कर्मचारीले पिसाब गरेको भिडियो सार्वजनिक भएपछि बियर कम्पनीद्वारा अनुसन्धान सुरु
बेइजिङ । यसै साता कारखानाका एक कर्मचारीले कच्चा सामग्रीमा पिसाब गर्दै गरेको भिडियो भाइरल भएपछि चीनको सबैभन्दा ठूलो बियर निर्मातामध्येको एक कम्पनीले उक्त घटनाको अनुसन्धान सुरु भएको जनाएको छ । बिहीबार अनलाइनमा प्रकाशित भएको भिडियो क्लिपमा कथितरूपमा सिङ्ताओ ब्रुअरी कम्पनीको गोदाममा एक पुरुष कर्मचारीलाई अग्लो पर्खाल भएको कन्टेनरमा चढेर कच्चा सामग्रीमा पिसाब गरिररहेको देखाइएको छ । उक्त फुटेज चिनियाँ सामाजिक सञ्जालमा व्यापकरूपमा प्रसार गरिएको छ। यसलाई लोकप्रिय प्लेटफर्म विबोमा लाखौँपटक हेरिएको छ । सिङ्ताओले उक्त घटनालाई लिएर प्रहरीसँग सम्पर्क गरेको र अनुसन्धान जारी रहेको बताएको छ। ‘हाम्रो कम्पनीले बिहीबार सिङ्ताओ ब्रुअरी नम्बर ३ बाट बाहिरिएको प्रासङ्गिक भिडियोलाई धेरै नै महत्व दिएको छ’, बियर निर्माता कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘हामीले चाँडै नै प्रहरीलाई घटनाबारे जानकारी गरायौँ र सार्वजनिक सुरक्षा अङ्गहरू अनुसन्धानमा संलग्न भएका छन्, हाल विचाराधीन माल्टको ब्याचलाई पूरै सील गरिएको छ, कम्पनी आफ्नो व्यवस्थापन प्रक्रियालाई सुदृढ बनाउन र उत्पादनको गुणस्तर सुनिश्चित गर्न निरन्तर अग्रसर छ।’ केही सामाजिक मिडिया प्रयोगकर्ताहरूले उक्त भिडियोप्रति आक्रोश व्यक्त गर्दै प्रतिक्रिया दिएका छन् र चीनको सबैभन्दा प्रख्यात पेय ब्रान्डमध्येको एक उक्त कम्पनीको समर्थनमा टिप्पणी गरेका छन् । ‘उक्त व्यक्तिलाई अदालतमा लगेर कम्पनीलाई नोक्सानका लागि क्षतिपूर्ति दिनुपर्छ भन्ने मेरो सुझाव छ’, कम्पनीको प्रतिक्रियामा विबोमा एक जनाले लेखेका छन् । अर्काले लेखेका छन्, ‘यसको गहिरोसँग अनुसन्धान होस्, सधैँ हाम्रो राष्ट्रिय च्याम्पियन ब्रान्डहरूका लागि अगाडि आउनुहोस् ।’ रासस
भारतको गगनयान परीक्षण उडान सफल
एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शनिवार आफ्नो गगनयान (स्काइक्राफ्ट) मिसन रोकेको केही घण्टाको अन्तरालपछि पुनः परीक्षण उडान शुरु गरेको छ । मिसन गगनयान टिवी डी १ परीक्षण उडान पूरा भएको जनाइएको छ । क्रु एस्केप सिस्टमले अपेक्षाकृत रुपमा प्रदर्शन गरेको छ । यो प्रक्षेपण दक्षिणी राज्य आन्ध्र प्रदेशमा श्रीहरिकोटा नजिकको सतिश धवन अन्तरिक्ष केन्द्रमा गरिएको थियो ।
युक्रेनद्वारा २८ अर्ब अमेरिकी डलरभन्दा बढी रक्षा क्षेत्रमा खर्च
एजेन्सी । युक्रेनी सरकारले यस वर्ष देशको रक्षामा देखिएका चुनौतीसँग सामाना गर्न र आवश्यकता पूरा गर्न १.०३१ ट्रिलियन रिभनिया (२८.२ बिलियन अमेरिकी डलर) भन्दाबढी खर्च गरेको छ । प्रधानमन्त्री डेनिस श्म्याहललाई उद्धृत गर्दै मन्त्रिपरिषद्को प्रेस सेवाले शुक्रबार यस बारे जानकारी गराएको छ । उक्त रकममध्ये ६८२ अर्ब रिभ्निया (१८.६६ बिलियन डलर) सैनिक कर्मचारीको तलबमा र करिब ३४९ बिलियन रिभनिया (९.५५ बिलियन डलर) सैन्य उपकरण खरिद गर्न प्रयोग गरिएको बताइएको छ । यस वर्षको पहिलो नौ महिनामा रक्षा क्षेत्र युक्रेनको बजेट प्राथमिकतामा थियो भने, सामाजिक कार्यक्रम र स्वास्थ्य सेवा थिए, उनले भने । अर्को वर्ष युक्रेनले रक्षा र सुरक्षा बललाई सहयोग गर्न “सबै सम्भावित स्रोतहरू” परिचालन गर्न निर्देशन दिएको छ । युक्रेनको सन् २०२४ को लागि मस्यौदा बजेटले अर्को वर्ष रक्षाका लागि कम्तिमा १.६९ ट्रिलियन रिभनिया (४६ बिलियन डलर) वा आफ्नो जीडीपीको २१.६ प्रतिशत छुट्याउने तयारी गरेको छ ।