विश्वभर श्रमिकको संकट : कामदार भित्र्याउन ३० हजार डलर तलबदेखि ३ वर्षमै नागरिक बनाउने स्कीम
काठमाडौं । अमेरिकामा कामदारको अभाव बढ्दै गएको छ । त्यहाँ रोजगारका लागि खुलेका अधिकांश आवेदनमा भर्ने मानिसहरु छैनन् । १ सय जना कामदार माग भएकोमा औसतमा ३९ जनाको मात्रै आवेदन पर्ने गरेको लिन्ड्से क्याट्सले युएस च्याम्बरमा लेखेकी छन् । अहिले अमेरिकाको पुरै राज्यमा मजदुर अभावले प्रभाव पारेको छ । सन् २०२२ मा २ सय ८१ मिलियन मानिसहरु अन्तर्राष्ट्रिय रुपमा आप्रवासी हुने अनुमान गरिएको र ती मध्ये झण्डै दुई तिहाई अर्थात १ सय ६९ मिलियन श्रकिकहरु रहने फोब्र्सले जनाएको छ । कोभिड-१९ को महामारीले विश्वभर नै दक्ष मजदुरको उपलब्धतामा प्रभाव पारेको तथ्यांकहरुले देखाएका छन् । पछिल्लो समय रुस र युक्रेनबीच भएको युद्धले श्रम बजारमा थप प्रभाव पारेको छ । रसियन एसोसिएशन फर इलेक्ट्रोनिक कम्युनिकेशनका प्रमुख सर्गेई प्लगोटेरेंका अनुसार गएको मार्च २२ सम्म मात्रै ५० हजारदेखि ७० हजार प्राविधिक श्रमिकले रुस छोडे । उनका अनुसार अझै ७० हजार देखि १ लाख सम्म प्राविधिक श्रमिकले रुस छोड्न सक्ने उनको अनुमान रहेको फोब्र्सले उल्लेख गरको छ । रुसका आन्तरिक उपमन्त्री इगोर जुबोवले जुनको अन्तिम समयमा रुसले १ लाख ७० हजार आइटी श्रमिक अभावको सामना गर्नुपरेको बताएका थिए । कन्सल्टिङ अर्गनाइजेसन रिनुअलकी लिडर म्यारी लार्सनले एमएनपीमा यतिबेला क्यानडाका निर्माण कम्पनीहरुले श्रमिकको ठूलो अभाव खेपिरहेको लेखेकी छन् । द बिजनेस डेभलपमेन्ट बैंक अफ क्यानडा (बीडीसी) ले विभिन्न उद्योग, रियल स्टेट र निर्माण कम्पनीहरुमा श्रमिकको अवस्थाको बारेमा सार्वजनिक गरेको रिपोर्टअनुसार ५५ प्रतिशत उद्यमीहरुलाई श्रमिक खरिद गर्न नै समस्या भइरहेको छ भने ६४ प्रतिशत उद्योगीहरुलाई श्रमिकको अभावका कारण आफ्नो विकास गर्न समस्या भइरहेको छ । त्यस्तै सोही बैंकको रिपार्टअनुसार ५० प्रतिशत निर्माण क्षेत्रका व्यवसायीहरुलाई श्रमिक खरिद गर्न नै समस्या भइरहेको छ । ओइसीडी इम्प्लोइमेन्ट आउटलुक रिभ्युको २०२२ संस्करणले कोभिड १९ रिकभरीको लागि श्रम बजार र सामाजिक चुनौतिका विषयलाई समिक्षा गरेको छ । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी) मा आवद्ध मुलुकहरुमा वर्तमानमा रहेको समस्यालाई एक एक देशको गरेर केलाउँदै त्यहाँका सरकारहरुलाई उक्त संस्करणले सुझाव दिएको छ । उक्त रिपोर्टले ओइसीडीमा आवद्ध देशहरुमा २०२२ को आधा समयसम्म श्रमिक बजारमा समस्या क्रमशः न्यूनिकरण हुँदै गएको उल्लेख गरेको छ । त्यस्तै रिपोर्टले ओइसीडी कोभिड महामारीका कारण ५७ मिलियन श्रमिकहरुले रोजगार गुमाएको र कोभिड महामारीपश्चात ६६ मिलियन रोजगार सिर्जना भएको उल्लेख गरेको जनाएको छ । ओइसीडी आवद्ध मुलुकहरुलाई उक्त रिपोर्टले मुद्रास्फीतिको समयमा श्रमिक र रोजगारदाताबीच सामूहिक सौदाबाजीका लागि पहल गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै राम्रो रोजगारीका लागि श्रमिकहरुको क्षमता विकास र उनीहरुलाई प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ । उच्च ऋण र बढ्दो ब्याजको मारमा परेका कम आय भएका वर्गलाई लक्षित गरेर उर्जा र खाद्यान्नमा सहुलियत व्यवस्था मिलाउनुपर्ने उक्त रिपोर्टले सुझाव दिएको छ । ओइसीडी मुलुकमा अस्ट्रिया, बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, जर्मनी, ग्रीस, आइसल्याण्ड, आयरल्याण्ड, इटाली, लक्जमबर्ग, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड, टर्की, युनाइटेड किंगडम र संयुक्तराज्य अमेरिका रहेका छन् । कामदार भित्र्याउन आकर्षक भिसा नीति एलएचएचले पछिल्लो समय विश्वका विभिन्न मुलुकहरुले श्रमिक भित्र्याउनका लागि लिएको नयाँ नीतिबारे आफ्नो रिर्पोटमा उल्लेख गरेको छ । सो रिपोर्टका अनुसार सिंगापुर सरकारले नयाँ मजदुर भित्र्याउनको लागि ३० हजार डलर मासिक पारिश्रमिक पाइने गरी नयाँ विशेष भिसा ल्याउन भएकाे छ । सो भिसामा जब अफरको जरुरत नपर्ने, श्रमिकले आफ्नो पार्टनर पनि लैजान सक्ने र आफ्नै कम्पनी समेत सेटअप गर्न दिने विशेषता रहने जनाइएको छ । आगामी जनवरीबाट सो भिसा खुलाउने एलएचएच रिपोर्टले उल्लेख गरेको छ । जर्मनीले पनि नयाँ कामदार भित्र्याउन विशेष भिसा ल्याउने भएको छ । सो देशले कामदार भिसामा आउने कामदारलाई ३ वर्षमा आफ्नो मुलुकको नागरिकता दिने एलएचएचले रिपोर्टमा उल्लेख गरेको छ । युकेको द नेशनल एकेडेमी फर फुड एण्ड ड्रिंक र ड्रिंक फेडेरेसनले नयाँ श्रमिकलाई लक्षित गरेर आकर्षक भिसा ल्याउन लागेको छ । सो भिसा प्राप्त गर्नका लागि डिप्लोमा तहमा उत्तिर्ण गरेका श्रमिकहरुले अनलाइनमार्फत निःशुल्क प्रशिक्षणमा सहभागी भएर आवेदन प्रकृयामा अगाडि बढ्न सक्छन् । श्रमिक लैजाने पासपोर्ट प्रकृयाका लागि विभिन्न ५७ वटा कम्पनी छनोट भएका छन् । धेरै पर्यवेक्षकहरुले अमेरिकाले ल्याएको ‘इन्फ्लेसन रिडक्सन एक्ट’ म्यानुफ्याक्चरिङ क्षेत्रलाई फाइदा पुर्याउने जनाएको एलएचएच रिपोर्टमा उल्लेख गरिएको छ । सो एक्टमा उच्चस्तरीय श्रमिक र क्लिन फिड इनर्जीसँग जोडिने नयाँ रोजगार सिर्जना गर्ने उद्योगलाई इन्सेन्टिभ दिने व्यवस्था गरिएको छ । विशेषगरेर जिवास्म इन्धन, तेल, ग्यास र कोइला उद्योगमा काम गर्ने कामदारलाई तलव बराबरकै इन्सेन्टिभ प्रयोग गर्ने कुरा उक्त एक्टमा समावेश गरिएको एलएचएच रिपोर्टमा उल्लेख गरिएको छ । त्यसैगरी इट्लीको बैंकिङ र टेलिकम्युनिकेसन क्षेत्रले काम गर्ने कामदारलाई लक्षित गरेर नयाँ स्किम सहितको श्रम नवीकरण र सेवा तथा सुविधाको नयाँ सम्झौता गर्दैछ । चीन, ब्राजिल, युरोपियन ट्रेड युनियन कन्फ्रेडेसन, भारत र नर्वे लगायतका मुलुकले श्रमिकको सेवा सुविधा र सामाजिक सुरक्षाका लागि नयाँ नीतिगत व्यवस्था तथा सम्झौताहरुको पहल गरिरहेका छन् । जसले गर्दा श्रमिकहरुलाई उद्यम क्षेत्रमा जोड्न सहयोग पुर्याउँछ ।
द्विपक्षीय सहयोगका लागि नेपाल र अमेरिकाले आधारशीला तय गर्ने
वाशिङ्गटन डिसी । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी) का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गरेका थिए । साथै, अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न अनुरोध गरे । अर्थमन्त्री शर्माले सूचना प्रविधि, जलावयु परिवर्तनको चुनौती सामना गर्न र नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न आग्रह गरेको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री शर्माले प्रमुख प्रशासक समान्ता पावरलाई उपयुक्त समयमा नेपाल भ्रमणको हार्दिक निमन्त्रणासमेत गरे । यसैगरी पावरले नेपालका अर्थमन्त्रीसँगको भेटघाट फलदायी रहेको, नेपाल अमेरिका साझेदारी र नेपालको प्रजातान्त्रिक अभ्यासको प्रगतिका लागि सहयोग रहने बताएका छन् । सामाजिक सञ्जालमार्फत पावरले लेखेका छन्, ‘तत्कालका चुनौतीको सामना गर्न दुवै देश मिलेर काम गर्न तयार भएका छौं ।’ यस्ता चुनौती जलवायु परिवर्तन र खाद्य सुरक्षा गरेको युएसएआइडीका प्रमुख प्रशासक समान्ता पावरले उल्लेख गरेकी छिन् । उक्त भेटघाट कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा भ्रमणदलमा सहभागी अन्यको समेत उपस्थिति थियो । नेपालको आर्थिक सामाजिक विकासमा युएसएआइडीको महत्वपूर्ण सहयोग रहेको छ । गत मे महिनामा मात्र उक्त नियोगले आगामी पाँच वर्षका लागि नेपाललाई ६५ करोड ९० लाख डलरको सहयोगको घोषणा गरेको थियो । उक्त सहयोग नेपालले आफूलाई अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्न उपयोग गर्नेछ । रासस
दक्षिण कोरियामा अहिले पनि दैनिक तीस हजार भन्दा बढी कोरोना सङ्क्रमित
सोल । दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिने गरेका अधिकारीहरुले जनाएका छन् । यहाँ मङ्गलबार मध्यरातिको तथ्याङ्कअनुसार ३० हजार पाँच सय ३५ जनामा सङ्क्रमण देखिएको हो । अघिल्लो २४ घन्टामा यहाँ त्यो सङ्ख्यामा सङ्क्रमित देखिएका यहाँका स्वास्थ्य अधिकारीहरुले समाचारमा जनाएका छन् ।यहाँ अघिल्लो दिन अर्थात् सोमबारका तुलनामा १५ हजार भन्दा बढी सङ्क्रमित थपिएका हुन् । तर अघिल्लो हप्ता यहाँ ३४ हजार भन्दा बढी सङ्क्रमित देखिने गरेकामा एक दिनमा थपिएकामा त्यो भन्दा कम देखिएको बताइएको छ । गत हप्ता यहाँ दैनिक २० हजारको हाराहारीमा सङ्क्रमितहरु देखिने गरेका थिए । त्यसका तुलनामा अहिले पुनः सङ्क्रमितहरु बढ्न थालेका पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ पछिल्ला दुई दिनमा १५ जना सङ्क्रमितको ज्यान गएको छ । यो समेतगरी यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २७ हजार सात सय २३ पुगेको छ । कारोना भाइरसको सङ्क्रमण सुरु भएदेखि यहाँ दुई करोड ५० लाखभन्दा बढी नागरिकमा सङ्क्रमण भएको बताइएको छ ।