हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हङकङ । कोरोना महामारीका कारण करिब तीन वर्षदेखि प्राय बन्द रहेको हङकङ र मकाउका बासिन्दाको चीन आउजाउ अब पूर्णरूपमा खुला भएको छ । मुख्यभूमि चीनबाट स्वशासित क्षेत्र हङकङ र मकाउ आइजाइमा लगाइएको प्रतिबन्ध पनि हटाइएको छ । महामारीले मन्दितर्फ धकेलेको एशियाको आर्थिक केन्द्र हङकङलाई पुनः जीवन्त बनाउने तथा धेरैभन्दा धेरै विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पाँच लाख हवाई टिकट निःशुल्क वितरण गर्ने सरकारी घोषणा भएको अर्को दिन चीनले सबै किसिमका यात्रामा लगाएको प्रतिबन्ध हटाएको हो । बेइजिङले कोभिड–१९ विरुद्ध अख्तियार गरेको शून्य सहनशिलताको नीतिका कारण बिग्रिएको व्यापार, व्यवसाय र पर्यटनलाई अब पुरानै लयमा फर्काउन सहज हुनेछ भने तीन वर्षदेखि घर बाहिर रहेका परिवारका सदस्यको पुनर्मिलनलाई सुनिश्चित गरेको छ । हङकङ र मकाउ राज्य परिषद् कार्यालयका अनुसार आगामी सोमबार मध्यरातदेखि निर्वाधरूपमा चीनबाट मकाउ र हङकङ तथा मकाउ र हङकङबाट चीन जानआउन पाइनेछ । गत महिना एक्कासी बेइजिङ्ले शून्य कोभिड नीति खारेज गरेपछि मुख्यभूमि जाने र त्यहाँबाट हङकङ र मकाउ आउजाउ सीमित मात्रामा हुनेगरेको थियो । कोरोना सङ्क्रमण नभएको प्रमाण प्रस्तुत गरेपछि मात्र दैनिक ६० हजार जनालाई आउजाउको अनुमति दिइएको थियो । हङकङका प्रमुख जोन लीले आशिंकरूपमा खुला गरिएको आवागमन व्यवस्थित, सुरक्षित एवम् सहज रहेको बताएका छन् । पर्यटनका निम्ति विख्यात हङकङले तीन वर्षको बन्दाबन्दीबाट २७ अर्ब डलर गुमाएको अनुमान छ । मुख्यभूमिबाट अधिकभन्दा अधिक पर्यटक हङकङ घुम्न आउने गरेका छन् । सन् २०१८ मा पाँच करोड १० लाख मुख्यभूमिका चिनियाँले सुन्दर शहर हङकङको भ्रमण गरेका थिए । हङकङ महानगरका अधिकारीहरूले सबै प्रतिबन्ध हटाइएपछि मुख्यभूमिबाट मात्र नभई अन्य देशबाट पनि पर्यटक ओइरिने अपेक्षा गरेका छन् । कोरोनाविरुद्ध खोप नलगाएका विदेशीलाई पनि हङकङमा सोमबारदेखि स्वागत गरिने भएको छ । अब यहाँको यात्रा गर्दा ‘क्वारेन्टिन’ वा ‘आइसोलेसन’मा पनि बस्नु पर्दैन यद्यपि प्रमुख प्रशासक लीले ‘एन्टिजेन टेष्ट’ आवश्यक हुने बताएका छन् । हङकङमा कोभिडसम्बन्धी सबै प्रतिबन्ध हटाइएको भए पनि ‘मास्क’ अनिवार्यरूपमा लगाउनुपर्छ । यो वर्षको शिशिर याम समाप्तिसँगै त्यो व्यवस्था पनि खारेज गरिने प्रमुख प्रशासक लीले बताएका छन् । रासस

वैदेशिक लगानीको लागि नेपाल सुरक्षित, कोरियन व्यवसायी भन्छन् : हामी लगानी गर्न इच्छुक छौं

काठमाडौं । नेपालमा लगानी गर्न कोरियन व्यवसायी इच्छुक देखिएका छन् । दक्षिण कोरियामा भएको नेपाल इन्भेष्टमेन्ट सेमिनारमा कोरियन व्यवसायीहरुले आफूहरुले लगानी गर्न सक्ने बताएका हुन् । सम्मेलनले कोरोना महामारीले असर पारेको नेपाली अर्थतन्त्रलाई लयमा फर्काउन कोरियाली लगाउन भित्र्याउन महत्वपूर्ण भएको एनआरएनएका अध्यक्ष विनाद कुँवरले बताए । कुँवरका अनुसार सम्मेलनमा सहभागी कोरियन व्यवसायीहरुले आफूहरुले नेपालको अवस्थाबारे जानकारी पाएकोमा खुशी व्यक्त गर्दै लगानी गर्न सक्ने बताएका थिए । दक्षिण कोरियामा हालै नेपाल इनभेष्टमेन्ट सेमिनार सम्पन्न भएको छ । नेपाली राजदूतावासको आयोजना र एनआरएनएको सहकार्यमा सम्पन्न कार्यक्रममा कोरियाका ५० भन्दा बढी व्यवसायीहरु सहभागी भएका थिए । नेपालका लागि कोरियाका राजदूतको ज्योति प्याकुरेलले जिम्मेवारी समालेको ४ महिनापछि लगानी सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा परराष्ट्रमन्त्री डा। विमला राई पौडेलले शुभकामना सन्देश दिएकी थिइन् । सम्मेलनमा उपनियोग प्रमुख रामसिंह थापाले कार्यक्रममा लगानीका सम्भावित क्षेत्र, नेपालका कानून, पुँजी लगायनी क्षेत्र समेटेर कार्यपत्र पेश गरेका थिए । उपनियोग प्रमुख थापाले प्रस्तुत गरेको कार्यपत्रमा आर्थिक विकासको एजेण्डामा राजनीतिक सहमति, सुशासन र आर्थिक वृद्धिमा ध्यान केन्द्रीत, सन् २०२६ सम्म अल्पविकसित अवस्थाबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नती, सन् २०३० सम्ममध्ये आय भएका राष्ट्रमा पुग्ने लक्ष्यमा पुग्न सबै क्षेत्रहरुमा वृहत लगानीको खाँचो रहेको औल्याउँदै लगानी सम्मेलनको आयोजना गरिएको उल्लेख छ । त्यसैगरी कार्यपत्रमा नेपालमा लगानीको लागि उचित गन्तव्य स्थल पनि छुट्इयाएको छ । नेपाल लगानीको एक राम्रो गतन्वय मानिएको बताउँदै जुनसुकै क्षेत्रमा लगानी प्रतिफलयुक्त रहेको, कुनै पनि क्षेत्र प्रतिस्पर्धारहित रहेको, पूर्ण शान्ति सुरक्षासहित वैदेशिक लगानीको लागि सुरक्षित गन्तव्य, नेपाल विशाल बजार भएका चीन र भारतबीच रहेको, नेपालमा उत्पादित वस्तुहरुलाई चीन र भारतमा विना भन्सार बजार पहुँचको सुविधा, नेपाली बस्तुमाले युरोपियन बजारमा समेत विना भन्सार र विना कोटा बजार प्रवेश सुविधा, अमेरिकी बजारमा ७० वटा नेपाली वस्तुलाई बजार प्रवेशमा प्राथमिकता रहेको कार्यपत्रमा उल्लेख छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका व्यवसायी अरुणराज सुमार्गीलगायत पनि सम्मेलनमा सहभागी रहेका थिए ।

भारतीय उद्योगी अडानीको कम्पनीले तीन दिनमा गुमायो ७१ अर्ब डलर

भारत । भारतीय उद्योगी गौतम अडानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेपनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार सेयर बजारमा अर्बौं डलर गुमाएको छ । यो गिरावट अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत हप्ता एक प्रतिवेदन सार्वजनिक गरी अडानी समूह ‘दशकौंदेखि स्टक हेरफेर र लेखा जालसाजी’ मा संलग्न रहेको आरोप लगाएको थियो । ब्लुमबर्ग न्यूजका अनुसार, तीन दिनको अवधिमा कम्पनीले बजार मूल्यमा लगभग ७१ अर्ब डलर गुमाएको छ । गत साता पनि अडानी समूहका फर्महरुको करिब ५० अर्ब डलर गुमाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकटतम मित्र समेत रहेका अडानी फोब्र्स म्यागाजिनको धनीहरूको सूचीमा पहिलोबाट तेस्रो स्थानमा खस्केका थिए । साठी वर्षीय अडानी गत सोमबार धनीहरुको सूचीमा नवौं स्थानमा थिए, र उनको सम्पत्ति ८५ अर्ब डलरको हाराहारीमा थियो । यसको मतलब उनी एशियाकै सबैभन्दा धनी अर्थात् पहिलो नम्बरको सूचीमा थिए । तर यो ताज भारतीय अर्का व्यवसायी एवं उद्योगी मुकेश अम्बानीले छोटो समयका लागि पहिरिन सफल भएका थिए । अडानी समूहले आफूहरुमाथि ‘दुराशययुक्त’ आक्रमण भएको बताएको छ र आइतबार कम्पनीले ४१३ पृष्ठको एक वक्तव्य प्रकाशन गरी हिन्डेनबर्गको दाबीलाई खण्डन गरेको छ । समूहले हिन्डेनबर्गले लगाएका आरोपहरू ‘झूट बाहेक केही नभएको’ बताएको छ । ‘यो केवल कम्पनीमाथि अनावश्यक आक्रमण मात्र नभई समग्र भारत, भारतीय संस्थाहरूको स्वतन्त्रता, अखण्डता र गुणस्तर, र भारतको विकास र महत्वाकाँक्षा विरुद्धको आक्रमण हो,’ समूहको वक्तव्यमा भनिएको छ । वक्तव्यपछि सोमबार खुलेको बजारमा अडानी इन्टरप्राइजेजको शेयर बजारमा सकारात्मक प्रभाव देखिए पनि अडानी आबद्ध कम्पनीहरुको शेयर बिक्री व्यापक बनेको थियो र त्यसलाई रोक्न कम्पनीको प्रयास सफल भएको थिएन । अडानीले स्टक बिक्री मार्फत २५ अर्ब डलर सङ्कलन गर्ने महत्वाकाँक्षी योजना अघि सारेलगत्तै बजारमा समस्या उत्पन्न भएको थियो । अडानी इन्टरप्राइजेजले प्रति शेयर भारतीय रुपैयाँ ३ हजार ११२ को हाराहारीमा बिक्री गर्न खोजको थियो । हिन्डेनबर्गले अडानीको वक्तव्यको जवाफमा भारतको भविष्य अडानी समूहद्वारा रोकिएको बताउँदै यसले देशलाई व्यवस्थित रूपमा लुट्न खोजेको आरोप लगाएको छ । ‘अडानीको लामो वक्तव्यले हिन्डेनबर्गले उठाएका सबालमाथि केन्द्रित भएर ३० पृष्ठमा मात्र जवाफ दिएको छ र धेरै प्रश्न अनुत्तरित छन् । वक्तव्यमा कम्पनीले आफ्नो बढाईचढाई मात्र गरेको छ ।’ अडानी समूहको मुख्य कम्पनी अडानी इन्टरप्राइजेजको मुम्बई शेयर बजारमा १.५ प्रतिशतले मात्र वृद्धि भएको थियो । अडानी टोटल ग्यास, अदानी ट्रान्समिसन र अडानी ग्रीन इनर्जीको कारोबार फेरि रोकिएको छ । शुक्रबार पनि यी कम्पनीको कारोबार यस्तै भएको थियो । अडानी पावर र अडानी विल्मारको पनि पाँच–पाँच प्रतिशतले शेयर मूल्य घटेपछि सर्किट ब्रेक गर्नु परेको छ । अडानी पोर्ट कम्पनीको कारोबारमा एक समय धनात्मक देखिए पनि १.५ प्रतिशतले घटेको छ । रासस