भारतमा अत्तरको बिक्री दोब्बर, कति करोडको छ सुगन्ध उद्योग ?

काठमाडौं । छिमेकी मुलुक भारतमा अहिले ‘अत्तर तथा परफ्युमको’को व्यापार तीव्र गतिमा अगाडि बढिरहेको छ । यस क्षेत्रमा ठूला कम्पनीसँगै साना व्यापारिक  खेलाडी पनि आउने गरेका छन् । जसले गर्दा परफ्युम, डिओडोरेन्ट लगायत प्रयोग गर्नेको संख्या बढिरहेको छ ।उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा कटौती गरेर भए पनि ‘सुगन्धित’ वस्तुहरू किनिरहेका छन् कि भनेर आशंका पनि छ । चालु आर्थिक वर्षको समीक्षाा अवधिमा हेर्दा सुगन्धजन्य उत्पादनको ठूलो बिक्री भएको छ । गोदरेज उपभोक्ता उत्पादन, इमामी, आईटीसी र शपर्स स्टपजस्ता कम्पनीहरूले बिक्रीको जानकारी दिएका छन् । यसैको आधारमा बजार अनुसन्धाता निलसनआईक्यूले यो वर्ष सुगन्धित उत्पादनको बिक्री झण्डै दोब्बर भएको जानकारी दिएकाे हाे । तीव्र गतिमा बढिरहेको छ यो क्षेत्र निलसनआईक्यूले यो डाटा इकोनोमिक टाइम्ससँग सेयर गरेको छ । उक्त तथ्याङ्कअनुसार सेप्टेम्बरसम्म यो क्यालेन्डर वर्षमा सुगन्ध क्षेत्र वार्षिक रूपमा १२ प्रतिशतले बढेको छ । यसमा रोल-अन डिओडोरेन्टहरूले २६ प्रतिशतको वृद्धि दर्ता गर्‍यो । निलसनआईक्यूका अनुसार व्यक्तिगत रूपमा प्रयोग हुने वस्तुको क्षेत्र ६.२ प्रतिशतले वृद्धि भएकाे छ । जबकि एफएमसीजी उद्योग ५.७ प्रतिशतले बढेको छ । रिपोर्टका अनुसार भारतमा सुगन्ध उद्योग ४ हजार ७७१ करोड भारुको छ । किन बढ्यो बिक्री ? निलसनआईक्यूकाे भारतका कमर्शियल हेड रुजवेल्ट डिसुजाले सुगन्ध उत्पादनहरू अब साना ठाउँमा पनि पुगेका छन्, जसको अर्थ तिनीहरूको वितरण द्रुत गतिमा भइरहेको छ । मानिसहरू अहिले व्यक्तिगत सजावटमा चासो देखाउँदै छन् । यसले रोल-अन डिओडोरेन्टको बिक्रीमा वृद्धि भएको छ । ग्रामीण क्षेत्रमा समेत विस्तार गोदरेज कन्ज्युमर प्रोडक्ट्सका प्रबन्ध निर्देशक सुधीर सीतापतिले संगठित व्यापारमा डिओडोरेन्ट तीव्र रूपमा बिक्री भइरहेको जानकारी दिए । कम्पनीले ग्रामीण क्षेत्रमा वितरण विस्तार गरेको उनले बताए । (एजेन्सीको सहयोगमा)

रूसले लगायो अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

काठमाडौं । रूसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रूसी सरकारले जनाएको छ । स्रोतका अनुसार प्रतिबन्धहरू अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थाहरूसँग विदेशी व्यापार सम्झौता अन्तर्गत लागू हुने छन् । प्राविधिक र निर्यात नियन्त्रणको लागि संघीय सेवाले जारी गरेको इजाजतपत्र अन्तर्गत वितरण गर्न अनुमति दिइने छ । प्रतिबन्धले युरेनियमको लागि रूसमा निर्भर अमेरिकाको आणविक उर्जा आपूर्तिमा अभाव खडा गर्ने आकंलन गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाईडेनले गत मे महिनामा हस्ताक्षर गरेको सन् २०४० सम्म रूसी युरेनियम आयातमा प्रतिबन्ध लगाउने अमेरिकी कानून पछि यो कदम चालेको जनाइएको छ । अमेरिकी तथ्याङ्क अनुसार यस वर्ष रुसी युरेनियमको कुल खरिद ५७४ मिलियन डलर पुगेको छ जुन अघिल्लो बर्षको तुलनामा लगभग ३२ प्रतिशतले कम हो ।

मस्कको ‘एक्स’ विरुद्ध अर्बपतिले हाले मुद्दा, के हो विवाद ?

काठमाडौं । युरोपका सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्टले एलन मस्कको ‘एक्स’ (पुरानो ट्वीटर) विरुद्ध मुद्दा दायर गरेका छन् । आफ्नो अखबारको सामग्री एक्सले बिना भुक्तानी प्रयोग गरिरहेको दाबी अर्नाल्टको छ । ‘ले पेरिसिएन’ र ‘लेस इकाेज’ नामक दुई फ्रान्सेली पत्रिका अर्नाल्टले चलाउँदै आएका छन् । दुवै पत्रिका अर्नाल्टको  लक्जरी साम्राज्य एलभीएमएचअन्तर्गत रहेका छन् । बेलायती पत्रिका ‘टेलिग्राफ’को रिपोर्टअनुसार दुई फ्रान्सेली पत्रिका ‘ले पेरिसियन’ र ‘लेस इकोस’ यस मुद्दाको हिस्सा हुन् । दुई अन्य दैनिकह ‘ले फिगारो’ र ‘ले मोन्डे’ ले पनि मुद्दालाई समर्थन गरिरहेका छन् । अर्बपति अर्नाल्टले यी समाचारपत्रहरूलाई २०१९ को युरोपेली निर्देशनअनुसार भुक्तानी दिनुपर्ने दाबी गर्छन् । यी निर्देशनहरूले पत्रपत्रिका, म्यागजिन वा प्रेस एजेन्सीहरूलाई उनीहरूको सामग्री पुन: प्रयोग गरेबापत पारिश्रमिक प्राप्त गर्न अनुमति दिन्छ । रिपोर्टका अनुसार गुगल र मेटाको विपरीत एक्स फ्रान्सेली समाचार प्रकाशकहरूसँग वार्ता गर्न कहिल्यै सहमत भएकाे छैन । यो मुद्दाले विश्वका दुई धनी व्यक्तिहरूलाई अदालतमा आमनेसामने खडा गर्ने आँकलन गर्न सकिन्छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार हाल ३१९ अर्ब डलरको कुल सम्पत्तिका साथ एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । योसँगै बर्नार्ड अर्नाल्ट १६४ अर्ब डलरको सम्पत्तिसहित विश्वको पाँचाैं र युरोपका सबैभन्दा धनी व्यक्ति हुन् । अर्नाल्टको सम्पत्ति घट्यो, मस्क बढ्यो ब्लूमबर्गका अनुसार अर्नाल्टको सम्पत्तिमा वार्षिक रूपमा ४३.४ बिलियन डलरले गिरावट आएकाे छ । यसको विपरीत सूचकांकअनुसार मस्कको सम्पत्ति वार्षिक रूपमा ९०.० बिलियनले बढेको छ । रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अमेरिकी चुनावमा फेरि जित हासिल गरेसँगै मस्ककाे भाग्य पुन: चम्केकाे हाे । मस्कले ट्रम्पको पक्षमा खुलेर समर्थन गरेका थिए । पेरिस न्यायिक अदालतले एक्सलाई टेलिरामा, कुरिअर इन्टरनेशनल, ले हफिङ्टन पोस्ट, मालेशेर्बेस पब्लिकेशन्स र ले नोवेल ओब्स लगायतका फ्रान्सेली प्रकाशकहरूको समूहलाई व्यापार डेटा उपलब्ध गराउन बाध्य पारेको दुई महिनापछि मुद्दा आएको हो ।(एजेन्सीको सहयोगमा)