अस्ट्रेलियाले हजारौं शरणार्थीलाई आवास अनुमति दिने

क्यानबेरा । अस्ट्रेलियाले हजारौं शरणार्थीलाई आवासीय अनुमति दिने भएको छ । अस्ट्रेलियाका अध्यागमनमन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा धारीका लागि स्थायी भिसाको लागि मार्ग प्रशस्त गर्ने आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्न लागेको सोमबार घोषणा गरेका हुन् । जाइल्सले लेबर सरकारको चुनावी प्रतिबद्धता पूरा गर्दै सन् २०१३ भन्दा अघि डुङ्गाबाट अस्ट्रेलिया आएका करिब १९ हजार शरणार्थीलाई दुई प्रकारका अस्थायी भिसामा स्थायी बसोबासका लागि निवेदन दिन अनुमति दिइने बताएका हुन् । यो प्रावधानले शरणार्थीहरूलाई सामाजिक सुरक्षा, सार्वभौमिक स्वास्थ्य सेवा, राष्ट्रिय अशक्तता बीमा योजना, उच्च शिक्षा ऋणमा पहुँच प्रदान गर्दछ र नागरिकताको लागि मार्ग प्रशस्त गर्छ । यसले उनीहरूलाई अष्ट्रेलियामा तत्काल परिवार ल्याउन अनुमति दिन्छ । यस कदमको घोषणा गर्दै जाइल्सले काम गर्ने, कर तिर्ने, व्यवसाय सञ्चालन गर्ने र अष्ट्रेलियालीहरूलाई उनीहरूको भिसा स्थितिका कारण अलपत्र राख्नुको कुनै अर्थ नभएको बताए । ‘स्थायी भिसा नभएका कारण उनीहरूले घर किन्न, व्यवसाय गर्न वा थप शिक्षा हासिल गर्न ऋण पाउन सकेका छैनन्,’ उनले भने ।  ‘आर्थिक वा सामाजिक रूपमा उनीहरूलाई अलपत्र राख्नुको कुनै अर्थ छैन । शरण खोज्ने डुङ्गाहरूको आगमन रोक्ने उद्देश्यले सीमा सुरक्षा अभियान, (अप्रेसन सोभर्न बोर्डर्स) सुरु हुनुभन्दा पहिले अस्ट्रेलिया पुगेकाहरू मात्र बसोबासका लागि योग्य हुनेछन् ।’ यसैबीच, गृहमन्त्री क्लेयर ओनिलले सरकार जारी अपरेशनका लागि प्रतिबद्ध रहेको र डुङ्गाबाट अष्ट्रेलिया आउने जो कोहीलाई पनि अस्ट्रेलियामा बस्न नदिइने बताए । उनले भने, ‘म स्पष्ट पार्न चाहन्छु कि यदि तपाईं वैध भिसा बिना अष्ट्रेलिया प्रवेश गर्न खोज्नुहुन्छ भने, तपाईंलाई फिर्ता पठाइनेछ वा तपाईंको मुख्य बन्दरगाहमा फर्काइनेछ ।’ उनले भने, ‘अपरेसन सोभरेन बोर्डरअन्तर्गत अष्ट्रेलियामा बसोबास गर्ने सम्भावना शून्य छ । अष्ट्रेलियन डिफेन्स फोर्स र अस्ट्रेलियन बोर्डर फोर्सले हाम्रो जलक्षेत्रमा गस्ती गरिरहेका छन् र प्रवेश गर्न खोज्ने कुनै पनि डुङ्गालाई रोक्न र फिर्ता गर्न खोजिरहेका छन् ।’ रासस

आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध

काठमाडौं । न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौं घरहरु विद्युतविहीन हुनुका साथै उडानहरु अवरुद्ध भएका छन् । आपतकालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ संयोजनको कारण देशले व्यापक क्षति व्यहोर्नुपरेको छ । आँधीको अवस्था शुरूमाभन्दा कमजोर भएपनि यसले शहर तथा ग्रामिण क्षेत्रमा व्यापक रूखहरु ढालेको छ, सडकहरुमा क्षति पुर्याएकाे छ र विद्युत लाइन अवरूद्ध भएका छन् । अकल्याण्डसहित उत्तरी पाँच क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ । न्युजिल्यान्डको नर्थ आइल्याण्डमा करिब ५८ हजार मानिस विद्युत्विहीन भएका छन् । अधिकारीहरूले यो सञ्जाल पुनःस्थापित गर्न केही दिन लाग्न सक्ने बताएका छन् । म्याकएनल्टीले भने, ‘जबसम्म मौसम खराब रहन्छ, तबसम्म नेटवर्कमा काम गर्न वास्तवमा असुरक्षित छ । न्युजिल्यान्डको सबैभन्दा ठूलो सहरमा गत महिना आएको बाढीका कारण चार जनाको मृत्यु हुनुका साथै हजारौं मानिस विस्थापित बनेका थिए । उक्त क्षतिको घाउ नमेटिँदै यो अर्को प्राकृतिक विपत्ति आएको छ । नर्थल्याण्ड क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरीले क्षति पुर्‍याएको थियो भने अकल्याण्ड हार्बर ब्रिजमा ११० किलोमिटर प्रतिघण्टाको वेगले आँधीले प्रवेश गरेको थियो । म्याकएनल्टीले भने, ‘सरकारले देशको इतिहासमा तेस्रो पटक राष्ट्रिय आपतकालीन अवस्था घोषणा गर्ने बताइरहेको छ । मेरो विचारमा आपतकालीन अवस्थाको घोषणा गरिहाल्नु पर्दैन । किनकि आँधीको रफ्तार कमजोर भइसकेको छ ।’ मौसमले न्युजिल्यान्डको यातायात सञ्जाललाई पनि तहसनहस पारेको छ, उडान, रेल र बस तालिकाहरू सबै नराम्ररी प्रभावित भएका छन् । एयर न्युजिल्यान्डले हालसम्म ५०९ उडान रद्द गरेको तर मङ्गलबारदेखि सामान्य उडान सुरु हुने अपेक्षा गरिएको जनाएको छ । उक्त विमान सेवालेले १० हजारभन्दा अन्तर्राष्ट्रिय सेवाग्राहीहरू प्रभावित भएको र छ हजार ५०० लाई पुनः टिकट बुक गर्नु परेको बताएको छ । रासस

साउदी अरबले साउदी महिलालाई अन्तरिक्षमा पठाउने

रियाद । साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ । महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल-कर्नीलाई एक्स-२ अन्तरिक्ष मिसनको चालक दलका सदस्यमध्ये अन्तरिक्षमा पठाइनेछ । उनीहरु अन्तरिक्षमा जाने पहिलो साउदी अन्तरिक्षयात्री पनि हुनेछन् । यस कदमको उद्देश्य मानव अन्तरिक्ष उडानमा राष्ट्रिय क्षमता वृद्धि गर्नुका साथै स्वास्थ्य, स्थिरता र अन्तरिक्ष प्रविधि जस्ता क्षेत्रमा वैज्ञानिक अनुसन्धानमा योगदान पुर्याउनु हो । यो कदम साउदी मानव अन्तरिक्ष उडान कार्यक्रमको एक भागको रूपमा हो । यस कार्यक्रममा थप दुई पुरुष र महिला अन्तरिक्ष यात्रीहरूलाई सबै मिशन आवश्यकताहरूमा प्रशिक्षण दिनु पनि समावेश छ । रासस/सिन्ह्वा