विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

काठमाडौं । तीन राष्ट्रमा आयोजना भइरहेको विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकामा आजदेखि सुरुआत भएको समूह डी को खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई पराजित गर्दै प्रतियोतिामा सुखद सुरुआत गरेको छ ।       अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । अमेरिकाको जितमा डेमियन बोबाडिल्लाले खेलको सात मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकालाई पहिलो अग्रता दिलाए ।       स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका खेलाडी बोबाडिल्लाले प्रहार गरेको बल आफ्नो गोलपोष्टमा प्रवेश गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको हो ।      त्यसपछि खेलको ३१औँ मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई दोस्रो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा फोलिरिनले नै टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७३औँ मिनेटमा पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए ।       त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।  यसजितसँगै समूह डी मा रहेको अमेरिकाले शीर्ष तीन अक बटुलेको छ । समूह डी मा अमेरिकासँगै पाराग्वे, अस्ट्रेलिया र टर्की छन् ।    

सामाजिक सञ्जालको प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य उच्च जेखिममा

काठमाडौं । अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुइ घण्टा भन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरकिशोरीहरूले डिप्रेसन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ । अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) ले शुक्रबार जारी गरेको विज्ञप्तिमा १२–१८ वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्ष पछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गरिएको छ ।  अष्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यस अध्ययनले मेलबर्नमा ९ देखि १९ वर्ष उमेर समूहका करिब एक हजार २०० सहभागीहरुको बीचमा अध्ययन गरेको जनाइएको छ । अध्ययनको लागि सन् २०२५ मा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क सङ्कलन गरेको जनाइएको छ । अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्याहरू, अनलाइन दुव्र्यवहार लगायत सामाजिक सञ्जाल प्रयोग र हानिकारक अनलाइन सामग्रीको जोखिमले बढेको चेतावनी दिएको छ । अध्ययनका अनुसार यसको प्रभाव १२ देखि १३ वर्ष उमेर समुहका केटीहरूमा सबै भन्दा बढी देखिएको थियो, भने दुवै लिङ्गहरूमा उच्च जोखिम देखिएको थियो ।  अध्ययनको निष्कर्षले प्रारम्भिक किशोरावस्थालाई बालबालिकाको जिवनको महत्वपुर्ण समयको रूपमा लिइ अध्ययन गरेको प्रमुख लेखक नन्दी विजयकुमार, एमसीआरआई र डीकिन विश्वविद्यालयका वरिष्ठ अनुसन्धान सहयोगीले बताएका छन् । सह–लेखक, एमसीआरआई प्रोफेसर सुसान सायरले अध्ययनबाट आएका निष्कर्षहरूले उमेर–उपयुक्त सीमाहरू, राम्रो डिजिटल साक्षरता कार्यक्रमहरू, र मानसिक स्वास्थ्य जोखिमहरू कम गरी अभिभावकको मार्गदर्शनलाई बलियो बनाउने बताएका छन् ।  अघिल्लो एमसिआरआइ अनुसन्धानले लगभग तीन चौथाई अस्ट्रेलियाली किशोरकिशोरीहरूले मानसिक रोग तथा चिन्ताको अनुभव गरेको जनाएको थियो । रासस

विश्वकप फुटबल : चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ ।       मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा आज भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २(१ गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । दक्षिण कोरियाका लागि हवाङ इन बोम र ओ ह्युन ग्युले समान एकरएक गोल गरे । चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेज्चीले एक गोल फर्काए ।      खेलमा पहिलो अग्रता भने चेक रिपब्लिकले लिएको थियो । खेलको ५९ औँ मिनेटमा लाडिस्लाभले गोल गर्दै आफनो टोलीलाई पहिलो अग्रता दिलाए । चेक रिपब्लिकको १-० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलकोे ६७औँ मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो । दक्षिण कोरियाका हवाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई एकरएक गोलका बराबरीमा ल्याए ।       त्यसैगरी, दक्षिण कोरियाका अर्का खेलाडी ओ ह्युनले खेलको ८०औं मिनेटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलमा गोल हुन सकेनन र अन्ततः दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गर्‍यो । जितसँगै दक्षिण कोरियाले शीर्ष तीन अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ ।  समूह ‘ए’अन्तर्गत गएराति भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै जित निकालेको थियो । यससँगै समूह ‘ए’मा समान तीन अङ्क बटुलेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।