सामाजिक सञ्जाल ट्वीटरमा राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध

वासिङ्टन । सामाजिक सञ्जाल ट्वीटरले आफ्नो प्लेटफर्मबाट राजनीतिक विज्ञापन स्वीकार नगर्ने बुधबार घोषणा गरेको छ । राजनीतिक व्यक्तिहरुबाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुने गरेको भन्दै सबै क्षेत्रबाट चासो व्यक्त भएपछि उक्त निर्णय गरिएको ट्वीटरले जनाएको छ । ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले ट्वीट गर्दै इन्टरनेट विज्ञापन निकै सशक्त र ज्यादै प्रभावकारी देखिए पनि यो शक्तिलाई राजनीतिक व्यक्तिहरुले दुरुपयोग गर्ने सम्भावना बढी देखिएको बताएका छन्र । उनले यही हतियारका आधारमा लाखौं जनतालाई मतदानका बेला दिग्भ्रमित पार्ने खतरा रहेको उल्लेख गरे । अर्को सामाजिक सञ्जाल फेसबुकमाथि पनि राजनीतिक विज्ञापन गर्नुअघि तथ्य–जाँच गर्न तिब्र दबाब परेको छ । डोर्सेले नयाँ नीति बमोजिम राजनीतिक मामिलाका साथै उम्मेदवारका सबै विज्ञापनमाथि रोक लगाइने छ । उनले अर्को महिना विज्ञापनसँग सम्बन्धित विस्तृत विवरण सार्वजनिक गरिने र आगामी नोभेम्बर २२ देखि यो नीति लागू हुने पनि उनले जानकारी दिएका छन् । तर फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले राजनीतिक विज्ञापन फेसबुकका लागि ठूलो आम्दानीको स्रोत नभएको बताउँदै राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउँदा बहालवाला राजनीतिक व्यक्तिलाई नै फाइदा पुग्ने दाबी गरेका छन् । प्रतिबन्धले स्वतन्त्र र नयाँ “आवाज”लाई दबाउने जुकरबर्गको तर्क छ । तर, डोर्से भने जुकरबर्गको तर्कसँग सहमत छैनन् । डोर्सेले कुनै राजनीतिक विज्ञापन बेगर पनि ठूला र धेरै सामाजिक अभियानहरु सञ्चालनमा आएको बताए । “अमेरिका र विश्वकै लोकतन्त्रको रक्षाका लागि यो सही निर्णय हो,” सन् २०१६ की राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले ट्वीट गरेकी छिन् । “फेसबुकको भनाई के छ ?” क्लिन्टनले प्रश्न गरिन् । रासस

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, साठी भन्दा बढी यात्रुको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा बिहीबार बिहान गुडिरहेको एउटा रेलमा आगलागी हुँदा साठी भन्दा बढी यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा अरु कैयौँ घाइते भएका स्थानीय यातायात अधिकारीहरुले जानकारी दिएका छन् । पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको प्रहरीको प्रतिवेदनमा जनाइएको छ । रेलमा रहेका यात्रुको सिलिन्डर विस्फोट भएका कारण उक्त आगलागी हुन पुगेको अनुमान गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् । तर यसको आधिकारिक पुष्टि भने भएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीको क्रममा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने जल्न नपाएको बताइएको छ । यस घटनामा घाइते भएकाहरुको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने आशङ्का गरिएको पनि समाचारमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा

करिब छ अर्ब लगानीमा मुग्लिन–पोखरा सडक चार लेनको बनाइने

काठमाडौं । दुई लेनको मुग्लिन–पोखरा सडक अब चार लेनको बन्ने भएको छ । सरकारले पाँच अर्ब ९० करोड रुपैयाँको लगानीमा उक्त राजमार्गलाई चार लेनकाे बनाउने भएको हो । राजमार्गलाई विस्तार गर्न यशियाली विकास बैंक (एडिबी)ले  १९ करोड ५० लाख रूपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ । एडिबीको प्रधान कार्यालय मनिलाबाट जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले बैंकले उक्त ऋण रकम स्वीकृत गरेको हो । भारत र बङ्गलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रुपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पुर्याउन सजिलो मात्र नभई ढुवानी खर्चमा समेत कमी आउने विश्वास बैंकले लिएको छ । ८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने आठ किलोमिटर आबुखैरनी–मुग्लिन खण्ड त्यसपछि निर्माण गरिनेछ । एडिबीका अनुसार आगामी पाँच वर्षभित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य छ । रासस