वर्षाका कारण सिड्नीका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी

सिड्नी । केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अस्ट्रेलियाको आपतकालीन सेवाले आइतबार सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको छ । अधिकारीहरुले पूर्वी राज्य न्यू साउथ वेल्समा २४ घण्टामा २८ वटा समूहलाई बाढीबाट उद्धार गरिएको जानकारी दिएका छन् । न्यू साउथ वेल्सको आपतकालीन सेवाका आयुक्त कार्लीन योर्कले आइतबार पत्रकार सम्मेलनमा भने, ‘हाम्रा सडकहरूमा बाढीको अत्यधिक खतरा छ । नदीहरु अझै बढिरहेका छन् र यसका कारण धेरै आकस्मिक सेवाको जरूरी देखिएको छ ।’ सिड्नीको उत्तरपश्चिमी किनारा र ‘न्यू साउथ वेल्स’का अन्य भागका तल्लो भेगका लागि एक दर्जन भन्दा बढी बाढी मुक्त गर्ने आदेश जारी गरिएको आपतकालीन सेवाले जनाएको छ । राज्यका अन्य २० वटा जोखिममा रहेका क्षेत्रहरूमा पनि चेतावनी जारी गरिएको छ । उक्त क्षेत्रमा बर्षाका कारण नदीहरू बढेका र डुवानको समस्या पनि देखिएकोले बाढीको जोखिम क्षेत्रका मानिसहरूलाई सुरक्षितस्थलतर्फ जान भनिएको छ । राज्यको मौसम विज्ञान विभागका अनुसार आइतबार वर्षामा कमी आएको छ तर अझै पनि न्यू साउथ वेल्स तटको भित्री र मध्य भागका नदीहरूमा बाढी कमी आएको छैन । सन् १८५८ मा रेकर्ड राख्न सुरु भएयता सिड्नी शहरमा सबैभन्दा बढी वर्षा भएको अष्ट्रेलियाली मौसमसम्बन्धी निकायहरूले बताएका छन् । गत मार्चमा अस्ट्रेलियाको पूर्वी तट क्विन्सल्याण्ड र न्यू साउथ वेल्समा आएको भीषण आँधीबेहरीपछि आएको बाढीका कारण २० जनाभन्दा बढीको मृत्यु भएको थियो । गत जुलाईमा आएको बाढीका कारण सिड्नीका दशौँ हजार बासिन्दालाई अन्यत्र जान आदेश दिइएको थियो । रासस

दश वर्षमा तिब्बतको वार्षिक कूल ग्राहस्थ उत्पादन वृद्धि दर ९.५ प्रतिशत पुग्यो

एजेन्सी । सन् २०१२ देखि २०२१ सम्म दक्षिणपश्चिम चीनको स्वशासित क्षेत्र तिब्बतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक औसत ९.५ प्रतिशतले वृद्धि भएको छ । यो राष्ट्रिय औसतभन्दा २.९ प्रतिशत बढी हो । क्षेत्रीय विकास तथा सुधार आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सन् २०२१ मा यस क्षेत्रको कूल गार्हस्थ्य उत्पादन २०० अर्ब युआन (करिब २८.१७ अर्ब अमेरिकी डलर) भन्दा बढी पुगेको बताइएको हो । सन् २०२१ मा प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ५६ हजार ८०० युआन नाघेको छ । यससँगै एक दशकको औसत वार्षिक वृद्धि दर ७.६ प्रतिशतले वृद्धि गरेको छ । यो राष्ट्रिय औसतभन्दा १.५ प्रतिशत बढी हो । तिब्बतको औद्योगिक संरचनालाई निरन्तर अनुकूलन गरिएको आयोगका उपनिर्देशक तियान गुआङग्वाले बताए ।

क्राइमियालाई रुससँग जोड्ने पुलमा कारबम विस्फोट

एजेन्सी । सन् २०१४ मा युक्रेनबाट आफ्नो भू–भागलाई गाभेको क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुलमा कारबम विस्फोट भएको मस्को अधिकारीले शनिबार जानकारी दिएका छन् । स्थानीय समयानुसार शनिबार बिहान ६ बजे क्रिमियन पुलको सडक ट्राफिक छेउमा एक कारबम विस्फोट भएको र क्राइमियामा रेलमार्फत सात तेल ट्याङ्करमा आगो लगाइएको रूसी समाचार एजेन्सीले जनाएका छन् । यस बम आक्रमणमा राष्ट्रिय विरोधी तथा आतङ्ककारी समूहलाई आरोप लगाइएको मस्कोका अधिकारीले जानकारी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा निर्माण गरिएको र २०१८ मा उद्घाटन गरिएको यो पुल युक्रेनमा विशेष गरी दक्षिणमा लडिरहेका रुसी सैनिकलाई सैन्य उपकरण लैजानका लागि र साथै त्यहाँ सेना लैजानको लागि एक प्रमुख यातायात साधन थियो । रुसले युक्रेनमा लडाइँ भएपनि पुल सुरक्षित रहेको बताएको थियो ।