नेपाली श्रमिकका समस्या समाधान गर्ने मलेसियाका लागि नवनियुक्त राजदूत पौडेलको प्रतिवद्धता

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका छन् । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका पौडेल कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गरेका हुन् । मलेसियामा राजदूत पौडेलले राजा अब्दुल्लाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नेछन् । दुई लाखभन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दूतावास लामो समय राजदूतविहीन थियो । दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदूत पौडेलले बताए । तलब सुविधा, सीप विकास, आवास, उपयुक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनको भनाइ छ । मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिई श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकाले त्यसतर्फ प्रयास गरिने उनले बताए । मलेसियामा विभिन्न पेसामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए । सन् २०१८ मा भएको श्रम सम्झौता नवीकरणलाई पनि उनले प्राथमिकता दिएका छन् । नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्ध बलियो बनाउने बताउँदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनको मलेसियाका बजारमा प्रवद्र्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कूटनीतिमा समेत जोड दिने उनले बताए । नेपाल-मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई प्राथमिकता दिने उनको भनाइ छ । पौडेललाई गत चैतमा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उहाँ मलेसिया प्रस्थान गरेका हुन् । रासस

डलर र पाउण्डभन्दा पनि महँगो छ कुवेतको दिनार, राष्ट्र बैंकले सञ्चिति गर्छ कि गर्दैन ?

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चितिको अवस्था सुखद नरहेका कारण अहिले मूलतः अमेरिकी डलरको मूल्यबारे चासो व्याप्त छ। नेपाल राष्ट्र ब्याङ्कले शनिवारका लागि डलरको खरिद दर १२९.२९ तोकेको छ जुन अहिलेसम्मै सर्वाधिक हो। नेपालले गर्ने विदेशी मुद्रा कारोबारमा डलरको भूमिका बढी भएकोले पनि सरकारी निकायदेखि सर्वसाधारणमा डलरको मूल्यबारे चासो रहेको पाइन्छ। पछिल्लो विनिमय दरअनुसार अहिले एक अमेरिकी डलरको खरिद १२९.२९ रुपैयाँ र विक्री दर १२९.८९ रुपैयाँ छ। डलरबाहेक ब्रिटिश पाउन्ड, युरो, अस्ट्रेलियन डलर लगायतका विदेशी मुद्राको भाउ धेरैको चासोको विषय रहन्छ। तर अहिले पाउन्डको मूल्य केही घटेको छ। त्यसबाहेक कतार, दक्षिण कोरिया, मलेशिया र साउदी अरब लगायतका नेपालीका लागि प्रमुख श्रम गन्तव्यका रूपमा स्थापित मुलुकहरूको मुद्राको मूल्यबारे पनि बेलाबखत चर्चा हुने गर्छ। तर के तपाईँलाई थाहा छ नेपालमा अमेरिकी डलरदेखि ब्रिटिश पाउन्डभन्दा पनि महँगोमा कारोबार हुने अर्कै कुनै मुद्रा छ ?  नेपाल राष्ट्र बै‌ंकले शनिवारका लागि तय गरेको विनिमय दरअनुसार एक यूके पाउन्ड स्टर्लिङको मूल्य १४३.६५ रुपैयाँ छ भने स्विट्जरल्यान्डको मुद्रा स्विस फ्र्याङ्कको भाउ १३१.८७ रुपैयाँ छ। तर सबैभन्दा महँगो मुद्राका रूपमा भने कुवेतको दिनार सूचीकृत छ जसको मूल्य ४१७.९ रुपैयाँ कायम छ। त्यसपछिको सबैभन्दा महँगो मुद्रामा बहराइनको दिनार रहेको छ जसको बजार मूल्य ३४२.९२ छ। दिनार महँगो हुनुको कारण के हो ?  प्रशस्तै तेल रहेको कुवेत साउदी अरब, इराक र इराननजिकै अवस्थित छ। अमेरिकी डलरदेखि पाउन्डजस्ता मुद्राको कतिपय वस्तु तथा सेवा आयातका लागि अन्तर्राष्ट्रिय बजारमा बढी माग हुन्छ जसले गर्दा ती मुद्रा बलियो भएका छन्। त्यस्तै सेवाको भुक्तानीका लागि पनि ती मुद्राको माग उच्च हुने बताइन्छ। तर केन्द्रीय बैंकका एक पूर्वडेप्युटी गभर्नरका अनुसार कुनै पनि मुद्राको सामर्थ्य आधारभूत रूपमा एउटै मात्र तत्त्वले निर्देश गर्छ जसलाई पीपीपी अर्थात् पर्चेजिङ पाउअर प्यारिटी भनिन्छ। यसको साइनो मुद्रास्फीति अर्थात् बजार महँगीसँग रहेको बताइन्छ। कुनै पनि मुद्राको विनिमय दर १००,२००,३०० भनेको ‘ त्यसलाई डिटरमाइनिङ फ्याक्टर (निर्धारण गर्ने तत्त्व) भनेको त्यो मुद्राको पर्चेजिङ पाउअर ९क्रयशक्ति० बराबर हुन्छ। त्यसलाई सोझो हिसाबले भन्दा एक दिनारको चार डलरजति पर्छ भन्नुको अर्थ कुवेतमा एक दिनारमा कुनै वस्तु पाइन्छ भने अमेरिकामा त्यसको लागत चार डलर पर्छ,ुु नेपाल राष्ट्र ब्याङ्कका पूर्वडेप्युटी गभर्नर कृष्णबहादुर मानन्धरले भने। अर्थतन्त्रको आकार लगायतका पाटाहरूले भने यसमा उल्लेख्य फरक नपार्ने उनको भनाइ छ। ‘दक्षिण कोरिया नेपालभन्दा धेरै विकसित छ। तर सटही दर त्यति बलियो छैन। मुद्राको शक्ति खरिद शक्तिमै भर पर्छ,’ मानन्धरले भने। नेपालमा मात्रै नभएर दिनार विश्व बजारमै महँगो मुद्राका रूपमा स्थापित छ। नेपाली मुद्राको तुलनामा सर्वाधिक महँगो भए पनि नेपालले दिनार सञ्चित भने गर्दैन। बिबिसी

एक अर्काका कर्मचारीलाई काममा नराख्ने अडानी र अम्बानीबीच सम्झौता

काठमाडौं । भारतका अर्बपतिहरु गौतम अडानी र मुकेश अम्बानीबीच ठूलो सम्झौता भएको छ । गौतम अडानीको नेतृत्वमा रहेको अदानी समूह र मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीजले एकअर्काका कर्मचारीलाई काममा नराख्ने सम्झौता गरेको हो । भारतीय सञ्चार माध्यमका अनुसार यी दुवै कम्पनीहरू बीच नो–पोचिङ प्याक्ट यस वर्षको मेदेखि लागू भएको छ । यो उनीहरूको सबै समूहका कम्पनीहरूमा लागू हुने बताइएको छ। यद्यपि, अडानी समूह र रिलायन्स इन्डस्ट्रीज दुवैले प्रतिवेदनमा गरिएका दाबीहरूबारे कुनै टिप्पणी वा पुष्टि गरेका छैनन् । यो नियम लागू भएपछि दुवै समूहले एकअर्काको कर्मचारीलाई आफ्नो कम्पनीमा काम लगाउन पाउने छैनन् । यी दुई समूहको सबै क्षेत्रहरूमा उपस्थिति छ र केही क्षेत्रमा ठूलो प्रतिस्पर्धीका रुपमा रहेका छन् । त्यसैले पनि एकअर्काका कर्मचारी नलिने सम्झौता गरेका हुन् । अडानी समूह पावर, बन्दरगाह, एयरपोर्ट, नवीकरणीय ऊर्जा र सौर्य ऊर्जा क्षेत्रहरूमा फस्टाइरहेको कम्पनी हो र हालै पेट्रोकेमिकल्स क्षेत्रमा प्रवेश गरेको छ, जहाँ रिलायन्स इन्डस्ट्रीज पहिले देखि नै शीर्ष कम्पनीको रुपमा काम गरिहरेको छ । टेलिकममा पनि दुवै कम्पनी एकअर्काको प्रतिस्पर्धी छन् । यति मात्र होइन, भर्खरै सम्पन्न फाइभजी लिलामीमा विश्वको तेस्रो ठूलो मोबाइल नेटवर्क अपरेटर रिलायन्स जियो इन्फोकम सबैभन्दा ठूलो कम्पनीको रूपमा उभिएको छ ।