कमेडियन राजु श्रीवास्तवकाे निधन

काठमाडौं । भारतिय हास्य कलाकार रनजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ ।श्रीवास्तवलाई साउन २५ गते जिममा ट्रेडमिलमा दौडिरहेको बेला हृदयाघात भएपछि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स(एम्स) अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेकै दिन उनको एन्जियोप्लास्टी अपरेसन पनि गरिएको थियो । श्रीवास्तवलाई अस्पतालमा लाइफ सपोर्ट सिस्टममा राखिएको थियो । भेन्टिलेटरमा १५ दिनपछि राखेपछि उनी होशमा आएका थिए । तर, भदाै १६ गते उनलाई १०० डिग्री ज्वरो आएपछि फेरि भेन्टिलेटर सपोर्टमा राखिएको थियो । उनले १९८० को दशकको अन्त्यदेखि मनोरञ्जन उद्योगमा काम गर्न सुरु गरेका थिए । २००५ मा स्ट्यान्डअप कमेडी शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ को पहिलो सिजनमा भाग लिएपछि उनी चर्चामा आएका थिए ।

पाकिस्तानले रुसबाट इन्धन आयात गर्ने

एजेन्सी । पाकिस्तानले रुसबाट थप इन्धन आयात गर्ने सम्भावनाबारे छलफल गरेको छ । प्रधानमन्त्री शेहबाज सरिफ र रुसी राष्ट्रपतिबीच भर्खरै भएको भेटपछि आइतबार एक वरिष्ठ सरकारी अधिकारीले सो छलफल बारे जानकारी दिएका हुन् ।समरकन्दमा भर्खरै भएको सांघाई सहयोग सङ्गठनका क्रममा उनीहरू बीच भेट भएको हो। रुसी पक्षसँगको हालैको छलफलमा तेल आयात गर्ने सम्भाव्यता बारे छलफल भएको र रुसले यस प्रस्तावलाई सकारात्मकरूपमा लिएकोू, भन्ने पाकिस्तानी दाबीलाई एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ । पूर्वप्रधानमन्त्री इमरान खानले अप्रिलमा उनको पदच्युतको पछाडि अमेरिकाको हात रहेको आरोप बारम्बार लगाउँदै आएका छन् । तत्कालीन प्रधानमन्त्री इमरानले ‘स्वतन्त्र विदेश नीति’ अपनाएकामा विशेषगरी रुससँगको सम्बन्धलाई गहिरो बनाएकामा सजाय पाएको बताउँदै आएका छन् । द एक्सप्रेस ट्रिब्यूनका अनुसार शहबाज र पुटिनबीचको भेटपछि रुसी पक्षले जारी गरेको नोटमा इमरान र उनका समर्थकहरूले अमेरिकाको कठपुतलीू सरकार भनेर आरोप लगाउँदै आएको नयाँ सरकारसँग मस्को काम गर्न इच्छुक नभएको कुनै सङ्केत भने दिइएको छैन। रुसी कम्पनी र कुलीन वर्गलाई प्रतिबन्ध लगाएर र अन्यलाई व्यापारिक कालोसूचीमा थपेर युक्रेन विरुद्धको युद्धका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सजाय दिन संयुक्त राज्य अमेरिकाले सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ । पाकिस्तानको मासिक इन्धन आयात जुनमा चार वर्षकै उच्चमा पुग्ने अनुमान गरिएको थियो । देशको इन्धन तेलको आयात मे महिनामा ६३०,००० टन पुगेपछि यो महिना करिब ७००,००० टन पुग्न सक्ने अनुमान छ। आयात पछिल्लो पटक मे २०१८ मा ६८०,००० टन र जुन २०१७ मा ७४१,००० टन पुगेको थियो। यसैबीच, जुनमा अमेरिकाले युक्रेन द्वन्द्वमा रुसलाई सहयोग गरेको भन्दै चीन र पाकिस्तानका ३६ कम्पनीलाई कालोसूचीमा राखेको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले रुसको सैन्य र रक्षा औद्योगिक आधारलाई सहयोग गरेको भन्दै चीनका पाँच कम्पनीलाई व्यापारिक कालोसूचीमा राखेको छ। अल जजीराका अनुसार रूस, युएई, लिथुआनिया, पाकिस्तान, सिंगापुर, बेलाइत, उज्वेकिस्तान र भियतनाम लगायत देशहरूबाट थप ३१ संस्थालाई पनि कालोसूचीमा थपिएको छ । थपिएका ३६ कम्पनीमध्ये २५ वटा चीनमा आधारित रहेर सञ्चालित थिए ।

विहारमा चट्याङ लागेर २१ जनाको मृत्यु

नयाँदिल्ली । भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले आज टेलिफोनमा पुष्टि गरेका छन् । कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो । विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन् । यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेका छन् । साथै उनले राज्यवासी सबैलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गरेका छन् ।