भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु
एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको सरकारी टेलिभिजन अल इन्डिया रेडियोले शनिबार जनाएको छ । चट्याङसहित परेको भारी बर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित भएका छन् । भारतीय मौसम विज्ञान विभागले आगामी दिनमा बिहारको पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षाको समयमा घरबाहिर ननिस्कन पनि सचेत गराइएको छ । सरकारी तथ्याङ्कलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले प्रशारण गरेका समाचारअनुसार सन् २०२२ मा भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु भएको थियो ।
नेटो अमेरिकी साम्राज्यको तर्फबाट युद्धलाई उत्प्रेरित गर्ने संस्था भएको पिंकको दाबी
एजेन्सी । नारीवादी सङ्गठन कोड पिङ्कले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) विश्वव्यापी सुरक्षाको लागि नभएको आरोप लगाएको छ । नेटो अमेरिकी साम्राज्यको तर्फबाट युद्धलाई उत्प्रेरित गर्ने संस्था भएको एक ब्लग पोस्टमा उसले उल्लेख गरेको छ । इतिहासको यो नाजुक क्षणमा नेटोले विश्वलाई अझ ठूलो सैन्यीकरण तर्फ धकेलेको, पृथ्वीको भविष्य र पारिस्थितिकीय प्रणालीलाई ध्वस्त पारेको, डढेलो र बाढीले बढाएको जलवायु सङ्कटको जोखिम घटाउनुको सट्टा हातहतियारमा गरिएको लगानीले नेटोको कार्यक्षेत्र विश्वशाान्ति एवम् समृद्धि नभएर फगत युद्ध भएको टिप्पणी गरिएको छ । नेटोले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्वीकृति बिना सन् १९९९ मा युगोस्लाभियामा आक्रमण गरेको, अफगानिस्तानमा २० वर्षको युद्ध छेडेर त्यहाँ तहसनहस पारेको र सन् २०११ मा अवैध रूपमा लिबियाको सरकारलाई ध्वस्त पारेको ब्लगमा लेखिएको छ । रूससँगको वर्तमान युद्धको अतिरिक्त नेटोले चीनको सामना गर्न दक्षिण कोरिया, जापान, अष्ट्रेलिया र न्युजील्याण्डसँग उत्तेजक एशिया–प्रशान्त सैन्य गठबन्धन निर्माण गरेको तथा राष्ट्रसङ्घीय बडापत्र विपरीत आणविक हतियारको प्रवद्र्धनलाई भित्रभित्रै प्रोत्साहन गरेको आरोप ब्लगमा लगाइएको छ ।
कोरियामा भीषण बाढी, सात जनाको मृत्यु
एजेन्सी । दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छभने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ । पछिल्ला तीन दिनमा लगातार परेको भारी वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् । स्थानीय सञ्चारमाध्यमले गोसानको केन्द्रीय काउन्टीका छ हजार चार सयभन्दा बढी बासिन्दालाई शनिबार बिहान घर खाली गर्न आदेश दिइएको जनाएका छन् । बाढीपहिराका कारण अहिलेसम्म सात जनाको मृत्यु भएको अभिलेख रहेपनि त्यो अझ बढ्नसक्ने बताइएको छ । पहिरो र भवन भत्किँदा सात जनाको मृत्यु भएको हो । उत्तरी ग्योङसाङ प्रान्तमा खोलाले बगाउँदा तीन जना बेपत्ता भएका छन् । कोरिया रेलरोड कर्पोरेशनका अनुसार सबै नियमित रेल सेवा राष्ट्रव्यापी रूपमा बन्द गरिएका थिएभने केही ‘बुलेट ट्रेन’ समयतालिका समायोजन गरी सञ्चालन भएका छन् । प्रधानमन्त्री हान डक–सूले विपद् व्यवस्थापन निकायका अधिकारीहरूलाई आपत्कालीन सेवा प्रवाह तथा विपद् प्रतिकार्यलाई गति दिन आग्रह गरेका छन् । उनले रक्षा मन्त्रालयबाट सञ्चालन हुने उद्धार कार्यमा सघाउन सम्बद्ध निकायहरूलाई निर्देशन पनि दिएका छन् ।