फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या घट्दो

पेरिस । फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् । यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र निधन भएको छ । यहाँ गएको दुई दिन देखि लगातार रुपमा मृतकको संख्या घटेको हो । प्राप्त समाचारअनुसार यहाँ गत मंगलबार ३४८ जनाको ज्यान गएको थियो । तर त्यसपछि बुधबार र बिहीबार पनि यो संख्यामा कमी आएको छ । यो अवस्थालाई फ्रान्सका अधिकारीहरुले खुशीको खबर भनेका छन् । उनीहरुले पछिल्लो समयमा फ्रान्समा जारी रहेको कडा लकडाउनका कारण यहाँको अवस्थामा सुधार हुन लागेको बताएका छन् । साथै यस हप्ता यहाँ अस्पतालमा भर्ना हुने नागरिकको संख्यामा पनि नाटकीय रुपमा कमी आएको बताइएको छ । फ्रान्समा बुधबारसम्मको तथ्यांकअनुसार यहाँ २७ हजार ७४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । साथै यहाँ संक्रमित हुने र अस्पताल भर्ना हुनेको संख्यामा पनि यो हप्ता कमी आएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले यहाँका विरामी भएर अस्पताल आउनेहरुमध्ये मंगलबारको तुलनामा बुधबार संख्या घटेको बताएको छ । मंगलबार यहाँका अस्पतालहरुमा भर्ना हुने २१ हजार ७५ जनामात्र रहेको यहाँको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । उक्त मन्त्रालयले जनाएअनुसार यसको अघिल्लो दिन अर्थात सोमबार मात्र २१ हजार ५९५ जना विरामी अस्पताल भर्ना भएका थिए । यसरी अस्पताल भर्ना हुने संक्रमितको संख्या यो हप्ता घट्दै गएको बताइएको छ । यो समाचार तयार पार्दासम्म फ्रान्समा कोरोना संक्रमणबाट १ लाख ७८ हजार संक्रमित भएका छन् । साथै यहाँ यो संक्रमणबाट कुल मृतकको संख्या २७ हजार ७४जना पुगेको छ । फ्रान्समा मृतक संख्या पनि क्रमिक रुपमा घट्दो छ । उपचार पछि निको भएर फर्किएकाको संख्या ५८ हजार ६७३ रहेको छ । साथै यहाँको अस्पतालमा अहिलेसम्म ९२ हजार ३१३ जना रहेका छन् । रासस/एएफपी

मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु

पुब्ला । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना जीवनमरणको दोशाँधमा रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ स्थानीय सरकारले जनाएको छ । मदिरा सेवन गरेपछि ती मानिसहरु वान्ता गर्ने र टाउको दुख्ने समस्याबाट ग्रसित भएका थिए । स्थानीय अधिकारीहरुले कोरोनाभाइरस महामारीका कारण बजारमा बियर र अरु प्रशोधित मदिरा पाइन छाडेको छ । त्यही कारण मानिसहरुले मिसावटयुक्त मदिरा सेवन गरेको बताइएको छ । गत महिना पनि अखाद्य मदिरा सेवन गरेका कारण पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो । रासस–एएफपी

अमेरिकाले लगायाे चीनले सहयोग गरेकाे ह्याकरले अनुसन्धान ‘चोर्न खोजेको’ आरोप

काठमाडाैं । अमेरिकाले कोरोनाभाइरस नियन्त्रणका लागि आफ्नो देशमा भइरहेका खोप र उपचारबारेका अनुसन्धान चीनले चोर्न खोजेको आरोप लगाएको छ । अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआई तथा साइबर सुरक्षा निकायले कोभिड -१९ बारे अध्ययन गरिरहेका अमेरिकी संस्था र औषधि उत्पादक कम्पनीहरूमा चीनले सघाएका ह्याकरहरूले आक्रमण गरेको विषयमा अनुसन्धान गरिरहेको बताएका छन् । कोरोनाभाइरसको उत्पत्ति र महामारी फैलिएको विषयमा चीन पारदर्शी नभएको भन्दै ट्रम्प प्रशासनले पटकपटक चीनको आलोचना गर्दै आएको छ । दुवै देशले एकअर्कालाई उक्त प्रकोप नियन्त्रण गर्ने कार्यमा असफल भएको भन्दै आरोप लगाइरहेका छन्। कोभिड-१९ बाट विश्वभरि ४३ लाखभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा सङ्क्रमितमध्ये ८४ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। चीनमा ४ हजार ६सय जनाले ज्यान गुमाएको बताइएको छ । एफबीआई र साइबर सुरक्षासम्बन्धी निकायले बुधवार संयुक्त रूपमा सम्भावित डिजिटल ह्याकबारे चेतावनी जारी गरेका हुन् । लोक कल्याणकारी विज्ञापन भनिएको उक्त चेतावनीमा स्वास्थ्य सेवा, औषधि उत्पादन गर्ने कम्पनी र कोभिड-१९ का विषयमा अनुसन्धान गरिरहेका कम्पनीहरू ह्याकरहरूको मुख्य निसानामा रहेको उल्लेख गरिएको छ । यसै हप्ताको आरम्भमा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले कोभिड-१९को उपचार र खोप बारे अनुसन्धानका विषयमा आफूहरूले नेतृत्व गरिरहेको बताउँदै बिनाप्रमाण चीनलाई आरोप लगाउनु अनैतिक रहेको बताएका थिए । गत सोमवार नियमित पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि चीनको कथित साइबर गतिविधितर्फ सङ्केत गरेका थिए । (बिबिसी)