आइएफआरसीको महासचिवमा पुनः चापागाईं

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन् । सो पदमा पुग्ने उनी पहिलो नेपाली हुन् । चापागाईंले यसअघि सन् २०२० फेब्रुअरीमा ४ वर्ष सो पदको पहिलो कार्यकाल सम्हालेका थिए । स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष अगाडि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः चयन गर्ने निर्णय गरेको हो । सो बोर्डमा विश्वका २९ देश सहभागी रहेको बताइएको छ । चापागाईंले सन् २०२८ को जनवरीसम्म आइएफआरसीको सर्वोच्च पदको नेतृत्व गर्नेछन् । आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका, प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण र पीडितलाई अनवरत रुपमा मानवीय सहयोग गर्दैआएको छ । दोस्रो कार्यकालको पदावधि थपपछि महासचिव चापागाईंले भने, ‘अइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित भएको छु, थुप्रै चुनौतीबीच समाधान खोज्न र हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।’ तीन दशकभन्दा बढी समय मानवीय सेवामा तल्लीन चापागाईंले गत महिना नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए । विश्वका १९२ देशका रेडक्रस आइएफआरसीमा आबद्ध छन् । सल्फेरिनो युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फुर्त प्रदान गर्न जँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गरेका थिए । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायत क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ । सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यालाई आइएफआरसीले बर्सेनि मानवीय सहायता पु¥याउने गरेको छ । साथै रेडक्रस अभियानले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने गर्छ ।

टोयोटाको नाफा १८ अर्ब १३ करोड अमेरिकी डलर, प्रक्षेपण गरेको भन्दा बढी

टोकियो । सबैभन्दा बढी बिक्री हुने जापानी कार निर्माता कम्पनी, टोयोटाले बुधबार आफ्नो पूरा वर्षको खुद नाफाले अपेक्षालाई उछिनेको बताएको छ । कम्पनीले आगामी आर्थिक वर्षका लागिसमेत राम्रो बिक्री र राजस्व सङ्कलनमा थप योगदानको प्रक्षेपण गरेको छ । जापानी फर्मले गत आर्थिक वर्षको लागि २.४५ ट्रिलियन येन (१८.१२ अर्ब अमेरिकी डलर) को शुद्ध मुनाफाको रिपोर्ट गरेको छ । यो कोभिडले थला परेको विश्व अर्थतन्त्र र युक्रेनमा जारी युद्धका कारण प्रभावित बजारमा अपेक्षा गरिएको २.३६ ट्रिलियन येनको प्रक्षेपणभन्दा बढी हो । यद्यपि, एक वर्ष पहिलेको तुलनामा यो १४ प्रतिशत कम हो । २.३६ ट्रिलियन येनको प्रक्षेपणलाई पछाडि पारेको छ । सेमीकन्डक्टर आपूर्तिमा सुधार र उत्पादन स्थलहरूको प्रयासका कारण आगामी वर्षका लागि पूर्ण वर्षको खुद मुनाफा पाँच प्रतिशतले वृद्धि भई २.५८ ट्रिलियन येन पुग्ने अनुमान गरिएको छ । अधिकांश उद्योगले महामारीका कारण प्रभावित बजार र विश्वव्यापी चिप अभावको प्रभावसँग जुधिरहेको समय जापानी विशाल कार कम्पनीले सन् २०२२ मा लगातार तेस्रो वर्ष आफ्नो सबैभन्दा बढी बिक्री हुने सवारी साधनका रूपमा रेकर्ड राखेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोजी सातोले भने, ‘एक शब्दमा भन्ने हो भने यो वर्ष हाम्रा ग्राहकलाई गाडी उत्पादन र डेलिभरी गर्न निकै कठिन वर्ष थियो ।’ प्रमुख वित्तीय अधिकारी योइची मियाजाकीले गत आर्थिक वर्षमा उत्पादन अवरोधका लागि प्राकृतिक प्रकोपदेखि चिप सङ्कटसम्म सबै कुरा उद्धृत गर्दै आफ्नो आम्दानीलाई उत्साहजनक भनेका छन् । टोयोटाले गत आर्थिक वर्षमा विश्वभर एक करोड पाँच लाखभन्दा बढी कार बेचेको थियो, जसमा हिनो मोटर्स र दाइहात्सुजस्ता सहायक कम्पनीले बनाएका कार पनि समावेश छन् । ‘सेमीकन्डक्टर आपूर्ति र मागमा सुधार भएको छ, हामी सबै क्षेत्रमा वृद्धिको अपेक्षा गर्दछौँ,’ मियाजाकीले भने । टोकाई टोकियो रिसर्च इन्स्टिच्युटका वरिष्ठ विश्लेषक सेइजी सुगिउराले परिणाम घोषणा हुनुअघि एएफपीसँग भने, ‘उत्पादन क्षमतामा वृद्धिले सेमीकन्डक्टरको अभावको प्रभाव घट्दै गएको सङ्केत गर्छ ।’ अनुसन्धान तथा परामर्श फर्म टीआईडब्लुका अटो एनालिस्ट सतोरु ताकाडाका अनुसार भूकम्पजस्ता प्राकृतिक प्रकोपको प्रभावसँग जुध्न सक्ने प्रणाली निर्माण गर्न टोयोटाले ‘निकै कडाइ’ गरेको र यसबाट आम्दानीमा थप उल्लेख्य योगदानको अपेक्षा गरिएको छ । यस वर्षको सुरुमा टोयोटाले अकियो टोयोडाको स्थानमा ५३ वर्षीय सातोलाई कार्यकारी प्रमुखको रूपमा नियुक्त गरेको थियो । उनले सन् २०२६ सम्ममा ’नेक्स्ट जेनेरेसन’ लेक्सस गाडीको आविष्कारसहित ‘नयाँ दृष्टिकोण’ मार्फत ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनको विकासलाई‘’गति’ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । केही आलोचक भन्छन्, ‘उत्सर्जन अटोमोबाइलको लागि माग बढेको अवस्थामा टोयोटाले हाइब्रिड कारहरूको नेतृत्व गरेको छ । कम्पनी ब्याट्री–सञ्चालित इन्जिनमा स्थानान्तरण गर्न ढिलो भएको छ । जबकि कम उत्सर्जन अटोमोबाइलको लागि माग बढेको छ ।’ कम्पनीले सन् २०२६ सम्ममा विद्युतीय कारको बिक्री १५ लाख युनिट पु¥याउने लक्ष्य राखेको छ, जुन सन् २०२२ मा २० हजार रहेको देखिन्छ ।

श्रीलङ्काले सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड अमेरिकी डलर माग्ने

श्रीलङ्का । श्रीलङ्काको मन्त्रिपरिषद्ले सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड अमेरिकी डलर प्राप्त गर्न विश्व बैंकसँग छलफल सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रपति रानिल विक्रमासिङ्घेले अर्थमन्त्रीको हैसियतमा उक्त प्रस्ताव गरेको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले सञ्चारकर्मीलाई जानकारी दिए । श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा ४८ महिने विस्तारित कोष सुविधाको एक भागको रूपमा देशको सबैभन्दा कमजोर समूहहरूको सुरक्षाको लागि एक बलियो सामाजिक सुरक्षा सञ्जाल लागू गर्न सहमत भएको गुणवर्धनेले बताए । उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सहयोग गर्न विश्व बैंकले २० करोड डलर ऋण उपलब्ध गराउन सहमति जनाइसकेको र उक्त रकमलाई अन्तिम रूप दिन विश्व बैंकसँग छलफल हुने बताए । श्रीलङ्काको मन्त्रिपरिषद्ले एसियाली विकास बैंकबाट तीन करोड ५० लाख अमेरिकी डलर ऋण र थप १५ लाख अमेरिकी डलर अनुदानका लागि वार्ता अघि बढाउन अर्थ मन्त्रालयलाई अख्तियारी दिने प्रस्तावलाई पनि अप्रिलमा अनुमोदन गरेको थियो । रासस