भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना

भारत । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको बताइएको छ । छाती दुखेर असहज महसुश भएपछि उनलाई भर्ना गरिएको अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई ऐम्स अस्पतालको मुटुरोगसम्बन्धी समस्या देखिएकोले उक्त अस्पतालको मुटु रोग विभागमा राखेर उपचार सुरु गरिएको छ । पूर्वप्रधानमन्त्री सिंहको प्रारम्भिक जाँचका क्रममा स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी ८७ वर्षको छन् । पूर्वप्रधानमन्त्री सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यसअघि पनि डा.सिंहको मुटुको वाइपास सर्जरी गरिएको थियो । सन् २००९ मा उहाँको मुटुको वाइपास सर्जरी भएको सो अस्पतालले जानकारी दिएको छ । यसपटक छाती दुखेपछि उनलाई आइतबार राति अस्पताल ल्याइएको र अहिले स्वास्थ्य अवस्था सामान्य नै रहेको सो अस्पतालले सोमबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । भारतका एकजना प्रख्यात अर्थशास्त्री मानिनुहुने डा.सिंह हाल राजस्थानबाट भारतीय संसदको माथिल्लो सदनका लागि सांसद हुन् । उनले सन् २००४ देखि सन् २०१४ सम्म लगातार दुई पटकसम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । यसैबीच उनको स्वास्थ्यसम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले चासो व्यक्त गरेका छन् । उनले पूर्वप्रधानमन्त्री डा.सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मुख्यमन्त्री केजरीवालले पूर्वप्रधानमन्त्री डा.सिंहको उपचारमा कुनै कमी हुन नदिन उक्त अस्पताललाई निर्देशन पनि दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । (रासस/एएनआइ)

अमेरिकन आइडलको उत्कृष्ट ७ मा नेपालका दिवेश

काठमाडौं । विश्व प्रसिद्ध रियालिटी शो ‘अमेरिकन आइडल’को उपाधि यात्रामा नेपालका दिवेश पोखरेल उत्कृष्ठ ७ मा पुगेका छन् । आइडलको १८ औं संस्करणको उपाधि यात्रा अगाडी बढ्ने क्रममा दिवेश उत्कृष्ट ७ भित्र पर्न सफल भएका छन् । आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा उत्कृष्ट ७ को छनोट गरिएको हो । २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले आफूलाई प्रतिस्पर्धा गरेका छन् । दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए । अमेरिकन आइडलमा दिवेशको सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा आफ्नो परिवारसँग बस्दै आइरहेका छन् । उनकाे प्रस्तुती हेर्न यहाँ क्लिक गर्नुहाेस् ।   

अमेरिकामा रहेका नेपाली उद्धारको पर्खाइमा

टेक्सस, संयुक्त राज्य अमेरिका ।  शैलेस गिरी नियमित औषधि सेवन गर्छन् । मधुमेह र रक्तचापका बिरामी ५१ वर्षीय उनले औषधि सेवन गर्न थालेको धेरै भयो । औषधि सेवन गर्ने मात्र नभएर गिरीले नियमित इन्सुलिन (सुई) पनि लिने गर्छन् । काठमाडौँको कोटेश्वरका गिरी अहिले अमेरिका छन् । मेरिल्याण्डको बाल्टिमोरमा रहेका छोरालाई भेट्न उहाँ झण्डै पाँच महिनाअघि यहाँ आएका थिए । नेपालबाट अमेरिका आउँदा नै उहाँले नेपाल फर्किने टिकट यही मे ९ को लिएका थिए । तर कोभिड–१९ को महामारीसँगै अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनी फर्किन पाएका छैनन् । घुम्न आएको देश अमेरिकादेखि आफ्नो जन्मभूमि नेपालसमेत लकडाउनको अवस्थामा रहँदा उहाँलाई कसरी नेपाल फर्किने भन्ने चिन्ताले सताएको छ । उनले साथमा ल्याएको औषधि सकिन थाल्यो र हाल ‘भ्रमण भिसा’ मा छन् । उनले स्वास्थ्य बीमासमेत नलिएकाले भविष्यमा आउन सक्ने समस्यालाई लिएर आफू निकै चिन्तित भएको उनले बताए । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दो छ । स्वास्थ्यप्रति संवेदनशील रहँदै गिरी अहिले छोरा बसेको ठाउँबाट आफ्नो साथी भएको ठाउँ नर्थ क्यारोलिनामा बसेका छन् । नर्थ क्यारोलिना तुलनात्मकरुपमा मेरिल्याण्डभन्दा यो कोरोना सङ्क्रमणको दर केही कम देखिएको राज्य भएकाले त्यहाँ गएर एकजना साथीको घरमा बसेको गिरीले बताए । लकडाउन खुल्ने र अन्तर्राष्ट्रिय उडानसमेत चाँडै नै हुने सम्भावना नदेखिएकाले नेपाल सरकारबाट उद्धारको पर्खाइमा आफू रहेको गिरीले बताए । कोभिड–१९ को महामारीकाबीच रोजगारी गुमेपछि ४५ वर्षीया बबिना श्रेष्ठ पनि नेपाल जान चाहन्छन् । झण्डै १२ वर्षदेखि अमेरिकामा बस्दै आएकी बबिना बेरोजगार भएको लामो समय भएकाले नेपाल फर्किन चाहेको बताउँछन् । उनी पछिल्लो पटक करिब ६ महिनाअघि नेपाल गएका थिए । नियमित औषधिसमेत सेवन गर्दै आएकी  बबिना चिकित्सकले ६ महिनापछि ‘फलोअप’ स्वास्थ्य जाँचका लागि आउनु भने अनुरुप नै आफू नेपाल जानेगरी पहिला नै योजना बनाएर पछिल्लो पटक अमेरिका आएका थिए । तर उनको योजना कोभिड–१९ ले असफल बनाइदिएको छ । उनी अहिले समस्यामा परेका छन् । नियमित रोजगारी गुम्यो र अरुतिर काम खोज्दासमेत नपाएपछि आफू बस्दै आएको जर्जियाको एट्लान्टाबाट टेक्सस आफ्नो आफन्तकहाँ बस्दै आएको र नेपाल जाने पर्खाइमा रहेको उनले बताए । ‘‘यहाँ काम पनि छैन, कामबिना अमेरिकामा बस्न कति गाह्रो हुन्छ त्यसैले छिट्टै नेपाल जान पाए हुन्थ्यो’’, उनले भने । भक्तपुरकी २८ वर्षीया पेशाले चिकित्सक स्वस्तिक प्रधानाङ्ग पनि अहिले भर्जिनियामा हुनुहुन्छ । नियमित उडान भएको भए उहाँ गत अप्रिल ३ मा नेपाल फर्किसकेका हुन्थिए । तर अहिले लकडाउनमा परेका छन् । आफ्नो पेशागत क्षेत्रसँग सम्बन्धित परीक्षाका लागि उनी ६ महिनाअघि अमेरिका आएका थिए । तर उनी फर्कन नपाएपछि भिसा थपेर भर्जिनियामा मामाको घरमा बसेका छन् । उनले पनि जतिसक्दो चाँडो नेपाल जान पाए हुन्थ्यो भन्छन् । भक्तपुर मुटु तथा मधुमेह केन्द्रमा कार्यरत डा प्रधानाङ्गले भने, ‘‘तत्काल खुल्ने कुनै सम्भावना देखिँदैन, सरकारले केही गरेर भए पनि फर्कन चाहेका हामीलाई लगे हुने थियो ।’’ उता आयोवामा अध्ययनरत २१ वर्षीय आयाम श्रेष्ठ पनि जतिसक्दो चाँडो नेपाल जान चाहन्छन् । कलेजसमेत बन्द हुँदा श्रेष्ठले कुनै काम गर्न पाएका छैनन् । ‘‘काम पनि छैन, समस्या पनि बढ्दै गएको छ’’ काठमाडौँका श्रेष्ठले भने, ‘‘नेपाल जान पाए धेरै सजिलो हुने थियो फेरि सामान्य कहिले हुन्छ भन्ने यकिन नभएकाले साह्रै समस्या भयो ।’’ बुटवलका कुलबहादुर केसी पनि अमेरिकाबाट नेपाल फर्कन चाहनुहुन्छ । बयासी वर्षकी आमालाई समेत अमेरिका घुमाउन लिएर आएका ५२ वर्षीय कुलबहादुरलाई अब यहाँ घुम्न मन छैन । बरु फर्कने समस्याले चिन्तित छन् । आफ्नो छोरीकोमा आउनुभएका उहाँ अन्य कुनै समस्या नभए पनि आमासमेत आत्तिएकाले जतिसक्दो चाँडो फर्कन पाए हुने थियो भन्छन् । “यसरी नेपाल फर्कन चाहनेहरुले समूह नै बनाएर छलफल, सम्बन्धित निकायमा संवाद र सामूहिक प्रयासको थालनी गरेका छन् । हामीले नेपाल फर्किन चाहनेहरुलाई लैजान नेपाल सरकारसँग सामूहिक रुपमा आह्वान गरिरहेका छौँ” नेपाल जान चाहेनहरुको समूहका एक अभियन्ता शान्तराज बतासले भने । नेपाल सरकारलाई कुनै आर्थिक भार नदिनेगरी आफूहरु नेपाल जान तयार रहेको र नेपाल जानेबित्तिकै सेल्फ क्वारेन्टाइनमा पनि बस्ने उनीहरुको भनाइ छ । नेपाल जान चाहनेहरुले अमेरिकास्थित, नेपाली राजदूतावास, गैरआवासीय नेपाली सङ्घदेखि प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेपालका मन्त्रीसँग संवाद गरिरहेका छन् । अमेरिकाबाट नेपाल जान चाहनेहरुका निम्ति नेपालबाट सहयोगी भूमिका खेलेका इन्जिनीयर शैलेन्द्र गुरागाईंले नेपाल सरकारले चाँडै आवश्यक पहल गर्नुपर्ने बताए । भ्रमण भिसामा अमेरिका पुगेका र छोटो अवधिका लागि त्यहाँ विभिन्न तालिममा पुगेकाहरु बढी समस्यामा परेका छन् । गुरागाईंले भने, “उहाँहरुलाई नेपाल सरकारले जतिसक्दो छिटो लैजानुपर्छ । स्वास्थ्य संवेदनशीलतालाई हेरेर क्वारेन्टाइनमा पनि बस्न उहाँहरु तयार नै हुनुहुन्छ । नेपाल सरकारलाई आर्थिक भार नपर्ने गरी हवाई भाडा तिर्नेदेखि क्वारेन्टाइनका लागि होटलहरुको व्यवस्था गर्नेसम्मको काम गरिसकिएको गुरागाईंले छ ।” औषधि उपचारको समस्यादेखि लिएर भिसाको म्याद सकिने समस्या, भिसाको म्याद बढाएर बस्दा आर्थिक भार थपिने जटिलता, रोजगार गुमेको अवस्था, नेपालबाट पनि आर्थिक सहयोग गर्न नसकिने अवस्थालगायतले गर्दा अमेरिकाबाट नेपाल फर्किने चाहना राख्नेहरु दिनदिनै बढ्दै गएको छ । नेपाल जान चाहनेहरुको तथ्याङ्क लिएर नेपाल सरकारसमक्ष छलफल गर्ने हेतुले गैरआवासीय नेपाली सङ्घ अमेरिकाले नेपाल जान चाहनेहरुको लगत सङ्कलन गरिरहेको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बञ्जाडेले अप्रिल २४ देखि तथ्याङ्क सङ्कलन शुरु गरी मे २ सम्मको तथ्याङ्क नेपालको परराष्ट्र मन्त्रालय, अमेरिकास्थित नेपाली दूतावास र एनआरएनए आइसिसीसमक्ष बुझाइएको बताए । उनका अनुसार यहाँबाट नेपाल जान चाहने ६४१ जनाले नाम दर्ता गरेका थिए । सङ्घले नेपाल जान चाहनेहरुलाई आवश्यक व्यवस्था मिलाउन पहल गरिरहेको एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहले बताउनुभयो । साहले आवश्यक सहकार्यका लागि आफूहरु तयार रहेको बताए । अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले नेपाल जान चाहनेहरुको विषयमा छलफल भइरहेको बताए । डा कार्कीले नेपाल फर्किन चाहनेहरुको स्वास्थ्यदेखि लिएर हरेक पक्षबाट छलफल भइरहेको र यसका लागि दूतावास सकारात्मक रहेको बताए । राजदूत डा कार्कीले यो विषय नेपाल सरकारको निर्णयमा भरपर्ने भएकाले सरकारको निर्णयअनुरुप अघि बढ्नुपर्ने बताए । उनले अमेरिकामा रहेका नेपालीलाई कुनै समस्या भए दूतावासमा सम्पर्क गर्न आग्रह पनि गरेका छन् । “अमेरिकामा समस्यामा परेका नेपालीप्रति हामी चिन्तित छौँ, हामीले के सक्छौँ सहयोग गर्नेछौँ”, उनले भने ।