चन्द्रमामा पुगेर भारतले रच्यो इतिहास, पानीमा आधारित बरफको खोजी गर्ने लक्ष्य

नयाँदिल्ली । भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बनेर अन्तरिक्ष यात्रामा इतिहास रचेको छ । आज भारतको चन्द्रयान-३ चन्द्रमामा अवतरण गरेको हो । नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ । चन्द्रयान-३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् । यदि चन्द्रयान-३ सफलतापूर्वक अवतरण भएसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देश भएको छ । रुसको लुना-२५ चन्द्रमाको सोही क्षेत्रमा अवतरण हुने क्रममा दुर्घटना भएको केही दिनपछि भारतको यो महात्वाकांक्षी प्रयास सार्वजनिक भएको हो । चन्द्रमाको दक्षिणी ध्रुवमा हिमजलको खोजी चन्द्रयान-३ को मुख्य लक्ष्य भएका बताउँदै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले त्यहाँ सधैँ छायामा रहने सतह अधिक रहेका र उक्त क्षेत्रमा पानीको सम्भावना रहेको जनाएको छ । अमेरिका, पूर्वसोभियत सङ्घ र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक ‘सफ्ट ल्यान्डिङ’ गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका छैनन् । सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान-२ अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो । त्यतिबेला चन्द्रयान-२ चन्द्रमाको सतहमा खसेको थियो । त्यसैले आज भारतीय मात्र नभई अन्तरिक्ष विज्ञानमा रुची राख्ने सबैको दृष्टि चन्द्रयान-३ मा छ । सन् १९६२ को जनवरी २३ मा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अन्तरिक्ष अनुसन्धानका निम्ति राष्ट्रिय समिति गठन गरेर भारतलाई अन्तरिक्ष युगतर्फको पहिलो यात्रामा निस्कन अभिप्रेरित गरेका हुन् । रासस/एएनआई

इजिप्टमा २० लाखभन्दा बढी नागरिक बेरोजगार

इजिप्ट । इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ । देशको तथ्यांक निकाय क्यापमासले मंगलबार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । देशभर १२ लाख पुरुष र ९ लाख ४१ हजार महिलासहित २० लाख भन्दा बढी नागरिकहरु बेरोजगार रहेको बताइएको छ । ६१.८ प्रतिशत बेरोजगार नागरिकहरु १५ देखि २९ वर्ष उमेरसमूहका छन् । गत वर्षको यही अवधिमा भन्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १.३ प्रतिशतले वृद्धि भएको छ । इजिप्टको वार्षिक मुद्रास्फिती दर जुलाईमा बढेर ३८.२ प्रतिशत कायम भएको थियो ।

चीनमा बैंकहरुको ब्याजदर घट्यो

काठमाडौं । चीनको केन्द्रीय बैंकले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा कोभिड–१९ पछिको आर्थिक वृद्धिदरमा आएको सुस्तताको सामना गर्ने प्रयासस्वरुप सोमबार प्रमुख ब्याजदरमा कटौती गरेको छ । पिपुल्स बैंक अफ चाइना (पीबीओसी)ले एक विज्ञप्ति जारी गर्दै कर्पोरेट कर्जाका लागि महत्वपूर्ण रहेको एक वर्षे ऋणको प्रमुख ब्याज दर ३.५५ प्रतिशतबाट घटाएर ३.४५ प्रतिशतमा झारेको छ भने ५ वर्षे ब्याजदर ४.२ प्रतिशतमा कायम गरिएको जनाएको छ । यो निर्णय वाणिज्य बैंकहरूलाई बढीभन्दा बढी र अधिक लाभप्रद दरमा प्रदान गर्न प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो । प्रमुख अर्थव्यवस्थाहरूले मुद्रास्फीति नियन्त्रण गर्न काम गरिरहेको बेला विश्वभर बढ्दो ब्याज दरको विपरीत छ । यसले अप्रत्यक्ष रूपमा चीनको विकासको चिन्ह्को रूपमा आर्थिक गतिविधिलाई समर्थन गर्नेछ । सन् २०२२ को अन्त्यमा स्वास्थ्य प्रतिबन्धहरू हटेपछि अर्थतन्त्र पनि सहज बन्दै गएको छ । अर्थतन्त्रलाई पुनर्जीवित गर्न केन्द्रीय बैंकले गत मङ्गलबार वित्तीय संस्थाहरूलाई प्रदान गर्ने मध्यमकालीन ऋण सुविधाको दर घटाएको थियो । वित्तीय नियामकहरूले ‘जोखिम र लुकेका खतराहरू’ बाट जोगिन शुक्रबार ‘वित्तीय सहयोग’ को आवश्यकतामा सहमति जनाएका थिए । यो कदमबाट चिनिया स्टक बजार प्रभावित भएका छैनन् । स्टक बजार कारोबारमा हङकङमा १.४ प्रतिशत र साङ्घाईमा ०.६० प्रतिशतले गिरावट देखिएको छ । घरजग्गाको समस्याका अतिरिक्त श्रम बजारमा अनिश्चितता र विश्वव्यापी आर्थिक मन्दीबीच सुस्त उपभोगका कारण पनि आर्थिक वृद्धिमा बाधा पुगेको छ । यी नकारात्मक घटनाक्रमले चिनियाँ सामानको मागमा असर पारिरहेको छ, जसले हजारौं कारखानाको गतिविधिलाई सुस्त बनाइरहेको छ ।