताको कार्यान्वयनका आधारमा मात्रै दीर्घकालीन वार्ता अघि बढ्ने उल्लेख छ। कार्यान्वयन अनुगमन गर्न संयुक्त संयन्त्र गठन गरिनेछ । अन्तिम सम्झौतालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्बाट अनुमोदन गरिने व्यवस्था पनि समावेश गरिएको छ ।
डिपसिकको मूल्यांकन ५० अर्ब डलर नाघ्यो
काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष संकलन चरणमै ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यांकन प्राप्त गरेको छ र यसले विश्व एआई बजारमा कम्पनीको तीव्र उदयलाई थप बल दिएको छ । लगानीकर्ताहरूले हालै सम्पन्न फन्डिङ राउन्डमा कम्पनीलाई उक्त मूल्यांकन दिएका हुन् । यससँगै डिपसिक एआई क्षेत्रमा तीव्र गतिमा उदीयमान नयाँ शक्तिका रूपमा स्थापित भएको देखिएको छ । कम्पनीले यसअघि सन् २०२५ मा कम लागतमा तयार गरिएको च्याटबोटमार्फत विश्वलाई चकित पारेको थियो र त्यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धी क्षमता देखाएको थियो । यस वर्ष अप्रिलमा कम्पनीले आफ्नो नयाँ एआई मोडेल सार्वजनिक गरेको थियो । वाल स्ट्रिट जर्नल र ‘द इन्फर्मेसन’ का अनुसार कम्पनीले पछिल्लो चरणमा ५० अर्ब युआन ९करिब सात अर्ब ४० करोड डलर० भन्दा बढी पूँजी जुटाएको छ । सो फन्डिङ राउन्डले कम्पनीको मूल्यांकन ५० अर्ब डलरभन्दा माथि पुर्याएको बताइएको छ । डिपसिकले भने यस विषयमा टिप्पणी गर्न एएफपीको अनुरोधको जवाफ दिएको छैन । एआई उद्योगमा अत्याधुनिक मोडेलहरूको विकास र सञ्चालन अत्यन्त खर्चिलो मानिन्छ । यसका लागि विशाल कम्प्युटिङ पूर्वाधारमा अर्बौं डलर लगानी आवश्यक पर्छ । तथापि, विश्वका प्रमुख एआई कम्पनीहरू अझै नाफामा पुग्न नसकेका र भविष्यमा व्यावसायिक मोडेल स्पष्ट बनाउन सङ्घर्षरत रहेको विश्लेषण गरिएको छ । यसैबीच वासिङ्टनले डिपसिकको नयाँ एआई मोडेललाई चीनकै सबैभन्दा उन्नत प्रविधिमध्ये एक भए पनि अमेरिकी कम्पनीहरूको तुलनामा करिब आठ महिना पछाडि रहेको मूल्यांकन गरेको बताइएको छ । अमेरिकामा एआई क्षेत्रमा सक्रिय स्टार्टअप एन्थ्रोपिकको मूल्यांकन हालैको फन्डिङ राउन्डपछि करिब ६५ अर्ब डलर पुगेको छ भने च्याटजीपीटी निर्माता ओपनएआईको मूल्यांकन मार्चमा करिब आठ खर्ब ५२ अर्ब डलर रहेको उल्लेख छ । यी दुवै कम्पनीले हालै सार्वजनिक सूचीकृत हुने तयारी थालेका छन् र यसले निजी एआई लगानी बजारको विस्तार सीमामा पुग्न लागेको संकेत गरेको विश्लेषकहरूले बताएका छन् । रिपोर्टअनुसार डिपसिकका संस्थापक लियाङ वेनफेङले व्यक्तिगत रूपमा करिब २० अर्ब युआन लगानी गरेका छन् । उनले सीमित साझेदारी संरचना प्रयोग गरी कम्पनीमाथिको नियन्त्रण कायम राख्ने अनौठो लगानी संरचना तयार पारेको पनि जनाइएको छ । यसैगरी चीनको सरकारी समर्थन प्राप्त नेसनल आर्टिफिसियल इन्टेलिजेन्स इन्डस्ट्री इन्भेस्टमेन्ट फन्डले करिब एक अर्ब युआन लगानी गरेको छ । टेनसेन्ट, जेडी डटकम र नेटइज जस्ता ठूला चिनियाँ प्रविधि तथा उद्योग कम्पनीहरू पनि लगानीकर्ताका रूपमा सहभागी रहेको बताइएको छ । ती कम्पनीहरूले भने यसबारे सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेका छन् वा प्रतिक्रिया दिएका छैनन् । रासस