विकसित र ठूलो अर्थतन्त्र भएका देशले यस्ता ल्याए आर्थिक प्याकेज

काठमाडौं । मानव सभ्यताकै चुनौतिको रुपमा देखापरिरहेको कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । यो भाइरसको संक्रमण हाल विश्वका सबै देशहरुमा फैलिसकेको छ । विश्वका दुई तिहाइ जनसंख्या अहिले आआफ्नो घरमा बन्दी अवस्थामा छन् । यो अवस्थामा अहिले विश्व अर्थतन्त्रको चक्का बन्द भएको छ । अधिकांश देशको होटल, एयरलाइन्स, पर्यटन, ट्राभल एजेन्सी, सेयर बजार उद्योग लगायतका सबै प्रकार व्यवसाय बन्द भएका छन् । विकसित देशमा समेत बेरोजगारीको दर बढ्दै गएको छ । अविकसित, अल्प विकसित र विकासोन्मुख देशका जनताको अवस्था अझ दयनीयत हुने संयुक्त राष्ट्र संघ, अन्तराष्ट्रिय मुद्राकोष जस्ता संघ संस्थाले चेतावनी दिइरहेका छन् । यस्तो अवस्थामा देशको समग्र अर्थतन्त्रको चक्का घुमाइराख्न तथा नागरिकको जिवनयापनमा सहजताका लागि विभिन्न देशले विभिन्न प्रकारका आर्थिक राहत प्याकेज घोषणा गरेका छन् । यस्तो रकम नागरिकको खानपिनका साथै उद्योग, व्यवसायलाई पुनर्ताजगी गर्नका लागि अनुदान तथा सहुलियतपूर्ण ऋण दिनका लागि समेत खर्च गर्ने छन् । यसरी अहिलेसम्म राहतको कार्यक्रम घोषणा गर्ने राष्ट्रमा चीन, अस्ट्रेलिया, अमेरिका, जापान, भारत, क्यानडा, फ्रान्स, जर्मनी लगायत देश छन् । यी देशहरुले घोषणा गरेका राहत प्याकेज कस्ता छन् त ? अमेरिका कोरोना संक्रमणबाट अहिलेसम्म विश्वमै सबैभन्दा धेरै मानवीय तथा आर्थिक क्षति व्यहोरेको अमेरिकाले विभिन्न चरणमा करिब ३.२ ट्रिलियन डलरभन्दा बढीको सहायता प्याकेज ल्याइसकेको छ । पहिलो चरणमा ७ सय ५० अर्ब डलरको आर्थिक राहतको प्याकेज ल्याइसकेको अमेरिकाले हाल तेस्रो चरणमा २.२ ट्रिलियन डलरको प्याकेज ल्याएको छ । यो राहत प्याकेज नागरिकको खानपिनका साथै उद्योग व्यवसायलाई सहयोग गर्न, स्वास्थ्य सामग्री उत्पादन लगायतका कार्यमा खर्च हुने अमेरिकाले बताएको छ । चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोना संक्रमणले अर्थतन्त्रमा ठूलो असर पारेको छ । आफ्नो अर्थतन्त्रलाइ जोगाउन चीनले अहिलेसम्म पटक पटक गरि ४ सय ७३ अर्ब डलरको राहत प्याकेज ल्याइसकेको छ । व्यवसायका बिभिन्न क्षेत्रहरुलाई समेट्दै अरु थप राहात तथा सहुलियतपूर्ण ऋण दिने तयारी चीनले गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख छन् । सर्वप्रथम कोरोना भाइरस देखिएको चीनले संक्रमण सुरु भए लगत्तै ३ सय ९४ अर्ब डलरको राहत प्याकेज ल्याएको थियो । पिपुल्स बैंक अफ चाइनाले संकटको मारमा परेका कम्पनीहरुलाई राहत दिनका लागि ७९ अर्ब डलर छुट्याएको छ । साथै उसले ऋण लिएका कम्पनीहरुको व्याज दरमा समेत व्यापक कटौती गरेको छ । चिनियाँ बैंकहरुले किस्ताको साँवा व्याज स्थगित गरी किस्ता पछि तिर्ने व्यवस्था गरेका छन् । भारत भारत सरकारले गरिब तथा कमजोर आर्थिक अवस्था भएकाहरुका लागि १ लाख ७० हजार करोड भारु (२२.५ बिलियन अमेरिकी डलर) को राहत प्याकेजको घोषणा गरेको छ । भारतले उक्त रकम दैनिक ज्याला मजदूरी गर्ने र लकडाउनको प्रत्यक्ष प्रभाव पारेका गरिबहरूलाई सहयोग गर्न सो रकम खर्च गर्ने बताएको छ । भारतले उक्त रकमले ८० करोड जनताका लागि आगामी ३ महिनासम्म निःशुल्क खाद्यान्न वितरण गर्ने जनाएको छ । साथै स्वास्थ्यकर्मीको बीमा, स्वास्थ्य सामग्री उत्पादन, विभिन्न व्यावसायिक कर छूट लगायतमा खर्च गर्ने बताएको छ । इटाली कोरोना संक्रमणबाट ठूलो मात्रामा आर्थिक तथा मानवीय क्षति व्यहोरेको इटालीले ४९ अर्ब डलरको राहत प्याकेज ल्याएको छ । उसले कम्पनी तथा कामदारहरुलाई सहयोग गर्न यो राहत प्याकेज ल्याएको जनाएको छ । त्यस्तै इटालीले स्वास्थ्य, रोजगारी, कर तथा कर्जा भुक्तानीलाई लक्षित गरेर थप वित्तीय क्षेत्रमा ३४० अर्ब यूरो खर्च गर्ने घोषणासमेत गरेको छ । स्पेन कोरोनाको संक्रमणबाट धेरै आर्थिक तथा मानवीय क्षति व्यहोरेको मध्यको देश स्पेनले २ सय १९ अर्ब डलरको राहतको तयारी गरेको छ । यस्तै, १ सय अर्ब डलरको कम्पनी लोनको ग्यारेन्टी तथा १७ अर्ब डलरको प्रत्यक्ष सहायता उपलब्ध गराउने भएको छ । निजी लगानीलाई सहयोग गर्नका लागि थप ८३ अर्ब यूरो सहयोग गर्ने समेत स्पेनका प्रधानमन्त्री पेद्रो सान्जले घोषण गरेका छन् । जापान जापान सरकारले ४ अर्ब डलरको प्याकेज घोषणा गरेको छ । यो प्याकेज साना र मध्यमस्तरका कम्पनीहरुका लागि लक्षित छ । सरकारले कोरोना भाइरस संक्रमणका कारण प्रभावित साना उद्योग तथा फर्महरुलाई बिनाव्याज नै ऋण उपलब्ध गराउने भएको छ । अष्ट्रेलिया अष्ट्रेलियाको स्कट मोरिसन सरकारले पनि विभिन्न चरणमा गरी ७२ अर्ब डलर बराबरको आर्थिक प्याकेज ल्याइसकेको छ । अष्ट्रेलियाको केन्द्रीय बैंकले पनि बजारमा प्रत्यक्ष हस्तक्षेप गर्दै संकटकालिन अवस्थामा ब्याजदर कटौती तथा केही सहज बनाउने औजारहरु प्रयोग गर्ने घोषणा गरिसकेको छ । अष्ट्रेलियाको केन्द्रीय सरकारले सरकारले १७.६ अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याएको छ । त्यसमध्ये २.४ अर्ब डलरको हेल्थ प्याकेज रहेको छ । यसैगरी भिक्टोरिया र क्यापिटल टेरिटोरी बाहेक अन्य सबै राज्यहरुले पनि ४ अर्ब डलरको स्वास्थ्य र आर्थिक सहायताका आफ्ना आफ्ना छुट्टा छुट्टै प्याकेज समेत ल्याएका छन् । बेलायत प्रजातन्त्रको जननी मानिने बेलायतले कामदार वर्गका लागि सबैभन्दा ठूलो राहत प्याकेज ल्याएको छ । उसले रोजगारी गुमाएकाहरुलाई मासिक २५ सय पाउण्डसम्म तलब दिने, कामदारको ८० प्रतिशतसम्म तलब सरकारले अनुदान स्वरुप उपलब्ध गराउने सो रकममा कर नलाग्ने तथा उक्त रकम राज्य र कामदार सुरक्षा कोष मिलेर व्यवस्था गर्ने तयारी गरेको छ । आगामी जुन महिनासम्म कुनै पनि व्यापार व्यवसायले तिर्नुपर्ने करिब ३० अर्ब पाउण्ड बराबरको भ्याट मिनाहा गरिदिएको घोषणा समेत गरेको छ । यस्तै, बेलायत सरकारले ४ सय अर्ब डलर बराबरको बेलआउट फण्ड ल्याएको छ, जुन कुल गार्हस्थ उत्पादनको १५ प्रतिशत हुन आउँछ । सरकारले व्यापारलाई सघाउने, साना ब्यवसायी तथा हस्पिटालिटी सेक्टरलाई २५ हजार पाउण्ड बराबरको नगद अनुदान उपलब्ध गराउने बताएको छ । फ्रान्स कोरोना भाइरस संक्रमणका कारण देशमा आएको विषम आर्थिक परिस्थितिको सामना गर्नको लागि फ्रान्स सरकारले साना व्यापार तथा कामदारहरुलाई राहतका लागि ४५ अर्ब युरो सहायता प्याकेज घोषणा गरेको छ । यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा गरिएको करिब १ प्रतिशतको कमीको पूर्वानुमानका लागि र कर्मचारीलाई तलव स्वरुप सो रकम खर्च गरिने फ्रान्स सरकारले बताएको छ । न्यूजिल्याण्ड न्यूजिल्याण्ड सरकारले पनि १२.१ अर्ब डलरको कोरोना रेस्क्यू प्याकेज ल्याएको छ । सरकारले यसबाट प्रभावित सबै क्षेत्रहरु र व्यापार व्यवसायका लागि समेत अनुदान दिनका लागि ५.१ अर्ब डलरको राहत ल्याएको छ । यस्तै, व्यवसायमा कर कटौती तथा क्यास फ्लोलाई ध्यानमा राखी थप २.८ अर्ब डलरको प्याकेज ल्याएको छ । जर्मनी जर्मनीको सरकारले पनि ६ सय ८ अर्ब डलरको प्रारम्भिक राहत प्याकेज सार्वजनिक गरेको छ । यसैगरी, जर्मनीले व्यापार व्यवसायलाई असिमित कर्जा उपलब्ध गराउने जनाएको छ । आवश्यकताको आधारमा सामाजिकस्तरमा थप राहात प्याकेज ल्याउने समेत जर्मनीको सरारले घोषणा गरेको छ । (अन्तराष्ट्रिय विभिन्न संचार माध्यमको सहयोगमा)

यी हुन डब्लुएचओले लकडाउन हटाउन तोकेका ६ वटा सुचक, नेपालले पनि पुरा गरेर खोल्ला त ?

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रबन्ध निर्देशक टेड्रोस अधनोम घब्रेससले धेरै देशहरुले लकडाउनको चपेटाबाट बाहिर निश्कन चाहेको बताएका छन् । डब्लुएचओले तोकेका विभिन्न ६ ओटा सुचकहरु पुरा गरेर मात्रै लकडाउनको चपेटाबाट बाहिर निश्कन सकिने जानकारी दिएको छ । नेपालमा पनि लकडाउन भएको आज २८ दिन भइसकेको छ । डब्लुएचओको लकडाउन हटाउन यस्ता छन् ६ वटा सुचक –कोरोना भाईरस संक्रमणको फैलावट रोकेको हुनुपर्ने । –सार्वजनिक स्वास्थ्यमा विशेष ख्याल राखी यसको क्षमतामा विस्तार हुनुपर्ने । –आईसोलेसन, क्वारेन्टाइनलगायत प्रत्येक केशलाई ट्रेस गर्न सक्ने अस्पतालको क्षमता भएको हुनुपर्ने । –नर्सिङ होमलगायत संवेदनशिल क्षेत्रमा भाईरस फैलन सक्ने चुनौतिको सामना गर्न सक्ने अवस्था भएको हुनुपर्ने । –काम गर्ने स्थानमा सामाजिक दूरी र विभिन्न सरसफाईका सुचकहरु पुरा गरेको हुनुपर्ने । –विदेशी पर्यटक तथा बाहिरबाट आउने यात्रुहरुमार्फत आउने ईम्पोर्ट केशलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सकिने क्षमता बनाउनुपर्ने, जनताहरुलाई यसको चुनौतिको घडी अन्त्य भएको अनुभव गराएको हुनुपर्ने।

क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या

टोरन्टो । क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरेका र कतिपय घरमा आगो समेत लगाइदिएका थिए । क्यानाडाको इतिहासमा सबैभन्दा विभत्स मानिएको यस घटनामा संलग्न व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएको प्रहरीले जनाएको छ । मारिएका व्यक्तिमध्ये एक जना प्रहरी अधिकृत पनि रहेका छन् । हेलिफ्याक्सबाट उत्तरतर्फ करिब १०० किलोमिटरको दुरीमा रहेको सानो ग्रामीण शहर पोर्टापिकमा उक्त घटना भएको हो । प्रहरीका अनुसार एउटा सानो घरभित्र र बाहिर सबैभन्दा बढी मानिसका शव भेटिएका थिए । घटनालगत्तै प्रहरीले स्थानीयवासीलाई घरभित्रै बस्न र घरका ढोकामा ताला लगाउन अनुरोध गरेको थियो । क्यानाडा सहित यो ठाउँ पनि कोरोनाभाइरस महामारीका कारण लकडाउनको अवस्थामा छ । प्रहरीले बन्धुकधारी ५१ वर्षीय ग्याब्रिएल वोर्टम्यान भएको बताएको छ । उनी पनि पोर्टापिककै अस्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनले प्रहरीको पोशाक लगाउनुका साथै रोयल क्यानेडियन लेखिएको प्रहरी कारमा सवार थिए । ‘यो हाम्रो प्रान्तको इतिहासमा भएको हिंसाको सबैभन्दा विभत्स घटना हो,’ नोभा स्कटियाका प्रमुख स्टिफन म्याकनीलले बताए । क्यानेडियन प्रहरीका प्रवक्ता डानियल ब्राइनले उक्त संदिग्धका अतिरिक्त १६ जनाको मृत्यु भएको पुष्टी गरे । क्यानाडामा सामूहिक गोलीकाण्डका घटना कमै हुने गरेका छन् । सन् १९८९ मा मोन्ट्रियलको इकोल पोलिटेक्निक कलेजमा बन्दुकधारी मार्क लेपिनले १४ जना महिलाको हत्या गरेपछि क्यानाडाले आफ्नो बन्दुक नियन्त्रण कानुनमा संशोधन गरेको थियो । क्यानाडामा अहिले दर्ता नभएका ह्यान्डगन (हाते बन्दुक) वा एकै पटक धेरै गोली हान्न सक्ने (आरपिडब्लु) स्वचालित हतियार राख्न अवैध बनाइएको छ । हतियार किन्नुअघि पर्याप्त प्रशिक्षण, व्यक्तिगत जोखिम मूल्याँकन, दुई जनाको सिफारिस, पति वा पत्नीलाई पूर्व जानकारी तथा फौजदारी रेकर्डको जाँच गरिन्छ । उक्त घटनालगत्तै प्रधानमन्त्री जस्टिन ट्रुडोले एउटा हस्तलिखित विज्ञप्ति प्रकाशन गरी ‘एक देशको रूपमा, यस्ता क्षणहरूमा हामी एक अर्कालाई सहयोग गर्न एकताबद्ध हुन्छौं । हामी सबै पीडित परिवारको साथमा छौं, उनीहरूलाई यो कठिन समयमा सहयोग गर्नेछौं’ भनेका छन् । प्रहरी प्रमुख क्रिस लिथरले घटनाको मुख्य उद्देश्य अनुसन्धानको क्रममा रहेको जानकारी दिए । उनले अहिलेसम्मको अनुसन्धानले घटनामा एक व्यक्ति मात्र संलग्न रहेको देखिएको बताए । उक्त घटना लगत्तै पुगेको प्रहरी र संदिग्ध व्यक्तिबीच गोली हानाहान भएको पनि लिथरले बताए । (रासस–एपी)