दशगजा क्षेत्रमै खानाबस्ने व्यवस्था

चन्द्रौटा । भारतका विभिन्न क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका नेपाली नागरिकलाई नेपाल–भारत दशगजा क्षेत्रमै खाना र बस्नका लागि व्यवस्था मिलाइएको छ । कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका नागरिकलाई नेपाल प्रवेश गर्न नदिएपछि उनीहरुलाई दशगजा क्षेत्रमै खाना र बस्नको व्यवस्था गरिएको हो । कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले सीमामा अलपत्र नागरिकका समस्या पहिचान गरी दशगजा क्षेत्रमा पुगेर नगर क्षेत्रभित्रका सीमामा रहेका नेपालीलाई खाना र पालको व्यवस्था गरिएको बताए । त्यस्तै सीमामा पर्ने महाराजगञ्ज नगरपालिकाले पनि सीमामा रहेका नागरिकलाई खाना र बस्नको व्यवस्था गरेको नगरप्रमुख अब्दुल कलामले जानकारी दिए । रोजगारीका सिलसिलामा भारतका विभिन्न ठाउँमा पुगेका नेपाली कोराना भाइरसको संक्रमणको जोखिम बढेपछि नेपाल प्रवेश गर्न थालेका हुन् । भारतले नेपाल पठाउने र नेपालले प्रवेश गर्न नदिँदा उनीहरु सीमा क्षेत्रमै त्रिपाल टाँगेर बस्न बाध्य छन् । जिल्लाका कृष्णनगर, भिल्मीमा चाकरचौडामा हरदौनामा र मर्दादपुरमा गरी ३०७ नेपाली नागरिक सीमा क्षेत्रमा रहेको कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताए । पछिल्लो समयमा भारतीय प्रहरी तथा सीमा सुरक्षा बलले भारतबाट नेपाल आउने नेपालीका लागि खुकुलो गरेका कारण लुकिछिपी आउनेको संख्या बढेको छ । आफूहरुलाई भारतीय प्रहरीले नै नेपाल जान भनी पठाएको मायादेवी गाउँपालिकाका बुद्धिराम रैदासले भने । दशगजा क्षेत्रसम्म आएका नागरिकका विषयमा भारतीय प्रहरीसँग छलफल भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । रासस

बहराइनमा थप ८८ जना नेपालीमा देखियाे कोरोना

काठमाडाैं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा थप ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको हाे । हालसम्म २४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १५७ थियो । दूतावासका अनुसार मङ्गलबारसम्म बहराइनमा एक हजार ९५० मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणबाट निदान प्राप्त गरी डिस्चार्ज हुनेको सङ्ख्या पनि एक हजार ७६२ पुगेको छ । बहराइनमा कोरोना सङ्क्रमणबाट आठ जनाको मात्र ज्यान गएको छ । बहराइनले हालसम्म एक लाख ५५ हजार ५०१ जनामा कोरोना परीक्षण गरेको छ । ठूलो सङ्ख्यामा नेपालीमा कोरोना सङ्क्रमण देखिएपछि दूतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउन सबैलाई आग्रह गरेको छ । कुनै स्वास्थ्य समस्या आइपरे तत्कालै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । बहराइनमा रहेका नेपालीले भोग्दै आएको समस्या समाधान गर्न दूतावासले अनलाइन फारम भर्ने व्यवस्था गरेको छ । दूतावासले फाराममा उल्लेखित विवरण भरेर सहयोग गर्न सबै नेपालीलाई आग्रह गरेको छ । बहराइनले अवैधरुपमा बसोवास गर्दै आएका आप्रवासीका लागि वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० सम्म आममाफी दिएको छ । सङ्क्रमण नियन्त्रण नहुँदासम्म पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको भन्दै दूतावासले बहराइन सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न पनि नेपालीलाई सचेत गराएको छ । रासस

सामाजिक दुरी उल्लंघन गरे भन्दै सरकार प्रमुखले दिए राजीनामा

काठमाडौं । सामाजिक दुरीको उल्लंघन गरेको भन्दै बेलायतका सरकारका प्रमुख सल्लाहकार प्रोफेसर नील फर्ग्युसन स्वयंले पदबाट राजीनामा दिएका छन् । बेलायत सरकारका प्रमुख सल्लाहकार रहेका प्रोफेसर फर्ग्युसनले राजीनामा घोषणा गर्दै भनेका छन्, ‘मबाट गलत भएको कुरा म स्वीकार गर्दछु । त्यसैले मैले पद त्याग गरेको छु । कोरोना नियन्त्रण गर्न सामाजिक दुरी आवश्यक रहेको स्पष्ट सन्देश दिइएको छ, तर मैले त्यसलाई बेवास्ता गरें, मलाई अपसोस छ ।’ लण्डनको डेली टेलिग्राफ पत्रिकाले एक रिपोर्ट छापेको थियो जसमा भनिएको थियो – प्राध्यापक निलले एक महिलालाई आफ्नो नजिक आउन दिएका थिए जुन सामाजिक दूरी नियमको उल्लंघन थियो । प्रोफेसर फर्ग्युसन ‘सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालिसिस’को निर्देशन हुन् । यो संस्थाले सरकार र विश्व स्वास्थ्य संगठनलाई अप्रिmकामा इबोलादेखि लिएर हालको कोरोना महामारीसम्म सल्लाह दिँदै आएको छ । यही संस्थाले गत जनवरी महिनामा विश्वलाई कोरोनाको महामारी फैलिने चेतावनी सबैभन्दा पहिले दिएको थियो । त्यतिबेलै प्रोफेसर फर्ग्युसनको टिमको अनुसन्धान रिपोर्टमा तत्काल कुनै कदम नचालिएमा बेलायतमा कोरोनाबाट करिब पाँच लाख जनाको ज्यान जाने निष्कर्ष निकालिएको थियो । उनैको सल्लाहअनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले २३ मार्चदेखि देशभर लकडाउन घोषणा गरेका थिए ।