बाबा रामदेबको पतञ्जली आयुर्वेदले पनि आईपीओ ल्याउने, अन्य चार कम्पनीले पनि तयारी गर्दै

नयाँदिल्ली । पतञ्जली आयुर्वेदले पनि छिट्टै आईपीओ सार्वजनिक गर्ने भएको छ । योग गुरु बाबा रामदेवले छिट्टै आईपीओर जारी गर्ने बताएका छन् । योगगुरु बाबा रामदेवद्वारा सञ्चालित पतञ्जली फुड्सकाे भारतमा सेयर  मूल्य १३८० रुपैयाँमा छ । यसरी कम्पनीको मार्केट क्याप ५० हजार करोड नाघेको छ । रामदेवले पतञ्जली फुड्सलाई ऋणमुक्त बनाउनु पर्ने बताएका छन् । उनले यस कम्पनीको विस्तार योजनाका बारेमा पनि छलफल गरेका छन् । ‘बजारबाट पैसा कमाउनु फरक कुरा हो, तर हाम्रो ध्यान पतञ्जली फुड्सलाई ऋणमुक्त कम्पनी बनाउने हो, डिसेम्बर २०२२ सम्म ६ प्रतिशत लिक्विडेट गर्न कम्पनी जुटिसकेको पनि उनले बताएका छन् । कम्पनीले १५ लाख एकडभन्दा बढी जग्गामा पाम खेती गर्ने योजना बनाएको छ । यससँगै कम्पनीले ५ देखि ७ वर्षमा वार्षिक करिब २ हजार करोड रुपैयाँ नाफा कमाउने लक्ष्य लिएको छ । पाम रूखले ४०वर्षसम्म नाफा दिनेछ । यससँगै देश पाम आयलमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्ने जनाएको छ । देशको तीन लाख करोड रुपैयाँ बचत हुने विश्वास कम्पनीको छ । बाबा रामदेवले कम्तीमा ४ कम्पनीले आईपीओ ल्याउने योजना बनाएको बताएका छन् । यो आईपीओ योजनामा पतञ्जली आयुर्वेद, पतञ्जली वेलनेस, पतञ्जली मेडिसिनलगायत पतञ्जलीका अन्य कम्पनीहरू समावेश गर्न सकिनेछ । आगामी वर्षहरुमा आईपीओ ल्याउने कम्पनाीको तयारी छ । अहिले भारतीय सेयर बजारमा पतञ्जली फुड्सको स्टक किनबेच भइरहेको छ । सेयरको मूल्य ५२ हप्ताकै उच्च विन्दुमा पुगेको छ । शेयरको मूल्य १३८०.३५ रुपैयाँमा कारोबार भइरहेको छ । एजेन्सी

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

बेइजिङ । पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र ( सिईएनसि) ले जनाएको छ । यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । यस समाचारको हालसम्म विस्तृत विवरण र भूकम्पबाट भएको धनजन क्षतिको हालसम्म कुनै समाचार नआएको जनाएको छ ।

रुसी सेनाको कारबाहीमा सिरियामा एक सय बीस विद्रोही मारिए

एजेन्सी । रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् । सो समूह अल कायदा आतङ्ककारी समूहसँग आबद्ध रहेको बताइएको छ । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकाहरुले हिंसा मच्चाइरहेका छन् । तिनै समूहका लडाकाहरुलाई लक्ष्य गरेर बिहीबार रुसी सेनाले सिरियाको उत्तरपश्चिमी एक प्रान्तमा हवाई कारबाही गरेको हो । रुसी सेनाको सो हवाई कारबाहीका क्रममा परेर कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् भने अरु केही घाइते भएका छन् । सिरियाली इदलिब नगरको नजिक सो समूहको तालिम केन्द्र सञ्चालनमा रहेको सूचनाका आधारमा सो सैन्य हमला भएको थियो । बिहीबार सो क्षेत्रमा रुसी लडाकू विमानले १४ वटा आक्रमण गरेका थिए । त्यस क्रममा यहाँ रहेको सो तालिम केन्द्रका सामग्रीहरु पनि ध्वस्त भएका थिए भने सो तालिम केन्द्रमा आश्रय लिएर बसेका लडाकाहरु मारिएका थिए ।