भारतमा टेस्ला कारकाे व्यापार सुरु गर्ने एलन मस्कको घोषणा
एजेन्सी । संसारकै सबैभन्दा धनी तथा टेस्ला इंकका मालिक ए लन मस्कले छिट्टै भारतमा आफ्नो व्यापार सुरु गर्ने घोषणा गरेका छन् । टेस्लाका मालिक मस्कले अर्को हप्ता भारतीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेट गर्ने भएका छन् । यो भेट अमेरिकामा हुन सक्ने बताइएको छ । यस बैठकका माध्यमबाट यो सुनिश्चित गर्न सकिन्छ कि भारतमा टेस्लाको सञ्चालनलाई द्रुतरूपमा स्वीकृत गर्ने प्रयासहरू भइरहेका छन् । भारतीय वाणिज्यमन्त्री गोयल अर्को साता अमेरिका जाँदैछन् जहाँ उनले टेस्लाका मालिक मस्कलाई भेट्ने बताइएको छ । दक्षिण एसियाली बजार विश्वका कार निर्माताहरूका लागि आकर्षणको केन्द्र हो र मस्क जतिसक्दो चाँडो भारतमा टेस्ला कार बेच्न चाहन्छन्। गत जुनमा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आफू भारतमा ठूलो लगानी गर्न तयार रहेको बताएका थिए । मस्क र गोयलबीचको हुने छलफलमा भारतमा टेस्लाको २४ हजार डलर मूल्यका कार उत्पादन गर्न सकिने कारखाना खोल्ने योजनाबारे कुराकानी हुने बताइएको छ । मस्क अब भारतीय कम्पनीहरूबाट टेस्ला कारका लागि अधिक कम्पोनेन्ट किन्न तयार छन् र देशभरि चार्जिङ स्टेसन स्थापना गर्न कोसिस गर्दैछन् । यस विषयमा सरकारी तहका अधिकारीहरूले जानकारी दिएका छन् । बैठकमा भारत सरकारको नयाँ विद्युतीय सवारी नीतिबारे पनि छलफल हुनेछ । भारत सरकारले विश्वका विद्युतीय कार कम्पनीहरूलाई पूर्णरूपमा निर्मित कार भारतमा १५ प्रतिशतको संशोधित भन्सार शुल्कमा आयात गर्न अनुमति दिन सक्ने छ । अहिले भारतमा पूर्णरूपमा निर्मित विद्युतीय कार आयात गर्दा सतप्रतिशत महसुल तिर्नुपर्छ । भारत सरकार यस मामिलामा कार निर्माताहरूलाई राहत दिने मूडमा छ । अमेरिकी कार निर्माता कम्पनी टेस्लाले भारतमा कारखाना खोल्ने तयारी गरे पनि पूर्णविद्युतीय सवारीसाधन आयातमा उच्च करका कारण अहिलेसम्म काम सुरु गर्न सकेको छैन । गत सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले नयाँ विद्युतीय सवारी नीतिका सम्बन्धमा धेरै मन्त्रालयका अधिकारीहरूसँग कुराकानी गरेको थियो ।
गाजाको सबैभन्दा ठूलो अस्पतालमा इजरायलद्वारा हमला, उपचाररत बिरामीहरुको निधन
काठमाडौं । इजरायलले बिमारीहरुले उपचार गर्ने गाजाको सबैभन्दा ठूलो ‘अल सिफा अस्पताल’मा आक्रमण गरेको छ । शुक्रबार राति इजरायलले अस्पतालको भवनमा आक्रमण गरेको हो । हजारौं मानिसहरु रहेको अस्पतालमा गरिएको आक्रमणमा कति मानिसहरु मरेका छन् भन्ने बारेमा भने जानकारी बाहिर आएको छैन ।
भारतीय व्यवसायी अडानीको श्रीलंकास्थित कोलम्बो पोर्टलाई अमेरिकाले साढे ५ करोड डलर ऋण दिने
एजेन्सी । भारतका अर्बपति व्यवसायी गौतम अडानीले श्रीलंकामा निर्माण गरिरहेको सामुद्रिक बन्दरगाह (शि पोर्ट) मा अमेरिकाको ‘अमेरिकन डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी) ले साढे ५ करोड अमेरिकी डलरभन्दा बढी ऋण उपलब्ध गराउने घोषणा गरेको छ । अडानीले निर्माण गरिरहेको कोलम्बो वेस्ट इन्टरनेशनल टर्मिनल (सीडब्ल्यूआईटी) लाई डीएफसीले ५ करोड ५३ लाख डलरबराबर ऋण उपलब्ध गराउने घोषणा गरेको हो । यस बन्दरगाहमा अडानी पोर्ट्स र स्पेशल इकोनोमिक जोन (एपीएसईजेड) को धेरै लगानी छ । बाँकी सेयर श्रीलंकाको जोन किल्स होल्डिङ्स (जेकेएच) र श्रीलंका पोर्ट्स अथोरिटीसँग छ । यो पूर्वाधार परियोजना अडानी समूहका लागि ठूलो राहत हो, जुन अमेरिकी फर्म हिन्डनबर्ग रिसर्चले व्यवसाय सञ्चालनमा त्रुटि भएको आरोप लगाएपछि पछिल्ला केही महिना कठिनाइहरूको सामना गरिरहेको छ । ‘अमेरिकी सरकारले आफ्नो एजेन्सीमार्फत अडानीको परियोजनामा लगानी गरेको यो पहिलोपटक हो । यसले कोलम्बो पोर्टमा विश्वस्तरीय कन्टेनर सुविधाका लागि लगानी र विकास गर्ने क्षमतामा समूहको विश्वासलाई प्रतिविम्बित गर्दछ,’ अडानी समूहले जारी गरेको विज्ञप्तिमा छ । अडानी पोर्ट्सका पूर्णकालिन निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत करण अदानीले भने, ‘हामी अदानीको परियोजनामा अमेरिकी सरकारी निकायको लगानीलाई स्वागत गर्छौं । यसले हाम्रो दृष्टिकोण, हाम्रा क्षमता र हाम्रा कार्यमा अन्तर्राष्ट्रिय समुदायको विश्वासलाई प्रतिविम्बित गर्दछ ।’ कोलम्बो बन्दरगाह हिन्द महासागरको सबैभन्दा ठूलो र व्यस्त बन्दरगाह हो । यो सन् २०२१ देखि ९० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ । यसको वेस्ट टर्मिनल लगभग ६ करोड ५० लाख डलर लगानीमा विकसित भइरहेको छ। टर्मिनल निर्माण २०२२ मा सुरु भएको थियो र २०२५ सम्ममा सम्पन्न हुने अपेक्षा छ । पहिलो चरण २०२४ सम्म तयार हुनेछ । नयाँ टर्मिनलले बङ्गालको खाडीको बढ्दो अर्थतन्त्रलाई आकर्षित गर्न प्रमुख ढुवानी मार्गहरूमा श्रीलंकाको रणनीतिक उपस्थिति र द्रुतरूपमा बढ्दो बजारहरूको निकटताको लाभ उठाउने छ । विदेशी ढुवानी कार्गोमा अवसर देखेर, केन्द्र सरकार पनि आफ्नो मेगा प्रोजेक्ट ग्रेट निकोबार पोर्टलाई गति दिन प्रेरित भएको छ । श्रीलंकाका लागि अमेरिकी राजदूत जुली चुङले यस टर्मिनलको विकासले श्रीलंकामा निजी क्षेत्रको नेतृत्वमा विकास हुने र आर्थिक पुनरुत्थानका क्रममा उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन हुने बताइन् । पूर्वाधार क्षेत्रमा ठूलो लगानी गरेर श्रीलंकामा चीनको बढ्दो हस्तक्षेप कम गर्न पनि अमेरिकाको यो कदम प्रभावकारी हुने विज्ञहरूले बताएका छन् । कोलम्बो बन्दरगाहको एउटा टर्मिनल चाइना मर्चेन्ट्स पोर्ट होल्डिङले सञ्चालन गर्छ । ‘वेस्ट कन्टेनर टर्मिनलमा डीएफसीको ५ करोड ५३ लाख डलरको निजी क्षेत्रलाई दिइएको ऋण प्रतिबद्धताले यसको ढुवानी क्षमता विस्तार गर्नेछ,’ डीएफसीका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनले भने, ‘यसले श्रीलंकालाई ऋण नबढाएर थप समृद्ध बनाउँछ र यस क्षेत्रमा हाम्रा सहयोगीहरूको स्थिति बलियो बनाउँछ ।’ पूर्वकूटनीतिज्ञ नीलम देवले यसबाट श्रीलंकाजस्ता देशमा लगानीका लागि चिनियाँ पैसाबाहेक अन्य स्रोतहरू छन् भन्ने सन्देश जाने बताइन् ।