द्रुत गतिमा गुडेको बसका चालक निदाएपछि…
इस्लामावाद । पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा तीन जना महिला र दुई जना बालबालिकाले ज्यान गुमाएका छन् । पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा आइतबार उक्त दुर्घना भएको जनाउँदै प्रहरीले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेलाई नजिकैको अस्पताल पुर्याइएको प्रमुख अस्लमले सञ्चारकर्मीलाई बताएका छन् । तीर्थयात्री सवार उक्त बस पञ्जाबको दक्षिणी क्षेत्रमा रहेको सुफी संत सखी सरवरको मन्दिरबाट ज्याकोबाबाद जिल्लातर्फ फर्केको थियो । दुर्घटनामा घाइते भएका बस चालकले यात्रा सुरु गर्नुअघि चरेस सेवन गरेको आशंका स्थानीय प्रहरीले उनको रगत परीक्षण गराउन आदेश दिएको छ । रासस
जुलाई २०२३ मानव इतिहासकै तातो महिना, संयुक्त राष्ट्र संघ प्रमुखले भने : बोइलिङ युग शुरु भयो
काठमाडौं । ग्लोबल क्लाइमेट अथॉरिटीजका वैज्ञानिकहरूले जुलाई २०२३ लाई मानव इतिहासकै सबैभन्दा तातो महिना भएको बताएका छन्। लगातार बढिरहेको तापक्रमका कारण विश्वका तीन महादेश उत्तर अमेरिका, युरोप र एसिया तातो लहरको चपेटामा परेका छन् । कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस अफ युरोपेली युनियन र वल्र्ड मिटरोलोजिकल अर्गनाइजेसन (डब्लुएमओ) ले एक प्रतिवेदनमा जुलाईको पहिलो तीन तापमानका धेरै पुराना रेकर्डहरु तोडिएको उल्लेख गरेको छ । कतिपय देशहरूमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी पुगेको छ। १ लाख २० हजार वर्षमा पहिलोपटक धेरै तातो भएको वैज्ञानिकहरुले बताएका छन् । राष्ट्रसंघका महासचिव भन्छन् ‘ग्लोबल वार्मिङको युग सकियो’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ग्लोबल वार्मिङको युग समाप्त भएको बताएका छन् । ‘अब विश्वव्यापी उमालेको युग आएको छ। जलवायु परिवर्तन आएको छ । यो धेरै खतरनाक छ। यद्यपि यो सुरुवात मात्र हो, यसलाई नियन्त्रण गर्न सकिन्छ। हामी विश्वव्यापी तापमान वृद्धि रोक्न सक्छौं। तर, यसका लागि हामीले तत्काल कदम चाल्नुपर्छ’, उनले भने । तीन महादेशको तापक्रमको अवस्था अमेरिकामा बढ्दो तापक्रमले मानिसको जीवन कष्टकर बनाएको छ । यसैलाई ध्यानमा राख्दै अमेरिकी प्रशासनले गर्मीको लहरबाट बच्न मानिसहरूलाई सहयोग गर्ने आश्वासन दिएको छ। अमेरिकी वन विभागले मानिसहरूलाई रूख रोप्न मद्दत गर्न प्रशासनले १ अर्ब डलर उपलब्ध गराउने बताएको छ। बीबीसीको रिपोर्ट अनुसार अमेरिकामा ११ करोड ३० लाख मानिस गर्मीको चपेटामा छन् । फ्लोरिडा, क्यालिफोर्निया र वाशिंगटनमा सो सम्बन्धमा सरकारले सतकर्ता नै जारी गरेको छ । अमेरिकाको नेशनल वेदर सर्भिसले मानिसहरूलाई आफ्नो स्वास्थ्यमा कुनै पनि जोखिम नलिन आग्रह गरेको छ । जुलाई १५ मा अमेरिकाको एरिजोना राज्यको तापक्रम ४८ डिग्री सेल्सियस सम्म पुगेको थियो । अमेरिकी मौसम विभागले क्यालिफोर्नियाको डेथ भ्यालीमा पारा ५४ डिग्री पुगेको जानकारी दिएको छ । डेथ भ्याली संसारको सबैभन्दा तातो ठाउँहरू मध्ये एक हो। एसिया– चीनमा पारा ५२ डिग्री सेल्सियससम्म पुग्यो तापक्रम जुलाई १७ मा चीनको सिन्जियाङको सानबाओमा ५२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। यसअघि सन् २०१५ मा आइडिङमा सबैभन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो । त्यसपछि तापक्रम ५० दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । युरोपका धेरै देशहरूमा तापमान ४५ डिग्री सेल्सियस नाघ्यो युरोपको अन्तरिक्ष एजेन्सीले इटाली, स्पेन, फ्रान्स, जर्मनी र पोल्याण्डमा गर्मीको बारेमा अलर्ट जारी गरेको छ । स्पेनमा तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ । सोही समयमा, इटालीमा पारा ४८ डिग्री सेल्सियस पुग्न सक्छ। इटालीले रोम र फ्लोरेन्सलगायत आफ्ना १६ सहरमा गर्मीको लहर आउनसक्ने चेतावनी जारी गरेको छ। सरकारले बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म घाममा ननिस्कन मानिसलाई आग्रह गरेको छ । बढ्दो तापक्रमका कारण स्पेनको क्यानरी टापु र ग्रीसको जंगलमा आगलागी सुरु भएको छ । विश्वको औसत तापक्रम पनि बढ्यो प्रतिवेदनका अनुसार जुलाईको पहिलो २३ दिनमा विश्वको औसत तापक्रम १६.९५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । सन् २०१९ को जुलाईमा १६.६३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । त्यसैले जुलाई २०२३ लाई सबैभन्दा तातो महिना भनिएको छ। यूएस नेशनल सेन्टर फर इन्भारमेन्टल प्रेडिक्सनका अनुसार जुलाई ३ तारिख अहिलेसम्मकै सबैभन्दा तातो दिन बन्यो । सो दिन औसत विश्वव्यापी तापक्रम १७ डिग्री सेल्सियस नाघेको थियो । जुन सन् २०१६ को अगस्टमा रेकर्ड गरिएको सबैभन्दा तातो दिन १६.९२ डिग्री सेल्सियस भन्दा बढी थियो। साउन महिनाको ३ गतेपछि पछि विश्वव्यापी रुपमा गर्मी लगातार बढीरहेको छ । आगामी ५ वर्षमा विश्वको तापक्रम १.५ डिग्री सेल्सियससम्म बढ्न सक्ने डब्लुएमओका अनुसार पृथ्वीमा आगामी पाँच वर्षमा औद्योगिक क्रान्ति अघिको भन्दा १.५ डिग्री सेल्सियस बढी तातो हुनेछ। आर्कटिक महासागरको सम्पूर्ण बरफ पग्लिनेछ। समुन्द्री किनारमा रहेका धेरै सहर पानीमा डुब्न सक्नेछन् । एल निनोले तापक्रम वृद्धि गराउने कोपर्निकसका डेपुटी डाइरेक्टर सामन्था बुर्गिसका अनुसार यो सबै एल निनोका कारण भइरहेको छ । एल निनो एक मौसम प्रवृत्ति हो जुन हरेक केहि वर्षमा एक पटक हुन्छ। यो घटना विश्वको सबैभन्दा ठूलो महासागर प्रशान्त महासागरमा हुन्छ। यसमा पूर्वी प्रशान्त महासागरको पानीको माथिल्लो तह तातो हुन्छ। डब्लुएमओले सो क्षेत्रको औसत तापक्रम फेब्रुअरीमा ०।४४ डिग्री सेल्सियसबाट जुन मध्यमा ०.९ डिग्री सेल्सियसमा झरेको जनाएको छ। कार्बन उत्सर्जनका कारण विश्वव्यापी तापक्रममा वृद्धि वैज्ञानिकहरूले मानवीय गतिविधिलाई तापक्रम बढ्नुको प्रमुख कारण बताइरहेका छन् । वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्दै जानु पनि तापक्रम बढ्नुको कारण भएको वैज्ञानिकहरुको भनाइ छ । जीवाश्म इन्धन जलाउँदा विश्वभरबाट हरेक वर्ष ४००० मिलियन टन कार्बन डाइअक्साइड उत्सर्जन हुने गरेको छ । वायु प्रदूषणका कारण नै ग्लोबल वार्मिङ अर्थात् विश्वव्यापी तापक्रम निरन्तर बढिरहेको छ । विश्वव्यापी रूपमा कोइला, कच्चा तेल र प्राकृतिक ग्याँस ऊर्जाको लागि सबैभन्दा बढी प्रयोग गरिन्छ। जीवाश्म ईन्धनले विश्वको कुल कार्बन उत्सर्जनको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । अहिलेको अवस्थामा हरितगृह ग्यासको उत्सर्जन जारी रह्यो भने सन् २०५० सम्ममा पृथ्वीको तापक्रम दुई डिग्रीले बढ्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् । यसो भयो भने कतिपय ठाउँमा ठूलो खडेरी र कतिपय ठाउँमा विनाशकारी बाढी आएर मानव अस्तित्व नै जोखिममा पर्न सक्ने छ । एजेन्सीको सहयोगमा ।
युरोपेली केन्द्रीय बैंकले फेरी बढाउन थाल्यो ब्याजदर
काठमाडौं । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले ब्याजदर बढाउन थालेको छ । ईसीबीले बिहीबार ब्याजदर बढाएर सन् २००१ को सुरुदेखिको विन्दुमा पुर्याएको हो । फ्र्याङ्कफर्टमा मुख्यालय रहेको संस्थाले यसको मुख्य दरहरू एक चौथाई प्रतिशत बिन्दुले बढाउँदै यसको मानक निक्षेप ब्याज दर ३.७५ प्रतिशत कायम गरेको हो । यो सन् २००१ को मेपछि यसको उच्चतम विन्दु अर्थात् यस पहिलेको ब्याजदरको उच्चतम विन्दु बराबर पुगेको हो । मुद्रास्फितिसँग जुध्न बैङ्कको एक वर्ष लामो ब्याजदर वृद्धिको चक्रमा ऋणको लागत अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा बढेको छ । युक्रेनमा रूसको आक्रमणपछि ऊर्जा र खाद्यान्नको मूल्य वृद्धि भएको र गत वर्षको जुलाईमा ईसीबीले आफ्नो पहिलो कदम चालेपछि मुख्य दरहरू ४.२५ प्रतिशत बिन्दुले बढेको छ । ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले भने, ‘गत वर्षको अन्त्यमा मुद्रास्फीति दुई अङ्कको उच्च बिन्दुबाट तल झरेको छ, मूल्य मापन अझै पनि ‘धेरै लामो समयसम्म धेरै उच्च’ रहने अपेक्षा गरिएको छ ।’ युरोजोनमा उपभोक्ता मूल्य जुनमा ५.५ प्रतिशतले बढेको छ तर ईसीबीको २ प्रतिशतको लक्ष्यभन्दा निकै माथि छ ।