चालु आर्थिक वर्षमा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

ढाका । चालु आर्थिक वर्ष २०२३ जुलाईदेखि २०२४ जुनसम्ममा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तर्राष्ट्रिय मुद्रा कोषको ५.७ प्रतिशत र विश्व बैंकको ५.६ प्रतिशतको पूर्वानुमानसँग नजिकको तथ्यांक रहेका समाचार एजेन्सी बीएसएसले सोमबार रिपोर्ट गरेको छ । यसैबीच, चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकमा आधारित अनुमानअनुसार प्रतिव्यक्ति आयको पूर्वानुमान अघिल्लो वर्षको २ हजार ७ सय ४९ डलरबाट बढेर चालु आर्थिक वर्षमा २ हजार ७ सय ८४ डलर पुगेको छ । हालको मूल्यमा बंगलादेशको जीडिपी ४ सय ५९ अर्ब डलर रहेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ४ सय ५२ अर्ब डलर थियो । तथ्यांकले कृषि र उद्योगमा कमी देखाएको भने सेवामा थोरै वृद्धि भएको देखाएको छ ।

‘बेल-२१२’ ४३२ पटक दुर्घटना, प्रतिघण्टा २६० किलोमिटरको गति

काठमाडौं । अहिले इरानी राष्ट्रपति इब्राहिम रायसीको ‘बेल-२१२’ हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएको खबर चर्चामा छ । हेलिकोप्टरमा रायसीसँगै विदेशमन्त्री हुसेन अमिर-अब्दुल्लाहियन, पूर्वी अजरबैजानका गभर्नर मालेक राहमती, इस्लामिक धर्मगुरु मोहम्मद अली अले-हाशेम र अन्य सबै यात्रुहरूको मृत्यु भएको पुष्टि भएको छ । रायसीको काफिलामा तीनवटा हेलिकप्टर थिए, जसमध्ये दुई सकुशल गन्तव्यमा पुगेका थिए । गन्तव्यमा पुग्न नसकेर दुर्घटनामा परेको हेलिकप्टर बेल-२१२ हो । अब बेल-२१२ हेलिकोप्टरबारे चर्चा गरौं । बेल-२१२ हेलिकप्टर भियतनाम युद्धमा प्रयोग भएको ‘यूएच-१ एन ट्वीन’ जस्तै यात्रुवाहक हेलिकोप्टर हो । यो हेलिकोप्टर सरकारी र निजी दुवैले प्रयोग गर्ने गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार यो हेलिकोप्टर सन् १९६० को दशकमा क्यानडाली सेनाका लागि निर्माण गरिएको हो । यो यूएच-१ इरोक्वाइसको नयाँ मोडेल थियो । नयाँ डिजाइनमा दुई इन्जिन प्रयोग गरिएको थियो । नयाँ हेलिकप्टरको क्षमता पनि पहिलेको तुलनामा बढी छ । अमेरिकी सैन्य तालिमसँग सम्बन्धित दस्तावेजका अनुसार सन् १९७१ मा यो हेलिकप्टर आएपछि अमेरिका र क्यानडाले चाँडै नै आफ्नो फ्लिटमा समावेश गरेका थिए । यी युटिलिटी हेलिकप्टर हुन्, त्यसैले तिनीहरूलाई यूएच पनि भनिन्छ। यूएचजस्ता नामहरू सेनाले प्रयोग गर्छन् । यो हेलिकप्टर के उद्देश्यका लागि प्रयोग गरिन्छ ? यी हेलिकोप्टरहरू सबै प्रकारका कामका लागि प्रयोग गर्न सकिन्छ । जस्तै, यात्रु ढुवानी, आगो निभाउने, सामान ढुवानी र हतियार आपूर्ति । इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर उच्च सरकारी अधिकारी र नेताहरूको यात्रामा प्रयोग गर्न सकिने गरी परिमार्जन गरिएको थियो । यो हेलिकप्टर अमेरिकी कम्पनी बेल टेक्सट्रोनले निर्माण गरेको हो । कम्पनीको मुख्यालय अमेरिकाको टेक्सासमा छ । बेल हेलिकोप्टरको पछिल्लो मोडल बेल-४१२ को बारेमा कम्पनीले विज्ञापन गरेअनुसार प्रहरी, मेडिकल यातायात, सैनिकको आवतजावत, ऊर्जा उद्योग र आगो निभाउने काममा प्रयोग गर्न सकिन्छ । युरोपियन एभिएसन सेफ्टी एजेन्सीबाट प्राप्त कागजात अनुसार यसमा चालक दलका सदस्यसहित १५ जना बस्न सक्छन् । हेलिकोप्टरसम्बन्धी जानकारी दिने वेबसाइट हेलिसका अनुसार बेल-२१२ हेलिकप्टरको लम्बाइ १७ मिटर र उचाइ करिब चार मिटर हुन्छ । ग्लोबल एयरको वेबसाइटका अनुसार बेल-२१२ हेलिकप्टर सञ्चालन गर्न प्रतिघण्टा करिब १ लाख ३५ हजार रुपैयाँ खर्च लाग्छ । वेपन सिस्टम वेबसाइटका अनुसार यो हेलिकोप्टर २ सय ३० देखि २ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा उड्छ । बेल-२१२ हेलिकप्टर कहाँ प्रयोग गरिन्छ ? यो हेलिकोप्टर जापानी समुद्री बन्दरगाह गार्डले प्रयोग गर्छन् । अमेरिकामा यो हेलिकोप्टर अग्नि विभाग र कानुन प्रवर्तन एजेन्सीहरू प्रयोग गर्छन् । थाइल्यान्डको राष्ट्रिय प्रहरीले पनि यो हेलिकोप्टर प्रयोग गर्छ । समाचार एजेन्सी रोयटर्सका अनुसार इरानले त्यस्ता हेलिकोप्टर कति प्रयोग गर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन । तर, फ्लाइट ग्लोबलको २०२४ को विश्व वायुसेना निर्देशिका अनुसार इरानको वायुसेना र नौसेनासँग त्यस्ता १० वटा हेलिकोप्टर छन् । यसअघि यो हेलिकोप्टर सेप्टेम्बर सन् २०२३ मा दुर्घटना भएको थियो । त्यसपछि निजी अपरेटरको यो हेलिकोप्टर यूएईमा दुर्घटना भएको थियो । यस प्रकारको दुर्घटना इरानमा सन् २०१८ मा भएको थियो । त्यतिबेला दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । सेप्टेम्बर सन् २०१३ मा बेल-२१२ ट्वीन ब्लेड हेलिकोप्टर मुम्बईमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो । एभिएसन सेफ्टी नेटवर्क वेबसाइटको दाबी अनुसार सन् १९७२ देखि सन् २०२४ सम्म बेल-२१२ सम्बन्धी ४ सय ३२ घटना भएका छन् । जसमा करिब ६ सय ३९ जनाको मृत्यु भएको छ । इरानको एभिएसन क्षेत्र हेलिकप्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन । तर, हवाई यातायात सुरक्षाको मामलामा इरानको रेकर्ड कमजोर छ । यसको एउटा कारण दशकौंदेखि लगाइएको अमेरिकी प्रतिबन्ध पनि रहेको बताइएको छ । जसका कारण इरानको उड्डयन क्षेत्र कमजोर भएको छ । राष्ट्रपति रायसी बेल-२१२ हेलिकोप्टरमा सवार थिए । यो मोडेल अमेरिका मा बनाइएको थियो । विगतमा इरानका रक्षा र यातायात मन्त्रीहरूबाहेक इरानको सेना र वायुसेनाका कमान्डरहरूको पनि विमान वा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । मे २००१ मा इरानको यातायातमन्त्रीको विमान पनि दुर्घटनाग्रस्त भयो र यसको भग्नावशेष पत्ता लगाउन धेरै प्रयास गर्नुपरेको थियो । उक्त विमानमा २८ जना सवार थिए र दुर्घटनामा सबैको मृत्यु भएको समाचार प्रकाशित भएका थिए । इरानी सरकारमा सुधारवादीहरूको नेतृत्वमा देशको विमानलाई आधुनिकीकरण गर्ने प्रयास गर्दा पश्चिमी देशहरूसँग केही सम्झौताहरू पनि भएका थिए । त्यसमा प्रतिबन्ध खुकुलो पार्ने जस्ता कुराहरू समावेश थिए । यद्यपि, यी प्रयासहरू अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता फिर्ता लिएर प्रतिबन्ध लगाएपछि रोकिएका थिए । एजेन्सी

इरानका राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटना, अवस्था अज्ञात

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकोप्टर दुर्घटना भएको छ । राष्ट्रपति इब्राहिम विदेशमन्त्रीसहित अजरबैजानमा भएको एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परेर हराइरहेको बीबीसीले जनाएको छ । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको आशंका गरिएको खबरमा उल्लेख छ । हेलिकाेप्टरमा राष्ट्रपतिसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अरु धेरै व्यक्ति रहेका इरानका गृहमन्त्री अहमद वाहिदीले पुष्टि गरेका छन् । हेलिकाेप्टर खोज्न ४० जनाको टोली परिचालन गरिएको छ । इरानको सरकारी सञ्चारमाध्यमकाअनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरिएको थियो र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरिएको थियो । बीबीसीका अनुसार राष्ट्रपतिको सवारीमा तीन हेलिकाेप्टर संलग्न थिए । यीमध्ये दुई वटाले सुरक्षित अवतरण गरेका छन् ।