गाजा क्षेत्र कतै पनि सुरक्षित छैन : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ । राष्ट्रसङ्घका अनुसार अपेक्षित स्थल आक्रमणको तयारीमा इजराइली हवाई हमलाहरु बढिरहेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफी हमलामा इजराइलले प्यालेस्टिनी क्षेत्रका लगभग सबै ठाउँमा आक्रमण गरेकाले मानिसहरूसँग केही विकल्प बाँकी नरहेको राष्ट्रसङ्घले जनाएको छ । ‘गाजा कतै पनि सुरक्षित छैन’, प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रङ्घका मानवीय संयोजक लिन हेडसनले बताएका छन् ।

चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

चीन । चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ । उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर सेनझोउ–१७ उडेको थियो । बिहीबार बिहान विदाइ समारोमा अन्तरिक्षा यात्रीहरूले रकेट प्रक्षेपणको तयारीका लागि प्रस्थान गर्नुअघि पर्यवेक्षकहरूलाई विदाइ गरेका थिए । ‘अन्तरिक्ष यान लङ्ग मार्च–२एफ वाहक माथि रहेको उक्त रेकट उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट सेन्टरबाट उडेको थियो’, चीनको सरकारी सिन्ह्वा समाचार समितिले भनेको छ । उक्त टोलीको नेतृत्व ताङ होङ्बोले गरिरहेका छन् । उनी अन्तरिक्ष स्टेसनमा आफ्नो पहिलो फिर्ती अभियानमा रहेका छन् । उनीसँगै ताङ सेङ्जी र जियाङ जिङ्लिन पनि रहेका छन् । यो उनीहरूको पहिलो अन्तरिक्ष अभियान हो । सबै पुरुष चालक दलको औसत उमेर ३८ वर्ष रहेको छ । अन्तरिक्ष स्टेसनको अभियानमा यिनीहरू सबैभन्दा कान्छो हुन् । रासस

प्यालेस्टाइनमा रोकिएन सामूहिक नरसंहार, राष्ट्रसंघमा शक्ति राष्ट्रका आ-आफ्नै मत

काठमाडौं । प्यालेस्टाइनको सैन्य संगठन हमासले अक्टोबर ७ मा इजरायलमाथि अचानक आक्रमण गरेपछि इजरायलले प्यालेस्टाइनमाथि शुरु गरेको बर्बर सामूहिक सैन्य कारवाहीको श्रृंखला रोकिएको छैन । झण्डै तीन हप्ताको कारबाहीमा हजारौं निहत्था नागरिकको मृत्यु भएको छ भने हजारौं घाइते र लाखौं प्यालेस्टाइनी जनता घरबार बिहिन बन्न पुगेका छन् । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् । इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुको भनाइ छ । इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरु ध्वस्त भएका छन् । लगभग २० हजार घरहरु पूर्ण क्षति भएका छन् । त्यस्तै ७० प्रतिशत स्थानीयहरु घरबाट बिस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले इजरायल र हमास समूहबीचको युद्धमा अन्तर्राष्ट्रिय कानून उल्लंघन भएको बताएका छन् । तर, इजरायलले भने राष्ट्रसंघका महासचिव गुट्रेसको भनाइको आलोचना गरेको छ । गाजा क्षेत्रमा इजरायलले बमबारी गरिरहँदा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बसेको छ । बैठकमा शक्ति राष्ट्रहरुले आ–आफ््ना विचारमा अडान राखेका छन् । बुधबार अमेरिका र रुसले राष्ट्रसंघमा दुई अलग–अलग प्रस्ताव गरेका थिए । तर, दुवै पक्षले राखेको प्रस्तावमा आम सहमति हुन सकेन । अमेरिकाले रुसी प्रस्तावको विरुद्धमा र चीन तथा रुसले अमेरिकाको प्रस्तावमा भिटो प्रयोग गरेर खारेज गर्ने काम गरे । अमेरिकाले प्यालेष्टाइनमा मानवीय विरामको प्रस्ताव गरेको थियो तर, युद्धबिरामलाई भने स्वीकार गरेन । त्यस्तै, रुसले भने प्यालेष्टाइनमा युद्धबिरामको प्रस्ताव गरेको थियो र अमेरिकाको मानवीय विरामलाई अस्वीकार गर्यो ।