वायु प्रदूषण बढेपछि दिल्लीमा पटाका बिक्रीमा प्रतिवन्ध
एजेन्सी । दीपावलीको अवसरमा दिल्लीमा वायु प्रदूषण फेरि बढेको छ । दिल्ली सरकारले कडा प्रतिवन्ध लगाए पनि दिवाली पर्व मनाउन पटाका पड्काउने लगायतका गतिविधि पनि दिल्लीमा वायु प्रदूषण फेरि डरलाग्दो स्तरमा पुगेको हो । दिल्ली वरपरका क्षेत्रहरूले पनि खतरनाक वायु प्रदूषण स्तर रिपोर्ट भएको छ । दिल्लीबाट करिव १५० माइल टाढा रहेको विश्वका सात आश्चर्य मध्येको एक ताजमहल धुवाँको बाक्लो तहले घेरिएको देखियो । दिवाली पर्वको केही दिन अगाडि, दिल्ली सरकारले वायु प्रदूषणलाई नियन्त्रणमा राख्नको लागि राष्ट्रिय राजधानीमा पटाका बिक्रीमा प्रतिवन्ध लगाएको छ । दिल्ली प्रदूषण नियन्त्रण बोर्डले भन्यो कि, शहरले पटाकाहरू पड्काएपछि प्रदूषण स्तरमा तिब्र रुपमा बढेको छ ।
सन् २०२४ मा चीनको कार्बन उत्सर्जन घट्न सक्ने
काठमाडौं । नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले पत्ता लगाएको छ । चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक मुलुक हो र उसले आफ्नो विद्यमान २०६० लक्ष्यको तुलनामा धेरै नै महत्त्वाकांक्षी कार्बन तटस्थताको लक्ष्यको मागलाई पन्छाएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले सन् २०२३ र सन् २०५० को बीचमा विद्यमान जीवाश्म इन्धन सम्पत्तिहरूबाट वैश्विक उत्सर्जनको ४५ प्रतिशत हिस्सा चीनको हुने अनुमान गरिएको बताएको छ । बेलायतस्थित जलवायु साइट कार्बन ब्रिफले सोमबार जारी गरेको विश्लेषणमा चीनले पनि नवीकरणीय ऊर्जा क्षमतालाई अत्यन्त तीव्रताका साथ स्थापना गरिरहेको बताइएको छ । चीन एक्लैले सन् २०२३ मा स्थापना गरेको नयाँ सौर्य ऊर्जाको मात्रा अमेरिकामा पूरै स्थापित क्षमताभन्दा दुई गुणा छ । “सन् २०२३ मा स्थापना गरिएको नयाँ सौर्य ऊर्जा, वायु ऊर्जा, जलविद्युत् र आणविक क्षमताले मात्र प्रतिवर्ष अनुमानित चार सय २३ टेरावाट घन्टा (टिडब्लुएच) उत्पन्न हुनेछ जुन फ्रान्सको कूल विद्युत् खपतको बराबर हो”, सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयरको लौरी माइलीभिर्ताको प्रतिवेदनमा भनिएको छ । नवीकरणीय ऊर्जा स्थापनामा ठूलो मात्रामा बढोत्तरी र खडेर कम कम हुँदै जाँदा जलाशय फेरि भरिएका कारण जलविद्युत्मा अनुमानित वृद्धिले सन् २०२४ मा जीवाश्म–इन्धन बिद्युत् उत्पादन र कार्बनडाइअक्साइडको उत्सर्जनलाई कम गर्ने प्रत्याभूति गरेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि चीनले आफ्नो कोइला शक्ति क्षमताको विस्तारलाई जारी राखेको छ । यसले चीनको परम्परागत र नयाँ उदीयमान स्वार्थ समूहहरूबीचको द्वन्द्वका लागि स्थिति तयार गरिरहेको प्रतिवेदनले चेतावनी दिएको छ । नवीकरणीय ऊर्जाको वृद्धिले कोइला उद्योग र स्थानीय सरकारहरूको हितलाई उच्च जोखिममा पार्ने कार्बन ब्रिफले बताएको छ । “यी सरोकारहरूले सम्भावित अवरोध गर्न सक्ने चिन्ता बढाएको छ जसको प्रतिरोध गर्ने अपेक्षा गर्न सकिन्छ”, कार्बन ब्रिफले भनेको छ । चिनियाँ र अमेरिकी जलवायु अधिकारीहरूले यसै महिना हुने कोप२८ सम्मेलनमा वार्ता गर्न यसै साताको सुरुमा भेट गरेका थिए । भेटमा दुवै पक्षले रचनात्मक वार्ता भएको भन्दै प्रशंसा गरेका थिए । एजेन्सी
विश्व : पश्चिम डार्फरमा सशस्त्र समूहद्वारा आठ सयभन्दा धेरै सुडानी मारिए
एजेन्सी । सुडानको पश्चिमी डार्फरको आर्दमतामा सशस्त्र विद्रोहमा पछिल्लो छ महिनामा आठ सयभन्दा बढी मानिस मारिएको र ४८ लाखभन्दा धेरै विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले जनाएको छ । सुडानको डार्फर क्षेत्रमा बढ्दो हिंसाले दुई दशकअघि गरिएको अत्याचार दोहोरिनसक्ने आशङ्का गरिएको राष्ट्रसङ्घको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । आर्दमतामा आन्तरिकरूपमा विस्थापित मानिसहरूका लागि एउटा शिविर पनि थियो । विज्ञप्तिमा करिब एक सय आश्रयस्थललाई नष्ट गरिएको र युएनएचसिआरको राहत सामग्रीसहित व्यापक लुटपाट भएको पनि उल्लेख छ । दुई दशकअघि डार्फरमा हजारौँ मानिस मारिएका भएका थिए । राष्ट्रसङ्घका अनुसार जान्जिवाद नामक सहयोगी मिलिसियाद्वारा समर्थित सुडानी सरकारी सेना र राष्ट्रपति उमर अल–बशिरको निरङ्कुश शासनको विरोध गर्ने विद्रोही समूहरूबीचको सङ्घर्षमा लाखौँ मानिस विस्थापित भएका थिए । राष्ट्रपति अल–बशिरलाई अपदस्थ गरिएको थियो । नरसंहारको रोकथामका लागि गत जुनमा राष्ट्रसङ्घका विशेष सल्लाहकार एलिस वाइरिमु नदेरितुले पश्चिम डार्फरमा जातीयताका आधारमा सङ्घर्ष भइरहे यो युद्ध अपराध र मानवताका विरुद्ध अपराध हुनसक्ने चेतावनी दिएका थिए । युएनएचसिआरले निरन्तररूपमा यौन हिंसा, यातना, स्वेच्छाचारी हत्या, सर्वसाधारणसँग जबर्जस्ती असुली र विशिष्ट जातीय समूहहरूलाई निशाना बनाइएको रिपोर्टप्रति चिन्ता व्यक्त गरेको छ । ‘बीस वर्षअघि डार्फरमा भयानक अत्याचार र मानवअधिकारको उल्लङ्घनबाट विश्व स्तब्ध थियो, यस्तै प्रकारको गतिशीलता विकास हुनसक्छ भन्ने हामीलाई चिन्ता छ’, युएनएचसिआरका उच्चायुक्त फिलिप्पो ग्रान्डीले भन्नुभयो, “अर्को विपत्बाट बच्नका लागि तत्काल सङ्घर्ष अन्त्य गर्न र सबै पक्षले नागरिकको निःशर्त सम्मान गर्नु महत्त्वपूर्ण छ ।’ मध्य अप्रिलमा सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) नामक अर्धसैनिक समूहबीच सङ्घर्ष सुरु भएपछि सुडानभित्र ४८ लाखभन्दा धेरै सर्वसाधारण विस्थापित भएका छन् । यसका साथै १२ लाख मानिस छिमेकी देशमा शरण लिएका छन् । युएनएचसिआरका अनुसार पछिल्लो एक सातामा मात्र आठ हजारभन्दा बढी मानिस चाडतिर भागेका छन् ।