आर्थिक सहयोग नरोक्न विश्व स्वास्थ्य संगठनद्वारा अमेरिकासमक्ष आग्रह
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक टेड्रोसले संयुक्तराज्य अमेरिकाले संगठनका कार्यहरुलाई पुनः सहयोग गर्ने एवं मानिसको जीवन बचाउने कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका हुन् । उनले संयुक्तराज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई निरन्तर मद्दत गरिरहेको र अमेरिका नै संगठनलाई आर्थिक मद्दत गर्ने पहिलो नम्बरको मुलुक रहेको बताउँदै भने, “हामी अमेरिकाको त्यस सहयोगलाई भुल्न सक्दैनौं, र त्यसप्रति उच्च सराहना गर्दछौं ।” इथियोपियामा अमेरिकी सहयोगकै कारण स्वास्थ्य प्रणालीमा सुधार हुन सकेको दृष्टान्त दिँदै निकै भावुक मुद्रामा महानिर्देशक टेड्रोसले भने, “मलाई आशा छ संयुक्तराज्य अमेरिकाले गरेको यो सहयोग अरुका लागि मात्र लगानी होइन, स्वयम् अमेरिकी जनताको स्वास्थ्यका लागि पनि हो ।” गत साता अमेरिकी ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस फैलिएका बारेमा सूचनाहरु लुकाएको र संगठनले चीनको पक्ष लिएको भन्दै संगठनलाई दिइआएको आर्थिक सहयोग रोक्ने घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरुले संगठनको भूमिकाका बारेमा पुनः मूल्याँकन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए । अमेरिकाले हाल विश्व स्वास्थ्य संगठनलाई वार्षिक करिब ५० करोड अमेरिकी डलर प्रदान गरिरहेको छ । चीनले डब्लुएचओलाई करिब ४ करोड डलर दिँदै आएको छ । कोरोनाभाइरसको जोखिम उच्च रहेपनि चीन र अरु मुलुकबाट अमेरिकातर्फ हुने यात्रामाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति डब्लुएचओले आलोचना गरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् । रासस–एएनआई
कोरोना अपडेटः निको हुनेको संख्या ७ लाख १७ हजार नाध्यो
काठमाडौं । आज विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २६ लाख ३७ हजार ६ सय ७३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ८४ हजार २ सय १७ जनाको मृत्यु भइसकेको छ भने ७ लाख १७ हजार ६ सय २५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ४७ हजार ६ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ८ लाख ४८ हजार ९ सय ९४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २१ हजार ३ सय ७० पुगेको छ भने अहिलेसम्म ६८१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४५ जना संक्रमित भएका छन् भने ७ जना निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार: वल्डोमिटर)
सार्कमा काेराेनाः कुन देशमा कति संक्रमित ?
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमण विश्वभर तीव् रूपमा फैलिरहेकाे छ । काेराेना भाइरस लागेर निकाे भएर जाने सँसँगै संक्रमित हुनेकाे संख्या पनि दैनिक बढ्दै गएकाे छ । सार्क देशहरूमा सबैभन्दा बढी भारतमा छ । पछिल्लाे समय भारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएकाे छ। अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। बुधबार दिउँसोसम्म २० हजार १ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित बनेको भारतमा ६ सय ४५ जनाले ज्यान गुमाएका छन्। कोरोनाको जोखिम कम गर्न भारतमा झण्डै एक महिनादेखि लकडाउन जारी छ। तर संक्रमणदर भने तीब्र गतिमा फैलिरहेको छ। भारत जस्तै दक्षिण एशियाली अन्य राष्ट्रमा पनि कोरोनाको संक्रमण दर बढ्दै गएको छ। पाकिस्तानमा हालसम्म ९ हजार ७ सय ४९ जनामा कोरोनाको संक्रमण देखिएको छ भने २ सय ९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। यस्तै, बंगलादेशमा ३ हजार ७ सय ७२ जना कोरोनाबाट संक्रमित बनेका छन् भने १२० जनाको मृत्यु भएको छ। अर्को दक्षिण एशियाली देश अफगानिस्तानमा १ हजार ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३६ जनाले ज्यान गुमाएका छन्। श्रीलंकामा अहिलेसम्म ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी माल्दिभ्समा ८६, नेपालमा ४२ र भुटानमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।