बिटकोइनको मूल्यमा १२० प्रतिशतको वृद्धि , ३.५ ट्रिलियन डलरको बजार

काठमाडौं । बिटकोइनको मूल्य सन् २०२४ मा दोब्बरभन्दा धेरै बढेको छ । अमेरिकी बजार नियामकले यसको ‘स्पट मूल्य’ मा आधारित एक्सचेन्ज-ट्रेडेड फन्ड (ईटीएफ) को स्वीकृति र अमेरिकामा राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जित प्रमुख कारण बिटकोइनको मूल्य बढेको हो । विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटकोइन डिसेम्बरको सुरुमा १ लाख डलरमा पुगेको थियो, जसले यस क्षेत्रमा नयाँ ऊर्जा प्रदान गरेको छ । यो वर्ष बिटकोइनमा १२० प्रतिशत वृद्धि र इथरको लगभग ५० प्रतिशत वृद्धिले क्रिप्टो उद्योगको बजार मूल्यलाई करिब ३.५ ट्रिलियन डलरमा पुर्‍याएको कोइनगेक्कोले जनाएको छ । बिटकोइनको मार्केट क्याप २.१ ट्रिलियन पुगेको छ र यो गुगललाई हराउनबाट १० प्रतिशतमात्र टाढा छ । गुगलको मूल कम्पनी अल्फाबेटको बजार पुँजी २.३३२ ट्रिलियन छ र यो विश्वको छैटौं सबैभन्दा मूल्यवान कम्पनी हो । विश्लेषकहरू बिटकोइनले २०२५ मा पनि झन् धेरै प्रगति गर्ने जनाएका छन् । ‘हामी विश्वस्त छौं कि १ लाख डलर अन्तिम कोशेढुंगा होइन । हामी बिटकोइनले २०२५ को अन्तमा २ लाख डलरको उच्च वृद्धिमा पुग्ने आशा गर्छौं,’ ब्रोकरेज बर्नस्टाइनका विश्लेषकहरूले यस महिनाको सुरुमा ग्राहक नोटमा लेखेका थिए । माइक्रोस्ट्रटेजी एक सफ्टवेयर फर्म जुन बिटकोइनको संसारको सबैभन्दा ठूलो कर्पोरेट होल्डर बनेको छ, यसको सेयर २०२४ मा लगभग पाँच गुणा बढेको छ । ‘हामी आशा गर्छौं कि बिटकोइनले नयाँ युगको प्रमुख ‘मूल्यको भण्डार’ सम्पत्तिको रूपमा अन्ततः अर्को दशकमा सुनलाई प्रतिस्थापन गर्नेछ र संस्थागत बहु-सम्पत्ति विनियोजनको स्थायी अंश र कर्पोरेट ट्रेजरी व्यवस्थापनको लागि मानक बन्नेछ,’ बर्नस्टेन नोटले भनेको छ । जनवरीमा यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज आयोगले बिटकोइनको स्पट मूल्य ट्र्याक गर्न पहिलो ईटीएफलाई अनुमोदन गरेसँगै आशा बढेको थियो । डिसेम्बर ५ मा पहिलो पटक बिटकोइनको मूल्य १ लाख पुगेको थियो । यसको कारण अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । उनले चुनावी क्याम्पको क्रममा देशमा तेलको भण्डारजस्तै बिटक्वाइनको भण्डार सिर्जना गर्ने योजना रहेको बताएका थिए। अमेरिकामा राष्ट्रपतीय चुनावमा ट्रम्पको जितपछि बिटकोइनले फड्को मार्दै आएको हो । उनलाई क्रिप्टोकरेन्सीको बलियो समर्थक मानिन्छ । चुनावी प्रचारका क्रममा उनले अमेरिकालाई विश्वको क्रिप्टो राजधानी बनाउन चाहेको बताएका थिए । नोभेम्बर ५ मा नतिजा आएदेखि बिटकोइन ५० प्रतिशतले बढेको छ। २०२४ मा माइक्रोस्ट्राटेजी, कोइनबेस, र बिटकोइन माइनर हट ८ जस्ता कम्पनीहरूले क्रिप्टो उद्योगको वृद्धिबाट फाइदा उठाएका छन् तर, उच्च ऊर्जा र हार्डवेयर लागतका कारण अन्य माइनरहरू भने घाटामा गएका छन् ।

जापानमा भारी हिमपात, दर्जनौँ उडान रद्द

काठमाडौं । लाखौँ परिवार आफ्ना प्रियजनहरूसँग नयाँ वर्षको छुट्टी बिताउन घर फर्किरहेको बेला जापानको उत्तरी क्षेत्रमा भारी हिमपातले मंगलबार दर्जनौँ उडान रद्द गर्यो । जापान एयरलाइन्सले दिउँसोसम्म ४२ वटा उडान रद्द गरेको र छ हजार ३९८ यात्रुलाई असर गरेको बताएको छ । ती सबै होक्काइडोको उत्तरी टापुबाट आवतजावत गर्ने सेवा थिए । यसको मुख्य प्रतिद्वन्द्वी एएनएले पनि उत्तरमा खराब मौसमका कारण आठ सय यात्रुलाई प्रभावित पार्दै १४ उडान रद्द गर्यो र आफ्ना ग्राहकहरूलाई सम्भावित ढिलाइ र थप रद्दको चेतावनी दियो । होक्काइडोको मुख्य विमानस्थलमा यात्रुहरूले वैकल्पिक उडानहरू सुरक्षित गर्न लामो लाइनहरू बनाए । केहीले सन् २०२५ को स्वागत प्रस्थान कक्षमै गर्ने तयारी गरे । ‘हिउँ देख्न पाउँदा राम्रो थियो तर म यहाँ फस्छु भन्ने मैले सोचेको थिइनँ’, दक्षिणको ओकिनावा घर जान खोजिरहेका एका व्यक्तिले प्रसारणकर्ता एचटिबीलाई भने, ‘के गर्ने मलाई थाहा छैन । म आज राति विमानस्थलमा बस्नुपर्ने हुन सक्छ ।’ जापानको मौसम विज्ञान एजेन्सीका अनुसार होक्काइडो र जापान सागर फर्केका उत्तरी तटरेखाका समुदायहरूले मंगलबार तीव्र हावा र भारी हिमपातको अनुभव गरिरहेका छन् । मौसम एजेन्सीका अनुसार सोमबारदेखि होक्काइडोका केही क्षेत्रमा २० सेन्टिमिटर (७.९ इन्च) भन्दा बढी हिमपात भएको छ । जसमध्ये धेरैजसो मंगलबार बिहान परेको थियो र नयाँ वर्षको दिनसम्म हिमपात जारी रहने अपेक्षा गरिएको छ । जलवायु परिवर्तनका कारण चरम गर्मीले विश्वका धेरै भागहरू ओगटेसँगै यस वर्ष जापानको गर्मी रेकर्ड सन् २०२३ को बराबर थियो । राष्ट्रिय मौसम एजेन्सीका अनुसार १२६ वर्षअघि रेकर्ड सुरु भएदेखि शरद ऋतु सबैभन्दा तातो थियो । माउन्ट फुजीको प्रसिद्ध हिउँको टोपी पनि यस वर्ष अहिलेसम्मकै सबैभन्दा लामो अवधिसम्म अनुपस्थित रह्यो । सामान्यतया अक्टोबरको सुरुमा देखिने भए पनि यो नोभेम्बरको सुरुसम्म देखिएन । रासस

‘मेक अमेरिका ग्रेट अगेन’ नारा ट्रम्पलाई महँगो, प्रतिरक्षा र स्वास्थ्यभन्दा बढी रकम ब्याज तिर्दैमा ठीक्क

काठमाडौं । अमेरिकाको पुनः राष्ट्रपति बन्न लागेका डोनाल्ड ट्रम्पले आफ्नो देशलाई फेरि महान बनाउने वाचा गरेका छन् । तर देशको बढ्दो ऋण यसको सबैभन्दा ठूलो बाधक हो । हाल अमेरिकी संघीय सरकारको ऋण ३६ ट्रिलियन डलर नाघेको छ । यो ऋणको ब्याज तिर्न खर्च हुने रकम देशको रक्षा र स्वास्थ्य बजेटभन्दा बढी हुने अवस्था आएको छ । अब ब्याज रकमभन्दा सामाजिक सुरक्षा बजेटमात्रै बढी छ । यदि यो अवस्था जारी रह्यो भने आगामी तीन वर्षमा अमेरिकी सरकारको सबैभन्दा ठूलो दायित्व ब्याज हुनेछ । पछिल्लो १२ महिनामा अमेरिकाको ब्याज लागत १.१५ ट्रिलियन डलर पुगेको छ, जुन देशको रक्षा र स्वास्थ्य बजेटभन्दा ३०० अर्ब डलर बढी हो । आधिकारिक तथ्यांकअनुसार देशको कुल ऋण ३६ ट्रिलियन डलर नाघेको छ, जुन देशको कुल ग्राहस्थ्य उत्पादनको १२५ प्रतिशत हो । ब्युरो अफ इकोनोमिक एनालिसिसको तथ्यांकअनुसार अमेरिकी सरकारको राजस्वको १८ प्रतिशत ऋणको ब्याज तिर्न मात्रै जाने गरेको छ । यो ३० वर्षयताकै उच्च हो । पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ । खर्च कसरी कम हुन सक्ला ? अमेरिकी सरकारको संघीय बजेट ६.७५ ट्रिलियन डलर छ, जसमध्ये सामाजिक सुरक्षा, मेडिकेयर र स्वास्थ्य सेवाको आधा हिस्सा छ । देशको ऋणको ब्याज मेडिकेयर र रक्षा खर्चभन्दा बढी भएको छ । अब योभन्दा सामाजिक सुरक्षाको बजेट मात्रै बाँकी छ । अमेरिकामा ७.३ करोड जनताले सामाजिक सुरक्षा पाएका छन् । देशको ऋण दैनिक ६ अर्ब ३ करोड डलरले बढिरहेको छ । प्रत्येक अमेरिकी नागरिकसँग १ लाख ८ हजार ऋण छ । ट्रम्पले सरकारी खर्च कटौती गर्न र सरकारी दक्षता बढाउन नयाँ विभाग, डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिशियन्सी स्थापना गर्ने घोषणा गरेका छन् । यसको कमाण्ड विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्क र विवेक रामास्वामीलाई दिइएको छ । ट्रम्पको चुनावी प्रचारका क्रममा मस्कले सरकारी बजेटमा अर्बौं डलर बचत गर्न सक्ने बताएका थिए । अहिले उनले सरकारी खर्च कटौती गर्ने कुरा गरेका छन् । यसमा सार्वजनिक प्रसारण र गर्भपतन अधिकार समूहहरूलाई दिइएको पैसा समावेश छ ।