कोरोना विरुद्धको औषधी र खोप पत्ता लगाउने काम कहाँ पुग्यो ?
काठमाडौं । अंग्रेजी नयाँवर्ष २०२० सँगै सुरुभएको कोरोना भाइरस (कोभिड १९) माहामारीका कारण यो समाचार तयार गर्दासम्ममा २ लाख भन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने ३० लाख भन्दा धेरै संक्रमित भैसकेका छन् । तर, पनि हालसम्म कोभिड १९ को कुनैपनि औषधी पत्ता लाग्न सकेको छैन । अहिलेको चिकित्सा विज्ञान कोरोनाको विरुद्धमा औषधीको खोजिकार्यमा अहोरात्र लागिरहेको छ । त्यसो भए कहाँ पुग्यो त कोरोना भाइरस विरुद्धको औषधी खोजिकार्य ? अहिलेसम्म विश्वभरमा १ सय ५० भन्दा धेरै प्रकारका औषधीहरुको परीक्षण भैसकेको छ । जसमा धेरैजसो औषधी विभिन्न रोगहरुमा अहिले पनि प्रयोगमा रहेकाहरु नै हुन् । विश्व स्वस्थ्य संगठन (डब्लुएचओ) ले परीक्षणलाई उपयोगी बनाउन सोलिडेटरी ट्रायल कमिटी नै गठन गरेर अनुसन्धान सुरु गरेको छ । डब्लुएचओ लगायत अन्य संस्था तथा देशले समेत विभिन्न परीक्षणहरु गरिरहेका छन् । यस्तो परीक्षणमा बेलायत अरुभन्दा केही अगाडि रहेको मानिन्छ । बेलायतले गरेको दाबी पत्याउने हो भने उसको रिकबरी ट्रायल सबैभन्दा धेरै रहेको छ । यो परीक्षणमा ५ हजारभन्दा धेरै बिरामीहरुलाई समावेश गरिएको बेलायतको दाबी छ । अहिलेसम्म तीन प्रकारका औषधीहरुको प्रयोग तथा परीक्षण गरिसकिएको छ । १. प्रतिरोधी औषधी (एन्टिबडी ड्रग) यस्ता औषधीहरुले शरीरमा रहेका भाइरसहरुसँग लडेर भइरसको उत्पादन रोक्ने, निस्कृय बनाउने, शरीरबाट भगाउने कार्य गर्दछ । प्रभावकारिता, प्रयोग तथा त्यसबाट उत्पन्न हुने नकारात्मक प्रभाबलाई आधार मान्दा यो प्रविधिको औषधीहरु सुरक्षित मानिन्छन् । भइरसमा हुने तिब्र अनुबांसिक परिवर्तन गर्नसक्ने क्षमताका कारण यस्ता प्रकारका औषधीहरु बनाउन भने अत्यन्त कठिन रहेको जानकारहरुको भनाइ छ । २. रोग प्रतिरोधी क्षमताको उपयोग यस्ता औषधीहरुले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पूर्णरुपमा भाइरसको विरुद्धमा प्रयोग गर्ने गर्दछ, जसबाट रोग प्रतिरोधी क्षमताको उच्चतम प्रयोग भै भाइरस निस्कृय गर्ने गर्दछ । यो प्रकारका औषधीहरुको धेरै ठुलो मात्रामा नकारात्मक असरसमेत रहेको छ । रोग प्रतिरोधात्मक क्षमताको उच्च प्रयोगका कारण प्रतिरोधी क्षमता सिथिल हुने, जसले गर्दा अन्य संक्रमणको जोखिम बढ्ने खतरा रहन्छ । यसैकारण विराबीलाई अन्य गम्भिर प्रकारको रोग समेत लाग्न सक्तछ । ३. प्लाज्मा थेरापी कुनैपनि भाइरसको संक्रमणबाट ठिक भएका व्यक्तिको शरीरले रोग प्रतिरोधात्मक क्षमताका कारण रगतमा विषेश प्रकारको प्रोटिनको उत्पादन गर्दछ । जसमा संक्रामक भइरसलाई निस्तेज गर्न वा मार्न सक्ने क्षमता विकाश भएको हुन्छ । एन्टिबडी रहेको रगतको उक्त भागलाई कनब्यालेसेन्ट प्लाज्मा भनिन्छ । कनब्यालेसेन्ट प्लाज्मालाई जम्मा गरेर अन्य बिरामीको उपचारमा प्रयोग गर्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनका चिकित्सक डाक्टर ब्रुश आइल्बडका अनुसार कोरोना भाइरसको विरुद्धमा अहिलेसम्म धेरै किसिमका औषधीहरुको परीक्षण गरिएको छ । मलेरियाको औषधी हाइड्रोअक्सी क्लोरोक्विन, एचआइभीको लागि प्रयोग हुने लोपिनाभिर तथा रिटोनाभिर, कनब्यालेसेन्ट प्लाज्मालगायतको प्रयोगशाला परीक्षणका क्रममा सकारात्मक परिणाम नदेखिए पनि बिरामीको उपचारको क्रममा भने परिणाम निरासाजनक नै रहेको छ । अहिलेसम्म परीक्षण गरिएका औषधीहरु मध्ये एउटा मात्र औषधी इबोला भाइरसको बिरुद्धमा प्रयोग हुने रेमडेसिभिर प्रभाबकारी रहेको आफूले चीनको निरिक्षण भ्रमणका पाएको, रेमडेसिभिरले अन्य खतरनाक भाइरसजन्य सार्स, मर्सलगायतका स्वासप्रस्वाससँग संबन्धित रोगहरुमा समेत काम गर्ने गरेको, इबोला भाइरसको बिरुद्धमा प्रयोग हुने रेमडेसिभिरले जनाबरमा गरिएको परीक्षणमा कोरोना भाइरसको विरुद्धमा समेत प्रभावकारी रहेको भर्खरै वहिरिएको सिकागो विश्व विद्यालयको अनुसन्धानको रिपोर्टबाट समेत थप प्रमाणित भएको डाक्टर ब्रुश आइल्बर्ड बताउँछन् । कोरोना भाइरसको बिरुद्धमा अहिलेसम्म प्रयोग भएका औषधीहरु पहिलेदेखि नै अरु संक्रमणको उपचारमा प्रयोग भएका औषधीहरु हुन् । कोरोना भाइरस कोबिड १९ को लागि भनेर अहिलेसम्म नयाँ औषधी तथा खोपको विकास भने हुन सकेको छैन । नयाँ औषधीको निर्माणमा धेरै परीक्षण भैरहेको भएपनि अहिलेसम्म एउटाले मात्र पहिलो चरणको परीक्षणमा सफल भै दोस्रो चरणको परीक्षण सुरु भएको छ । अझ खोपको कुरा गर्ने हो भने त अहिलेसम्म कोरोना भाइरस बिरुद्धको खोपको निर्माण कार्यको काम सुरु नै भएकै छैन । खोप निर्माणको लागि शून्यबाट काम सुरु गर्नुपर्ने अवस्था रहेको छ । (अन्तराष्ट्रिय संचारमाध्यमहरुको सहयोगमा)
युरोपमा लकडाउन खुकुलो बनाउन पहल शुरु
म्याड्रिड । कोरोनाभाइरसको महामारीको खतरा केही मत्थर भएको जनाउँदै युरोपेली मुलुकहरुले हाल जारी गरिएका कडा प्रतिबन्धलाई केही खुकुलो बनाउने योजना आइतबार अघि सारेका छन् । सरकारले प्रतिबन्धलाई खुकुलो बनाउने जनाएलगत्तै ४८ दिनदेखि कैदीझैं घरभित्र बस्न बाध्य स्पेनी नागरिकहरु पहिलोपल्ट जगिङ गर्न, साइकल कुदाउन र रोलरस्केटमा हुँइकिन सडकमा देखिएका छन् । विश्वभर कोरोनाभाइरसबाट २ लाख ४२ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ३४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यहीबीच युरोप र संयुक्तराज्य अमेरिकाका केही भागमा प्रतिबन्धहरु खुकुलो बनाउन थालिएको छ । कोरोनाभाइरसको संक्रमण रोक्न विश्वको आधाभन्दा बढी जनसंख्यालाई लकडाउनमा राखिएको छ भने विश्व अर्थतन्त्रमा व्यापक मन्दी छाएको छ । संक्रमणको फैलावट नियन्त्रणमा आएको संकेत देखिएसँगै युरोप र संयुक्तराज्य अमेरिकामा केही सातादेखि बन्द रहेका उद्योग व्यवसाय खोल्न थालिएको छ । लकडाउनमा बन्धकझैं जीवन बिताउनु परेका मानिसले जनजीवन खुकुलो बनाउन दिनहुँ दबाब दिएपछि सरकारहरुले पनि बैकल्पिक सोच अघि सारेका छन् । विश्वमै कोरोनाभाइरसका कारण ठूलो संख्यामा नागरिक गुमाएको इटालीमा दुई महिनाको लकडाउनपछि सोमबार मानिसहरूलाई पार्कमा घुम्न र आफन्तहरूलाई भेट्न अनुमति दिइने छ । रेस्टुरेन्टबाट खानेकुरा किनेर लैजान पाइने छ भने ठूला होलसेल स्टोरहरूले व्यवसाय पुनः सुरु गर्न सक्नेछन् । हंगेरीमा केही स्टोरहरू र संग्रहालयहरू, रेस्टुरेन्ट र होटलहरूको बाहिरी ठाउँ, समुद्र तट र नुहाउने ठाउँ सोमबारदेखि पुनः खोल्न पाइने छ । तर राजधानी बुडापेस्टमा प्रतिबन्धहरु यथावत रहनेछ किनभने यहाँ देशभित्र कोरोना संक्रमितको कूल संख्याको झण्डै ७० प्रतिशत घटनाहरू रेकर्ड गरिएको छ । जर्मनीमा पनि यस साताको शुरुदेखि नै लकडाउनलाई अझ खुकुलो पारिँदैछ । केही क्षेत्रका स्कूलहरू फेरि खोल्ने अपेक्षा गरिएको छ भने स्लोभेनिया र पोल्याण्डमा केही व्यवसाय र सार्वजनिक ठाउँहरूमा मानिसलाई जमघट हुन दिइने छ । फ्रान्सले आगामी मे ११ पछि आंशिक रूपमा आफ्नो लकडाउन खुकुलो बनाउने जनाएको छ । स्वास्थ्य विशेषज्ञहरूले सामान्य लापरवाहीले पनि यो रोग पुनः फैलिने खतरा औंल्याएसँगै युरोपेली सरकारहरुले सामाजिक दूरीलाई कडाईका साथ पालना गर्ने, मास्कको प्रयोग अनिवार्य गर्ने तथा बढीभन्दा बढी परीक्षण गर्नेमा जोड दिएका छन् । इटालीका आपतकालीन सेवाका कर्मचारी डोमेनिको आर्कुरीले ‘हामीले सामाजिक दूरी कायम गर्नुपर्छ, स्वच्छताको स्तर कायम गर्नुपर्छ, र मास्कको प्रयोग बढाउनु पर्छ’ भने । चिन्ताका बाबजुद शनिबार स्पेनमा लकडाउन खुकुलो पारिएसँगै मानिसहरुमा खुशी छाएको थियो । सात हप्तादेखि सरकारले लगाएको कडा प्रतिबन्धका कारण घरभित्रै बस्न बाध्य नागरिकहरु व्यायाम गर्न र स्वतन्त्र रुपमा हिँडडुल गर्न पाउँदा खुशीले रमाएका थिए । कोरोनाभाइरसकै कारण स्पेनमा २५ हजारभन्दा बढी नागरिकको ज्यान गएको थियो । उता, संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसका कारण लकडाउनमा बस्न विवश नागरिकहरुले नेताहरुमाथि जनजीवनलाई सहज तुल्याउन दबाब दिइरहेका छन् । अमेरिकामा उद्योग व्यवसाय बन्द हुँदा करोडौं मानिस बेरोजगार भएका छन् भने लकडाउनको विरोधमा प्रदर्शनहरु भइरहेका छन् । हतियार सहितका केही प्रदर्शनकारीको भीडले न्यु ह्याम्पशायर र केन्टकीमा लकडाउन विरुद्ध चर्काे विरोध प्रदर्शन गरेको छ जबकि क्यालिफोर्नियाको हन्टिङ्टनको समुद्री बीचमा केही सर्फरहरूले स्थानीय सुरक्षाकर्मीको आदेशको समेत बेवास्ता गरेका थिए । ‘सर्फिङ यहाँको अत्यावश्यक व्यवसाय हो’ २५ वर्षे टोडले एएफपीलाई बताए । संयुक्तराज्य अमेरिकामा विश्वमा सबैभन्दा बढी कोरोनाभाइरसका कारण मानिसको मृत्यु भएको छ र राष्ट्रपति डोनाल्ड ट्रम्प आर्थिक पीडा कम गर्न निकै उत्सुक देखिनु भएको छ । अमेरिकाका कतिपय क्षेत्रमा महामारीको असर कम हुँदै गएको देखिएको छ । न्यूयोर्कस्थित सेन्ट्रल पार्कमा निर्माण गरिएको आपतकालीन फिल्ड (अस्थायी) अस्पताल बन्द गर्न लागिएको छ । अमेरिकाका जेलमा संक्रमणको ठूलो लहर देखा परेको अधिकारीहरुले बताएका छन् । अमेरिकी कारागारमा हाल २३ लाख कैदीबन्दी छन् । रासस
६ महिना भित्र कोरोना भाइरसको औषधि तयार हुन्छः प्राध्यापक डा. दास
काठमाडौं । कोरोना भाइरसको औषधी ६ महिना भित्र तयार हुन बताएका छन् । यसअघि पनि जडीबुटीबाट नै हर्वल सेनेटाइजर बनाएको जानकारी दिदै कोरोना भाइरस रोक्न विश्वभर औषधिको खोजी भइरहेको थियो । नेपालमा पनि केहि गर्नुपर्छ भन्ने सोच सहित अभियानमा लागेको र अब ६ महिना भित्र कोरोना नियन्त्रणको औषधी तयार गर्ने प्राध्यापक एवंम बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत रहेका डा. दासले जानकारी दिएका छन् । उनले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी गरेका थिए । विभिन्न जडीबुटी खोजि गरेर संस्थानको प्रयोगशालामा औषधी बनाउने काम भैरहेको दासले बताए । विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि विभिन्न जडीबुटीहरुको प्रयोग गरेर औषधी बनाउने काम भइरहेको छ । औषधि निर्माण गर्न सरोकारवालाहरुसँग समेत कुराकानी गरेर विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेकोले ६ महिना भित्र सफल हुने दासले विश्वास व्यक्त गरे ।