चीनले टर्कीका भूकम्प पीडितलाई ६० लाख डलर सहयोग गर्ने

चीन । चीनले टर्कीएका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । आपत्कालीन सहायताअन्तर्गत उक्त रकम टर्कीएलाई उपलव्ध गराउने घोषणा भएको हो । साथै चीनको रेडक्रसले टर्कीए र सिरियालाई दुई लाख अमेरिकी डलरको आपत्कालीन सहायता प्रदान गर्ने जनाएको छ । टर्कीए र सिरियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति शोक प्रकट गर्दै बेइजिङले दुवै देशसँग सम्पर्कमा रहेको बताएको छ । यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले भूकम्प प्रभावित टकीर्ए र सिरियाका लागि एक करोड १५ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेका थिए । उद्धार टोली टर्कीए जाँदै भूकम्प प्रभावित टर्कीएलाई सघाउन उद्धारकर्मी र राहत सामग्रीसहित भारतीय वायुसेनाका थप दुई विमान पठाउने भएको छ । उद्धार तथा राहतका कार्यमा सहयोग गर्न ६० पारा फिल्ड अस्पताल र कर्मचारीसहित आज साँझ र पछि टर्कीमा थप दुई वटा भारतीय वायुसेना विमान टर्कीए पठाइने रक्षा अधिकारीहरूले बताएका छन् । आगरास्थित आर्मी फिल्ड अस्पतालले ८९ सदस्यीय मेडिकल टोली पठाएको छ । यसैगरी भारतले पठाएको सहायताको पहिलो खेप टर्कीएको अदाना पुगेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले भूकम्प पीडितहरूको खोजी, उद्धार र सहयोगका निम्ति ८५ सदस्यीय टोली टर्कीए पठाउने बताएका छन् । उनले फिलिपिन्सको टोलीमा स्वास्थ्यकर्मी र इन्जिनियर रहने आज पत्रकारहरूलाई जानकारी दिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनअनुसार उद्धारमा सहयोग गर्न एक सयभन्दा बढी रुसी उद्धारकर्ता टर्कीए पुगेका छन् । खोज र उद्धारमा उपयोग हुने एन्डोस्कोप, ध्वनिक उपकरण, जियोराडार र थर्मल इमेजरसहित रुसी टोली त्यहाँ पुगेको हो । त्यसैगरी संयुक्त राष्ट्रसङ्घका विभिन्न विशिष्टिकृत निकाय पनि राहत सामग्री लिएर टर्कीए पुगेका छन् । विश्व स्वास्थ्य सङ्गठन, विश्व खाद्य कार्यक्रमको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ । रासस

२ हजार कर्मचारी कटौती गर्दै अमेरिकाको बहुराष्ट्रिय विमान उत्पादक कम्पनी बोइङ

अमेरिका । अमेरिकाको बहुराष्ट्रिय विमान उत्पादक कम्पनी बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने भएको छ । वित्त र मानव संसाधन विभागका दुई हजार कर्मचारी कटौती गर्ने योजनामा रहेको उक्त कम्पनीले जनाएको छ । कुनै पनि कर्मचारीलाई उसको रोजगारी गुमेको सूचना नदिइएको तर उनीहरूलाई रोजगारीका योजना बनाउन अनुमति दिइएको कम्पनीले बताएको छ । ‘हामीले गत वर्ष बोइङको जनशक्ति १५ हजारले बढाएका थियौँ, यो वर्ष इञ्जिनियरिङ र निर्माणमा केन्द्रित भएर थप १० हजार कर्मचारी भर्ना गर्ने योजनामा छौँ’ कम्पनीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । कम्पनीका अनुसार गत डिसेम्बर ३१ सम्म बोइङको कुल कार्यबल एक लाख ५६ हजार कर्मचारीको थियो । रासस

टर्कीको भूकम्पमा परी ५ हजार जनाको मृत्यु

टर्की । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै उद्धार गर्ने ध्येयका साथ खटेका छन् । यो दैवी विपत्तिमा ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने आपत्कालीन सुरक्षाकर्मीले बताएका छन् । उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीएका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित स्थानमा परिचालन भएका बताएका छन् । करिब छ हजार भवन भत्केकाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन भएको छ । कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रुत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको छ । अहिलेसम्म झण्डै दुई सय पराकम्प भएकाले जोखिम मोलेर उद्धारमा जुट्न विलम्ब भएको छ । हाताए प्रान्तको राजधानी अन्तक्या नगरकी नरगुल अतायाले भग्नावशेषबाट आफ्नी आमाले गुहार मागेको धेरै बेर भएका एपीलाई बताइन् । पर्याप्त उद्धारकर्मी र भग्नावशेष पन्साउने विशाल उपकरण नहुँदा उनकी आमाको उद्धार हुन सकेको छैन । सत्तरी वर्षकी आफ्नी आमाले भग्नावशेषमा आफूलाई सम्हाल्न नसक्ने दुखेसो उनको छ । भूकम्पको केन्द्रविन्दुभन्दा दक्षिणपश्चिमको हाताए प्रान्तका एक हजार पाँच सय भवनमा क्षति भएको छ । भवनका भग्नावशेषमा फसेका धेरै मानिस उद्धारको प्रतीक्षामा छन् । टर्कीएको दक्षिणपूर्वी प्रान्त काह्रामानमारास केन्द्र भएर भएको शक्तिशाली भूकम्पको धक्काले दमास्कस र बेरुतका बासिन्दालाई घरबाट बाहिर निस्कन बाध्य पारेको थियो भने काह्रामानमारासभन्दा धेरै पर अवस्थिति इजिप्टको राजधानी कायरोमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो । भूकम्पपीडितहरूले खेलस्थल, व्यापार मेला आयोजना गर्ने स्थानका साथै खुला आकाशमुनि आगो बालेर रात गुजारेका थिए । चिकित्सा सहायता प्रदान गर्ने डक्टर्स विदाउट बोडर्सले सिरियाको इड्लिब प्रान्तमा आफ्ना सहकर्मीलाई गुमाएको बताएको छ । साथै ती डाक्टरका परिवारका अन्य सदस्यको पनि भैँचालोमा ज्यान गएको छ । सिरियास्थित उक्त संस्थाका प्रमुख सेवास्टियन गेले उत्तरी सिरियामा घाइतेहरूको ठूलो भीड लागेकाले दिनरात चिकित्साकर्मी उपचारमा संलग्न भएका बताएका छन् । सिरियासँगको सीमा क्षेत्रमा परिचालन भएका देशका सैनिकलाई उद्धारमा परिचालन गरिएको टर्कीएका रक्षामन्त्री हुलुसी अकरले बताउनुभएको छ । सेनाको अङ्कारास्थित मानवीय सहायता गुल्म पनि सहायताका निम्ति काममा खटिएको छ । आठ वटा सैनिक टोलीले प्रभावित क्षेत्रमा सेवा खोजतलासका काम जारी राखेको छ । मन्त्री हुलुसीका अनुसार जल सेना पनि सहयोगका निम्ति तम्तयार छ । गाजीयान्तेप शहरका बासिन्दाले खेलमैदान, रङ्गशाला, किनमेल केन्द्र, मस्जिद र सामुदायिक केन्द्रहरूमा आश्रय लिएका छन् । टर्कीका दश वटा प्रान्तमा कम्तीमा ती हजार तीन सय ८१ जनाको ज्यान गएको तथा २० हजारभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । टर्कीएका राष्ट्रपति रिसेप ताइएप एर्दागानले सात दिन राष्ट्रिय शोक घोषणा गरेका छन् । यसैगरी सिरिया सरकारको अधिनमा रहेका भूभागमा सात सय ६९ जनाको मृत्यु भएको छ भने एक हजार चार सय ५० जना घाइते भएका छन् । विद्रोहीको पकड रहेको उत्तरपश्चिमी भेगमा चार सय पचास जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन् । रासस