के चिनियाँ अर्थतन्त्र ओरालो लागेकै हो ?
काठमाडौं । बिग्रदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई सङ्केत गर्दछ । मे महिनमा चीनको खुद्रा बिक्री ३.१ प्रतिशतले बढ्यो जुन अघिल्लो महिना १२.७ प्रतिशत थियो । औद्योगिक उत्पादनमा झिनो सुधार आएर ३.५ प्रतिशतबाट ४.४ प्रतिशत पुगे पनि माग सुस्त रह्यो । सन् २०२३ को पहिलो ६ महिनामा सरकारी स्वामितवका उद्यमहरूको लागनी ८.१ प्रतिशतले बढे पनि निजी क्षेत्रको स्थिर सम्पत्ति लागनी ०.२ प्रतिशतले सङ्कुचित भएको छ जसले निजी क्षेत्रको व्यावासायिक विश्वास गुमेको सङ्केत गरेको छ । गत जुनमा चीनको निर्यात पनि १२.४ प्रतिशतले घटेको छ । जुन ३ वर्ष यताकै उच्च गिरावट हो भने आयात ६.८ प्रतिशतले घटेको छ । विकसित देशहरूमा उच्च मुद्रास्फीति र भूराजनीतिक अवस्थाका कारण चीनको वैदेशिक व्यापारले वर्षको अन्त्यतिर समस्याको सामना गर्नुपर्ने परिस्थिति उत्पन्न हुनसक्छ । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को प्रवाह पनि वर्षको पहिलो पाँच महिनामा ५.६ प्रतिशतले घटेको छ । चीनमा व्यापार गर्नु जोखिमपूर्ण छ भन्ने धारणाले देशमा पुँजीको प्रवाहलाई सङ्कुचित गरेको हो कि भन्ने देखाउँछ । एमएससिआई चाइना इनडेक्सले चिनियाँ कम्पनीमा विदेशी लगानी ६ प्रतिशतले घटेको देखाएका छ । इक्विटी बजारले पनि विश्व बजारको तुलनामा कमजोरी देखिएको छ । जसले आर्थिक वृद्धिलाई कमजोर बनाउनसक्ने देखिन्छ । चिनियाँ अर्थतन्त्रले जनसाङ्ख्यिक लाभांश लिन नसकेको देखिन्छभने सरकारको ‘साझा समृद्धि’ नीति र उपभोग वृद्धि गर्ने प्रयासलाई कुल गार्हस्थ्य उत्पादनको करिब ३५० प्रतिशतको हाराहारीमा मुलुकको कुल ऋणको उच्च जोखिमका कारण अलपत्र परेको संरचनात्मक आर्थिक सुधार चुनातीपूर्ण भएको छ । यद्यपि राष्ट्रपति सी चिनफिङको नेतृत्वमा रहेको सरकारले सुस्त अर्थतन्त्रको समाधान खोज्न आवश्यक कदम र उपकरण परिचालन गर्ने ठानिएको छ । राज्यको स्वामित्वमा रहेका उद्यमहरूको विकास तथा उत्पादकत्व वृद्धिका निम्ति राष्ट्रपति सीले दिनुभएको जोडले आर्थिक वृद्धिलाई भरथेग गर्ने सम्भावना क्षीण छ । यसै महिनाको अन्त्यमा हुने पोलिटब्युरो बैठकमा शीर्ष नेताहरूले ठोस कार्ययोजना ल्याएर आर्थिक वृद्धिलाई गति दिने अपेक्षा गरिएको छ । रासस
यूएईले सन् २०३० सम्म जीडीपी ८ सय अर्ब अमेरिकी डलर पुर्याउने
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) दोब्बर बनाउने लक्ष्य राखेको छ । युएईले आफ्नो कूल गार्हस्थ्य उत्पादनलाई यस दशकको अन्त्यसम्ममा दोब्बर गरी ८०० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको त्यहाँका अर्थमन्त्रीले बिहीबार बताएका हुन् । संयुक्त अरब इमिरेट्स (युएई) का अर्थमन्त्री अब्दुल्ला बिन तौक अल मारीले ब्लुमबर्ग टेलिभिजनसँगको अन्तर्वार्तामा भने, “हामीले सन् २०३० को अन्त्यसम्ममा हाम्रो अर्थतन्त्रलाई तीन ट्रिलियन दिराम (८१७ अर्ब डलर) पुर्याउन आवश्यक छ ।” उक्त लक्ष्य हासिल गर्न मुलुकले वार्षिक सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नुपर्ने र यसका लागि मुलुकभर नीतिगत काम भइरहेका उनले बताए । सन् २०२२ मा देशको आर्थिक वृद्धिदर ७.९ प्रतिशतले बढेर १.६२ ट्रिलियन दिराम पुगेको देशको सङ्घीय प्रतिस्पर्धात्मकता तथा तथ्याङ्क केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । कच्चा तेलको उच्च मूल्य र उत्पादनका कारण यो वृद्धि भएको हो ।
कम्बोडियामा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
काठमाडौं । कम्बोडियाले पर्सी आइतबार हुने आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ । सरकारले भोलि शनिबार र पर्सी आइतबार सबै प्रकारका मदिराको र सेवनमा प्रतिबन्ध लगाउने निर्देशन जारी गरेको छ । दक्षिणपूर्वी एसियाली देश कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले हस्ताक्षर गरी शुक्रबार जारी गरेको निर्देशनमा सामाजिक विकृति रोक्न तथा आमनिर्वाचन स्वतन्त्र एवम् निष्पक्ष वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको उल्लेख छ । “सबै कम्बोडियाली, विदेशी, व्यापारी र कम्बोडियाका बिक्रेताहरूलाई चुनावको एक दिन अघि र जुलाई २२ मा र निर्वाचनको दिन जुलाई २३ मा बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको छ,” निर्देशनमा भनिएको छ । राष्ट्रियसभाका एक सय २५ सिटका लागि आइतबार हुने निर्वाचनमा १८ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने राष्ट्रिय निर्वाचन समितिले जनाएको छ । उक्त निर्वाचनमा ९७ लाखभन्दा बढी मतदाताले भाग लिनेछन् । पाँच वर्षअघि भएको पछिल्लो आम निर्वाचनमा हुनसेनको सत्तारुढ कम्बोडियन पिपल्स पार्टी (सिपिपी)ले राष्ट्रियसभाका सबै एक सय २५ सिट जितेको थियो ।