इजरायली सेनाद्वारा हमासको मुख्य बन्दरगाह कब्जा

काठमाडौं । इजरायली सेनाले मध्य गाजामा रहेको हमासको बन्दरगाह आधार क्षेत्र आफ्नो नियन्त्रण लिएको जनाएको छ । इजरायली रक्षा बलले बिहीबार जनाए अनुसार नौसेना, आर्मर र ईन्जिनियरिङ् बलहरूको संयुक्त आक्रमण र वायुसेनाको सहयोगमा करिब १० को प्रयत्नमा टनेल शाफ्टहरू नष्ट गरिएको र आतङ्कवादी पूर्वाधारका चारवटा भवनहरू पनि ध्वस्त पारिएको छ । हमासले आफ्नो नौसेनालाई प्रशिक्षण दिन र नौसैनिक आक्रमणहरू सञ्चालन गर्न यो सुविधा प्रयोग गरेको आइडिएफले जनाएको छ । नागरिक नौसेना एंकरेज को आवरणमा हमासले प्रशिक्षण र आक्रमण गर्ने उद्देश्यका लागि त्यो ठाउँको फाइदा उठाएको बताइएको छ । साथै नागरिक जहाजहरू र गाजाको नौसेना प्रहरी डुङ्गाहरू पनि प्रयोगमा ल्याइएको बताइएको छ । इजरायली सेनाले दशजना आतङ्ककारीलाई मारेको छ र एंकोरेज क्षेत्रका सबै भवनहरू खाली गरेको दाबी गरेको छ । सन् २०१० को मावी मारमारा आक्रमणको घटनाहरूको सम्मान स्मारक पनि ढालिएको छ । बन्दरगाह कब्जा गर्न संलग्न इजरायली नौसेनाका १३ औं फ्लोटिलाका केही लडाकुहरूले मावी मारमारामा पनि पुगेका थिए । इजरायली नौसेनाले गाजा नाकाबन्दीलाई प्रतीकात्मक रूपमा तोड्न खोज्ने छ जहाजको फ्लोटिलालाई पनि रोकेको थियो । सो क्रममा फ्लोटिलाको सबैभन्दा ठूलो जहाज मावी मारमारामा हिंस्रक झडपमा परेको थियो । सन् २००७ मा हमासले गाजा माथि नियन्त्रण कब्जा गरेपछि इजरायली नौसेनाले इरानी हतियारहरू समुद्री मार्गबाट स्ट्रिपमा तस्करी गर्ने प्रयासहरूलाई रोकेको थियो । एजेन्सी

अमेरिकाको साझेदार र मित्र बन्न चीन तयार छ : राष्ट्रपति सी

US President Joe Biden greets Chinese President Xi Jinping before a meeting during the Asia-Pacific Economic Cooperation (APEC) Leaders’ week in Woodside, California on November 15, 2023. Biden and Xi will try to prevent the superpowers’ rivalry spilling into conflict when they meet for the first time in a year at a high-stakes summit in San Francisco on Wednesday. With tensions soaring over issues including Taiwan, sanctions and trade, the leaders of the world’s largest economies are expected to hold at least three hours of talks at the Filoli country estate on the city’s outskirts. (Photo by Brendan Smialowski / AFP) काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताएका हुन् । “यदि एउटा मुलुकले अर्को मुलुकलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भूराजनीतिक चुनौतीको रूपमा हेर्छ भने यसले गलत नीति निर्माण, भ्रमपूर्ण कार्य र अवाञ्छित परिणाम मात्र निम्त्याउने छ”, एसिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनका क्रममा एक रात्रिभोजमा उनले भने । राष्ट्रपति सीको उक्त टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग उनको बहुप्रतीक्षित वार्ताको केही घन्टापछि आएको हो । करिब एक वर्षपछि पहिलोपटक भएको भेटमा उनीहरूले दुई मुलुकबीचको तनावलाई कम गर्ने वाचा गरेका छन् । उच्चस्तरीय सैन्य हटलाइनलाई पुनः सक्रियताका साथ सुरु गरी दुवै पक्षले लक्जरी फिलोली एस्टेटमा वार्तापछि धेरै सम्झौताको घोषणा गरेका छन् । “हामीले धेरैभन्दा धेरै पुल बनाउनु पर्छ र जनता–जनताबीच कुराकानी गर्नका लागि अधिक सडक बनाउनुपर्छ”, करिब ४ सय व्यापारिक नेता, सरकारी अधिकारी र शिक्षाविदहरूको उपस्थितिमा चिनियाँ राष्ट्रपति सीले भने, “हामीले विभिन्न अवरोध सिर्जना गर्नु हुँदैन वा भयावहको प्रभाव सिर्जना गर्नु हुँदैन ।” सो अवसरमा उपस्थित हुने अतिथिहरूमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक, ब्ल्याकरकका लरेन्स फिङ्क र पिफाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्ला थिए । चीनको कडा व्यापारिक निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राख्दै अमेरिका–चीन व्यापार परिषद् र अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा सीको टिप्पणीलाई ध्यानपूर्वक हेरिएको थियो । अमेरिकी कम्पनीहरूले तीव्ररूपमा चीनमा लगानी गर्नबाट पन्छिरहन खोजेसँगै सेप्टेम्बरमा चीनमा विदेशी व्यापारको विश्वास वर्षौंको सबैभन्दा तल्लो स्तरमा पुगेको अमेरिकी र युरोपेली उद्यम लबीहरूले बताएको छन् ।

विश्व अर्थतन्त्रका दुई महारथीको भेटवार्ताको अर्थराजनीति

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिले संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन् । उनी सान फ्रान्सिस्कोमा हुने एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मलेनमा भाग लिन त्यहाँ पुगेका हुन् । सोही क्रममा बुधबार चिनियाँ राष्ट्रपति सीले अमेरिकी समकक्षी जो बाइडेनसँग ४ घण्टा लामो भेटवार्ता गरे । लामो समय अन्तरालपछि चिनियाँ पक्षबाट भएको सो भेटलाई भू–राजनीतिको कोणबाट महत्वपूर्ण ढंगले हेरिएको छ । दुई महाशक्ति देशका प्रमुखबीचमा चार घण्टा लामो समयसम्म भएको भेटवार्तामा पत्रकारहरूको उपस्थितिलाई निषेध गरिएको थियो । त्यसैले भेटपछि दुई महाशक्ति प्रमुखहरूले पत्रकार सम्मेलनका क्रममा दिएको अभिव्यक्ति र अनुमानलाई आधार बनाएर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले विश्लेषण गरिरहेका छन् । विचार राजनीतिको हिसाबले लामो समयदेखि दुई ध्रुबमा रहेका अमेरिका र चीन पछिल्लो दशकदेखि महाशक्तिको प्रतिस्पर्धामा छन् । जसमा चीनले अमेरिकालाई प्रतिस्थापन गर्ने प्रयत्न गरिरहेको छ भने अमेरिकाले आफूलाई यथास्थानमा राख्ने लक्ष्य राखेको छ । सो प्रतिस्पर्धामा दुवै मुलुकहरूले सैन्य, आर्थिक र प्राविधिक पक्षहरूलाई विश्वव्यापी रुपमा आफ्नो पक्षमा पार्ने प्रयत्न गरिरहेका छन् । जसलाई शीतयुद्धको रुपमा हेरिएको छ, जुन शीतयुद्ध यसअघिको (अमेरिका-रुस)को भन्दा नितान्त भिन्न छ । अमेरिका र चीन बीचको व्यापार, ताइवान तनाव, मध्यपूर्व र युरोपको युद्ध र अमेरिकी राष्ट्रपति जो बाइडेनले समकक्षी सी लाई गत जुनमा ‘तानसाह’ भनेर गरेको टिप्पणी लगायतका कारणले तनावपूर्ण रहेको दुई देशबीचको सम्बन्धमा यो भेटले केही सकारात्मक सुरुवात हुने अनुमान गरिएको छ । आर्थिक रुपमा शक्तिशाली रहेका यी दुई महाशक्तिबीचको सम्बन्धले विश्वको अर्थराजनीतिलाई समेत प्रभावित गरिरहेको छ । यी मुलुकहरूले पछिल्लो समय चालेका अमैत्रीपूर्ण कदमका कारण व्यापार र लगानीलाई सीमित गर्ने काम गरेका छन् । चीनले दुर्लभ वस्तुहरूको निर्यातमा कडाई गरेको छ भने अमेरिकाले चीनलाई प्रविधि र एआईबाट टाढा राख्ने प्रयत्न गरिरहेको छ । यद्यपि, अमेरिकाले व्यापारमा चीनसँगको निर्भरतालाई कम गर्न सकेको छैन भने प्रविधिमा पनि चीनलाई पछि पार्न सकिरहेको छैन । द्वीपक्षीय भेटको सुरुवातमा नै अमेरिकी राष्ट्रपति बाइडेनले दुई देशबीचको प्रतिस्पर्धाले द्वन्द्व निम्त्याउन नहुने बताएको फाइनान्सियल टाइम्सले लेखेको छ । ‘प्रतिस्पर्धाले द्वन्द्व निम्त्याउन नपाओस् भन्नेमा हामीले सुनिश्चित गर्नुपर्छ’, बाइडेनले सीसँग भने, ‘दुवै देशले आर्टिफिसियल इन्टेलिजेन्सदेखि जलवायुसम्मका विषयमा मिलेर काम गर्न सक्छन् ।’ बाइडेनको यो भनाइले पनि अमेरिका चीनसँग वास्तवमा द्वन्द्व गर्न नचाहेको वा अझै बढी प्रतिस्पर्धाको लागि तयार नभएको संकेत गर्छ । चिनीयाँ राष्ट्रपति सीले पनि बाइडेनले उठान गरेको विषयमा सकारात्मक जवाफ दिँदै विश्वमा देखिएका गम्भीर समस्या हल गर्न दुई देश मतभेदभन्दा माथि उठ्नुपर्ने बताएका छन् । बाइडेन-सी भेटमा अमेरिकाले ताइवान तनाव र उइगुर क्षेत्रमा मानवअधिकारको विषय पनि उठान गर्ने अनुमान गरिएको थियो । तर, पछिल्लो समय प्रतिस्पर्धात्मक रुपमा देखिएका मुख्य विषय एआई, लागूऔषध र जलवायुसम्बन्धी विषयमा छलफल गर्न दुवै देश तयार भएको चाइना डेलीले उल्लेख गरेको छ । त्यस्तै, दुवै देश उच्चस्तरीय रुपमा सैन्य विषयमा पनि छलफल गर्न सहमत भएका छन् । सन् २०२२ को अगष्टमा अमेरिकी प्रतिनिधि सभाकी पूर्व सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गर्दा चीन रुष्ट भएको थियो । सो पछि नै दुई देशका बीचमा सैन्य संवाद बन्द हुन पुगेको थियो । बाइडेन र सी बीचको वर्तमान भेटले भने सैन्य संवादलाई अगाडि बढाउन ढोका खोलेको छ । साथै सो भेटले आगामी दिनमा दुई महाशक्ति राष्ट्रका बीचमा पैदा हुन सक्ने समस्यालाई हल गर्न संवादको आधार तयार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन् । युरोप र अरब क्षेत्रमा भएको युद्ध रोक्नको लागि दुई राष्ट्रपतिको भेटपश्चात महत्वपूर्ण कदम अगाडि बढ्नसक्ने अनुमान गरिएकोमा सो विषयले भने धेरै महत्व नपाएको अनुमान गरिएको छ । यद्यपि, शीतयुद्धको रुपमा अगाडि बढिरहेको अमेरिका–चीन सम्बन्धमा दुई राष्ट्रपतिबीचको भेटले बनाएको सहज वातावरणले विश्वव्यापी रुपमा सकारात्मक सन्देश जाने र त्यसले विश्व अर्थराजनीतिमा नै सकारात्मक विचारको सञ्चार गर्ने अनुमान गरिएको छ । विश्वका सबैभन्दा शक्तिशाली राष्ट्रपतिहरू आपसमा कुरा गर्नु आफैँमा कूटनीतिक उपलब्धि भएको विश्लेषण अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको छ । उनीहरूले अब सम्पर्कमै रहने सहमति गरेका छन् । धेरै सञ्चार माध्यमले यसलाई एउटा फलताका रुपमा व्याख्या गरेका छन् । यस्तै, औषधिको गैरकानुनी ओसारपसारका लागि पनि आफूहरूले सहकार्य गर्ने दुवै पक्षले सहमति जनाएका छन् । विशेषतः अमेरिकामा गैरकानुनी तरिकाले फेन्टनिलको आपूर्ति रोक्नका लागि रासायनिक कम्पनीहरूको नियन्त्रण गर्न चीन सहमत भएको छ । उनीहरूले शक्तिशाली हरितगृह ग्यास मीथेन उत्सर्जनको गति कम गर्न र सन् २०३० भित्र नवीकरणीय ऊर्जाको प्रयोग तेब्बर बनाउने विश्वव्यापी प्रयासमा साथ दिनका लागि सहकार्य गर्ने वाचा पनि गरेका छन् । एजेन्सीहरुको सहयोगमा ।