विश्वकपअघि भिसा विवाद
काठमाडौं । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त राज्य अमेरिकाले केही विदेशी अधिकारीलाई भिसा नदिएको विषय विवादको केन्द्रमा पुगेको छ । ह्वाइट हाउसको विश्वकप टास्क फोर्सले भने सुरक्षा कारण देखाउँदै सोमाली रेफ्री र इरानी टोलीका केही सहयोगी कर्मचारीलाई प्रवेश अनुमति नदिने निर्णय उचित भएको स्पष्ट पारेको छ । विश्वकपसम्बन्धी ह्वाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु गियुलियानीले मङ्गलबार वासिङ्टनमा आयोजित एटलान्टिक काउन्सिलको कार्यक्रममा अहिलेसम्म ३५ वटा राष्ट्रिय टोली सफलतापूर्वक अमेरिका प्रवेश गरिसकेको जानकारी दिए । उनले कुनै पनि खेलाडी वा प्रशिक्षकलाई प्रवेशबाट रोकिएको नभएको उल्लेख गर्दै केही अधिकारीलाई मात्र विशेष सुरक्षा कारणका आधारमा भिसा अस्वीकार गरिएको बताए । गियुलियानीका अनुसार विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसरलाई दुरुपयोग गरेर अमेरिका प्रवेश गर्ने सम्भावित जोखिम रोक्न प्रशासनले कडा सतर्कता अपनाएको छ । उनले सुरक्षा र खेलकुदबीच आवश्यक सन्तुलन कायम गरिएको बताए । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले एएफपीसँगको कुराकानीमा सोमाली रेफ्री ओमार आर्टानलाई भिसा नदिइएको पुष्टि गर्दै उनीमाथि आतङ्कवादी सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क रहेको आशङ्का रहेको दाबी गरे । यही कारणले उनी अमेरिकी अध्यागमन नियमअनुसार प्रवेशका लागि अयोग्य ठहरिनुभएको अधिकारीको भनाइ थियो । सन् २०२५ मा अफ्रिकी फुटबल महासङ्घले वर्षको उत्कृष्ट पुरुष रेफ्री घोषणा गरेका आर्टान विश्वकपमा रेफ्री गर्ने पहिलो सोमाली बन्ने अपेक्षा गरिएको थियो । तर उनलाई अमेरिका पुगेपछि मियामी विमानस्थलबाटै फर्काइएको थियो । सोमालिया हाल राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्ध सूचीमा समावेश देशमध्ये एक हो । ट्रम्प प्रशासनले यो नीतिलाई व्यापक आप्रवासन नियन्त्रण अभियानको हिस्सा बताउँदै आएको छ । यसैबीच, संयुक्त राज्य अमेरिकासँग जारी तनाव र सैन्य द्वन्द्वका कारण इरानले आफ्नो विश्वकप तयारीको आधार शिविर अमेरिका नभई मेक्सिकोमा सार्नुपरेको छ । इरानी फुटबल महासङ्घले समर्थकहरूका लागि छुट्याइएको टिकट कोटा रद्द गरिएको तथा टोलीका केही सहयोगी कर्मचारीले भिसा नपाएको जनाएको छ । गियुलियानीले भने सबै इरानी प्रशिक्षक र कोचिङ स्टाफलाई प्रवेश अनुमति दिइएको बताए । यद्यपि केही इरानी अधिकारीलाई सुरक्षा मूल्याङ्कनका आधारमा अनुमति नदिइएको उनले बताए । उनले ती व्यक्तिबारे विस्तृत जानकारी दिन अस्वीकार गर्दै आफूलाई प्रशिक्षक बताउने केही व्यक्तिको वास्तविक भूमिका फरक हुन सक्ने आशङ्का रहेको सङ्केत गरे । उनका अनुसार राष्ट्रपति ट्रम्पले प्रतियोगितामा सहभागी सबै टोलीका लागि समान अवसर सुनिश्चित गर्न चाहन्छन् । साथै, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) सँग प्रत्यक्ष सम्बन्ध रहेका व्यक्तिले विश्वकपको अवसर प्रयोग गरेर अमेरिका प्रवेश गर्न नसकून् भन्ने विषयमा पनि प्रशासन सचेत रहेको उनको भनाइ थियो । विश्वकप सुरक्षाबारे बोल्दै गियुलियानीले हालसम्म प्रतियोगितालाई लक्षित कुनै विश्वसनीय सुरक्षा खतरा नदेखिएको बताए । तथापि अमेरिकी गुप्तचर तथा सुरक्षा निकायको सक्रियता उल्लेखनीय रूपमा बढाइएको र प्रतियोगिताको अन्तिम खेल जुलाई १९ सम्म सुरक्षा अवस्थामाथि निरन्तर निगरानी जारी रहने उनले जानकारी दिए । रासस
अमेरिकी आक्रमणपछि इरानको प्रतिकार, अस्थायी शान्ति सम्झौताको सम्भावना झन् टाढा
काठमाडौं । अमेरिकाले मंगलबार इरानका सैन्य सम्पत्तिमाथि आक्रमण गरेपछि इरानले खाडी क्षेत्रका केही देशहरूलाई निशाना बनाएको छ । जोर्डनको सेनाले स्थानीय समयअनुसार बुधबार पाँचवटा इरानी क्षेप्यास्त्र अवरोध गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । त्यसैगरी, बहराइनले साइरन बजाएर सतर्कता अपनाएको छ भने कुवेतले ‘शत्रुतापूर्ण हवाई लक्ष्य’ अवरोध गर्न आफ्नो वायु प्रतिरक्षा प्रणाली सक्रिय गरेको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले मंगलबार साँझ अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको घटनाको प्रतिक्रियास्वरूप इरानमाथि आक्रमण गरिएको जनाएको छ। सेन्टकमका अनुसार ती ‘आत्मरक्षात्मक आक्रमण’ इरानको ‘अनुचित आक्रामकता’ विरुद्धको प्रतिक्रिया हुन् । एक्स (पूर्व ट्विटर) मा गरिएको पोस्टमा सेन्टकमले आत्मरक्षाका लागि गरिएको कदम भनेको छ । मंगलबार राति सेन्टकमले आफ्नो सैन्य कारबाही पूरा भएको जनाउँदै हर्मुज जलडमरूमध्य नजिक रहेका इरानी वायु प्रतिरक्षा प्रणाली, स्थल नियन्त्रण केन्द्र तथा निगरानी रडार केन्द्रहरूलाई निशाना बनाइएको जानकारी दिएको थियो । यो पछिल्लो सैन्य झडपले अमेरिका र इरानबीच रहेको युद्धविरामलाई कमजोर बनाएको छ । बारम्बार हुने भिडन्तका बावजुद औपचारिक रूपमा युद्धविराम कायम रहेको भनिए पनि यस घटनाले अस्थायी शान्ति सम्झौताको सम्भावना अझ टाढा धकेल्न सक्ने देखिएको छ । यी आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गरिएको थियो । ट्रम्पले मंगलबार इरानले हर्मुज जलडमरूमध्यमा गस्ती गरिरहेको अमेरिकी हेलिकोप्टर खसालेको दाबी गर्दै अमेरिकाले त्यसको प्रतिकार गर्ने बताएका थिए । ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमा हेलिकोप्टरमा रहेका दुवै पाइलट सुरक्षित र सकुशल रहेको उल्लेख गर्दै भने, ‘तथापि अमेरिकाले यो आक्रमणको जवाफ दिनैपर्छ ।’ त्यसको केही समयपछि इरानी सरकारी सञ्चारमाध्यमहरूले जलडमरूमध्य वरपरका विभिन्न स्थानहरूमा विस्फोटको आवाज सुनिएको जानकारी दिएका थिए । इरानी समाचार संस्था तस्निमले इरानले अमेरिकी सैन्य कारबाहीको जवाफ दिने जनाएको छ । यद्यपि इरानले हेलिकप्टर खसालेको जिम्मेवारी प्रत्यक्ष रूपमा स्वीकार गरेको छैन । इरानको सरकारी प्रसारक आईआरआईबीले पछिल्लो २४ घण्टामा जलडमरूमध्य क्षेत्रमा कुनै आक्रामक सैन्य गतिविधि नभएको दाबी गरेको छ । अमेरिकी आक्रमण हुनुअघि मंगलबार दिउँसो इरानी विदेशमन्त्री अब्बास अराघ्चीले एक्समा लेख्दै विदेशी सेनाहरू आफ्नै मानवीय त्रुटि, दुर्घटना वा दोहोरो गोलीबारीको चपेटामा पर्ने जोखिममा रहेको बताएका थिए । उनले भनेका थिए, ‘जोखिम कम गर्ने सबैभन्दा राम्रो उपाय उनीहरू यहाँबाट बाहिरिनु हो ।’ ‘हामी कूटनीतिक भाषालाई प्राथमिकता दिन्छौं, तर अन्य भाषा पनि बोल्न जान्दछौं,’ उनले थपे । यस घटनाभन्दा एक दिनअघि मात्रै ट्रम्पले तेहरानसँग यसै साताभित्र सम्झौता हुन सक्ने दाबी गरेका थिए । उनका अनुसार अमेरिका र इरान ‘धेरै राम्रो’ सम्झौताको अन्तिम चरणमा पुगेका थिए, जसले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने र सम्झौतामा हस्ताक्षर भएलगत्तै हर्मुज जलडमरूमध्य पूर्ण रूपमा खोल्ने थियो । न्युयोर्कमा एनबीए फाइनलको खेल हेरेर फर्किएपछि सोमबार राति ट्रम्पले यस्तो सम्झौता ‘दुई वा तीन दिनमै’ हुन सक्ने बताएका थिए । तर युद्ध सुरु भएयता उनले पटकपटक सम्झौता नजिक पुगेको दाबी गरे पनि अहिलेसम्म कुनै सम्झौता भएको छैन । सेन्टकमका अनुसार अमेरिकी एएच–६४ अपाचे हेलिकप्टर सोमबार साँझ ओमानको तट नजिक खसेको थियो । मंगलबार बिहान जारी प्रारम्भिक विज्ञप्तिमा सेन्टकमले घटनाको अनुसन्धान भइरहेको बताएको थियो र त्यसबेला इरानलाई प्रत्यक्ष दोष दिएको थिएन । हेलिकोप्टर दुर्घटनामा परेका दुई सैनिकलाई अमेरिकी नौसैनिक बलको केन्द्रीय कमान्ड र ८२औं एयरबोर्न डिभिजनले करिब दुई घण्टाभित्र उद्धार गरेको सेन्टकमले जनाएको छ । इरानको सरकारी टेलिभिजन प्रेस टिभीले ट्रम्पको पोस्टमाथि व्यंग्य गर्दै प्रतिक्रिया दिएको थियो । ट्रम्पले इरानी सेनालाई अमेरिकी कारबाहीबाट ‘पूर्ण रूपमा ध्वस्त’ पारिएको दाबी गर्दै आएका सन्दर्भमा प्रेस टिभीले लेखेको थियो, ुइरानी सेना ‘पूर्ण रूपमा ध्वस्त’ भएको दाबीको अवस्था यति नै हो त । इरानी संसद्का सभामुख मोहमद बाघिर गालिबाफले पनि एक्समार्फत विदेशमन्त्री अराघ्चीको जस्तै चेतावनीपूर्ण सन्देश दिएका छन् । उनले लेखेका छन्, ‘हामी कूटनीतिक भाषालाई प्राथमिकता दिन्छौं, तर अन्य भाषा अझ राम्रोसँग बोल्न जान्दछौं । यदि तपाईंले आफ्ना प्रतिबद्धता तोड्नुभयो भने हामी हाम्रो सबैभन्दा परिचित भाषामा फर्किनेछौं । तपाईंले जस्तो व्यवहार गर्नुहुन्छ, त्यस्तै परिणाम भोग्नुपर्छ ।’ यसैबीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथ बुधबार क्युबास्थित ग्वान्टानामो बे र फ्लोरिडाको ट्याम्पा भ्रमणमा जाने कार्यक्रम रहेको अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले जनाएको छ । उनले त्यहाँ तैनाथ अमेरिकी सैनिक तथा सेन्टकमका अधिकारीहरूसँग भेटघाट गर्नेछन् । सान्दर्भिक सामग्रीहरू : इरान युद्धको १०० दिन : विश्वव्यापी बजार र अर्थतन्त्र कसरी प्रभावित भए ? इजरायल र लेबनानबीच युद्धविरामको सहमति, के इरानसँग पनि सम्झौता होला ? मध्यपूर्वको लामो युद्धले विश्व अर्थतन्त्र संकटमा, मन्दी र उच्च मुद्रास्फीतिको चेतावनी इरान र अमेरिका युद्धविरामको सहमति नजिक तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति कमजोर हुँदै भारतीय रुपैयाँ नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति
पाकिस्तानी आक्रमणमा ११ बालबालिकासहित १३ जनाको मृत्युु : अफगानिस्तान
काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले ‘अफगान हवाई क्षेत्रको उल्लंघन’ गरेको र मंगलबार–बुधबारको मध्यरातमा ड्युर्यान्ड रेखा (डूरन्ड लाइन) नजिकैका धेरै प्रान्तहरूमा हवाई आक्रमण गरेको बताएका छन् । जबिहुल्लाह मुजाहिदले केही तस्बिरहरू पोस्ट गर्दै एक्स (पूर्वट्विटर) मा लेखेका छन्, ‘गएराति पाकिस्तानी सेनाले फेरि एक पटक अफगान हवाई क्षेत्रको उल्लंघन गर्यो र कुनार, खोस्त र पक्तिका प्रान्तहरूमा नागरिकका घरहरूमा बमबारी ग‍र्यो ।’ उनले यी आक्रमणहरूमा ११ बालबालिका, एक महिला र एक वृद्धको मृत्यु भएको दावी गरे । उनका अनुसार १४ महिला र बालबालिका घाइते भएका छन् । तालिबान सरकारका प्रवक्ताले यी आक्रमणहरूलाई मानवीय अपराध र आक्रामकताको कार्य भन्दै यसको कडा निन्दा गरेका छन् । यी आक्रमणहरूलाई लिएर अहिलेसम्म पाकिस्तानको तर्फबाट कुनै बयान आएको छैन। अफगानिस्तानमा तालिबान सरकार र पाकिस्तानबीच पछिल्ला केही महिनाहरूमा तनाव बढेको छ । बीबीसी पश्तोका अनुसार पाकिस्तानले यसै वर्षको मार्चमा एउटा सेन्टरमा आक्रमण गरेको थियो । अफगानिस्तानमा संयुक्त राष्ट्र संघीय सहायता मिसन (यूएनएमए) ले उक्त आक्रमणमा कम्तीमा २६९ जनाको मृत्यु भएको पुष्टि गरेको थियो र मर्नेहरूको वास्तविक संख्या योभन्दा धेरै बढी हुन सक्ने बताएको थियो । पाकिस्तानले आफ्नो छिमेकी देश अफगानिस्तानको तालिबान सरकारमाथि पाकिस्तान भित्र आतंकवादी गतिविधिहरूलाई बढावा दिइरहेको आरोप लगाउँदै आएको छ । अर्कोतर्फ तालिबान सरकारले बारम्बार यी आरोपहरूको खण्डन गरेको छ र आफ्नो भूमि कसैलाई पनि अन्य देशलाई नोक्सान पुर्याउन प्रयोग गर्न नदिने कुरामा जोड दिँदै आएको छ ।