अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले बाँकी जीवन आफ्नै घरमा बिताउने

एटलाण्टा । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले अतिरिक्त चिकित्सा हस्तक्षेपको सट्टा घरमै अस्पताल हेरचाह प्राप्त गर्ने र आफ्नो बाँकी समय आफ्नो परिवारसँग बिताउन निर्णय गरेका छन् । उनी कलेजो र मष्तिष्क रोगबाट पीडित छन् । चिकित्सक टोलीको रेखदेखमा घरमै आराम गर्ने निर्णय पूर्वराष्ट्रपतिले गर्नुभएको कार्टर सेन्टरले शनिबार एक वक्तव्य निकालेर बताएको हो । अमेरिकाको इतिहासमा ह्वाइट हाउसबाट बाहिरिएपछि लामो जीवन बाँच्ने पूर्वराष्ट्रपति ९८ वर्षीय कार्टर छन् । उनले जनवरी १९७७ देखि जनवरी १९८१ सम्म अमेरिकाको ३९ औं राष्ट्रपतिका रूपमा देशको नेतृत्व गरेका थिए । आर्थिक सङ्कटबाट गुज्रिएको अमेरिकी अर्थतन्त्रलाई गतिशील तुल्याउनेदेखि इरान सङ्कट, ऐतिहासिक इजिप्ट–इजरायल शान्ति सन्धि गराउनेसम्मको केन्द्रीय भूमिका निर्वाह गर्नुभएका पूर्वराष्ट्रपति कार्टर पूर्वअभिनेता तथा क्यालिफोर्नियाका गभर्नर रोनाल्ड रेगनसँग सन् १९८० को चुनावमा पराजित भएका थिए । मानवीय सहायता, गरिबीको चपेटामा परेका अफ्रिकी महादेशका मुलुकका साथै विश्वका अन्य भागमा बढेको द्वन्द्व अन्त्य गर्न पूर्वराष्ट्रपति कार्टरले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । अन्तर्राष्ट्रिय द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न, लोकतन्त्र र मानवअधिकारको रक्षाका साथै आर्थिक एवम् सामाजिक विकासको प्रवद्र्धनमा अथक प्रयास गरेबापत उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । रासस

टर्कीए भूकम्प : ४६ हजारभन्दा बढीको मृत्यु

इस्तानबुल । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण आज साँझदेखि खोजी तथा उद्धार स्थगन गरिने जनाउँदै चार लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएको छ । साथै खोज तथा उद्धारमा १३ हजार स्वयम्सेवक एवम् अन्य सहायताकर्मी परिचालन गरिएको जनाइएको छ । हालसम्म टर्कीएमा ४० हजार छ सय ४२ जना तथा सिरियामा पाँच हजार आठ सयले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीले बताएका छन् । उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने जनाएका छन् । टर्कीएमा तीन लाख ४५ हजार भवन भत्केका छन् भने भग्नावशेषमा धेरै हराइरहेका छन् । विश्व खाद्य कार्यक्रमले सिरियमा मानवीय सहायता सामग्री परिचालनमा कठिनाइ भएको जनाउँदै अवरोध नगर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । उत्तरपश्चिम सिरियामा मानवीय सहायता उपलव्ध गराउन कठिन भएको उक्त संस्थाले बताएको छ । सिरियाली अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा आफ्नो पहुँचमा अवरोध खडा गरेको आरोप उक्त संस्थाले लगाएको छ । रासस

मस्कोद्वारा अष्ट्रियाली दूतावासका चार कर्मचारी निष्कासन

मस्को । रुसले अष्ट्रियाली दूतावासका चार जना कर्मचारीलाई निष्कासन गरेको छ। रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अष्ट्रियाली दूतावासका कर्मचारीलाई ‘सुरक्षा र कूटनीतिक उन्मुक्ति’बाट हटाइएको र उनीहरू रुसमा रहन अयोग्य रहेका भन्दै निष्कासन गरेको हो । मस्कोले निष्कासन गरेका ती कर्मचारीलाई यही फागुन ११ गतेभित्रमा रुस छाड्न आदेश दिएको छ । रुसी विदेश मन्त्रालयले रुसका लागि अस्ट्रियाका राजदूत वर्नर आल्मोफरलाई बिहीबार बोलाएर आफ्ना चार जना कर्मचारी भिएनाले निष्कासन गरेकामा त्यसका विरोध गर्दै त्यति नै सङ्ख्यामा अस्ट्रियाली अधिकारीलाई निष्कासन गरेको जानकारी दिएको हो । साथै मस्कोले अस्ट्रियाको अनुचित कदमबाट द्विपक्षीय सम्बन्धमा गम्भीर क्षति पुगेको जनाएको छ । गत माघ १९ गते अस्ट्रियाले रुसी दूतावासका दुई कूटनीतिज्ञ र संयुक्त राष्ट्र सङ्घका लागि भिएनास्थित स्थायी नियोगका दुई कूटनीतिज्ञलाई अस्वीकार गर्दै कूटनीतिक सुरक्षा एवम् उन्मुक्ति नदिने घोषणा गरेको थियो । कूटनीतिक सुरक्षा एवम् उन्मुक्तिबाट वञ्चित भएपछि कुनै पनि त्यस्ता कूटनीतिक कर्मचारी आतिथेय मुलुकबाट तत्काल आफ्नो देश फर्कने प्रचलन छ । रासस