चीनले श्वेत पत्रमार्फत राख्यो अडान, ‘अमेरिकाले तीन पटक गर्यो आफ्नो बचन उल्लङघन’
बेइजिङ । चीनले “चीन–अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान” सम्बन्धमा श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषद्को प्रेस कार्यालयले आइतबार जारी गरेको श्वेतपत्रमा चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक छलफलमा अमेरिकाले तीन पटक आफ्नो वचन उल्लङघन गरेको बताइएको छ । चीनले सहयोगको तरिकामार्फत यस संघर्षको समाधान गर्दै पारस्परिक हित तथा साझा फाइदा पाउने इच्छा लिएको छ तर पनि सहयोगको सिद्धान्त छ भने छलफलको पनि आधार छ । महत्वपूर्ण सैद्धान्तिक समस्यामा चीनले दृढताका साथ सहुलियत दिने छैन । सो श्वेत–पत्रमा भनिएको छ, “अमेरिकाको भन्सार कर असुलीले आफू र अरू दुवैका लागि क्षति पु¥याएको, चालू वर्षको अप्रिलसम्म चीनबाट अमेरिकालाई निर्यात गरेको परिमाण लगातार पाँच महिनासम्म घट्दै आएको देखिएको तर अमेरिकाले चीनलाई निर्यात गरेको परिमाण लगातार आठ महिनासम्म घटिरहेको देखिन्छ । व्यापार द्वन्द्वबाट अमेरिका फेरि महान भएको छैन । आर्थिक व्यापारिक सम्झौता सम्मान र दुवै पक्षको हितको आधारमा हुनुपर्छ भन्ने दावी पत्रमा उल्लेख छ । चीनले भनेको छ, “चीनको मुख्य हितसँग सम्बन्धित महत्वपूर्ण सिद्धान्तबारेमा चीन सम्झौता गर्दैन र दुई पक्ष बीच सम्झौताको पूर्वाधार भनेको अमेरिकाले असुलेको सबै भन्सार कर रद्द गर्ने साथै सम्पन्न हुने सम्झौता सन्तुलित हुने र दुवै पक्षको साझा हितअनुकूल हुनुपर्छ भन्ने हो ।” दुई मुलुकबीच आर्थिक तथा व्यापारिक द्वन्द्व तथा मतभेदको समाधान अन्त्यमा वार्ता र छलफलद्वारा गर्नुभन्दा राम्रो विकल्प नरहेको पनि श्वेत पत्रको निष्कर्ष छ । बेइजिङ तथा वासिङटनले आपसी हितका लागि दुवै पक्षको विजयी व्यापार विवाद अन्त्यका लागि छलफल र दुवैलाई मान्य हुनेगरी सन्धि गर्नु नै हो र यसबाट दुई मुलुकको फाइदा र विश्वका विभिन्न मुलुकको अपेक्षा अनूकुल विश्व अर्थतन्त्रमा टेवा पुग्नेमा श्वेत पत्रले जोड दिएको छ । रासस/सिन्ह्वा
चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू
बेइजिङ । चीनले शनिबारदेखि लागु हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर थप गरेको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । घोषणा अनुसार अमेरिकाबाट उत्पादित लगभग ६० अर्ब अमेरिकी डलरका आयातित सामान सूचीमध्ये केही सामानका लागि छुट्टाछुट्टै थप कर उठाउनेछ । यसरी लिइने थप करमा सामान अनुसार थप २५ प्रतिशत, २० प्रतिशत र १० प्रतिशतको भन्सार कर असुल्नेछ । त्यस्तै पहिला थप छ प्रतिशतको भन्सार कर उठाउने गरेको सामानमा निरन्तर छ प्रतिशत थपिएको छ । चीन–अमेरिका व्यापार विवादबारे अमेरिका र चीनबीच लामो समय छलफलपछि विश्व समुदायले विवाद अन्त्य गरी दुई ठूला अर्थतन्त्रले सम्झौता गर्ने अपेक्षा गरिएको थियो । चिनियाँ कानून र नियम बमोजिम, चीनले ’अविश्वसनीय एकाइ सूची’ खडा गर्ने छ । जसमा बजारको नियमको पालना नगर्ने, सम्झौता विपरीत काम गर्ने, व्यापारिक उद्देश्य बाहेकका अन्य लक्ष्य लिएकाहरूले चिनियाँ कम्पनीमाथि नाकाबन्दी र आपूर्ति विच्छेद गरेर चिनियाँ कम्पनीको आधिकारिक हक अधिकारमा गम्भीर क्षति पुर्याएका विदेशी व्यवसाय, संगठन वा व्यक्तिलाई नै समावेश गराइने चीनले बताएको छ । यसका लागि चीनले आवश्यक ठोस कदम छोटो समयमै सार्वजनिक गर्ने चीनले शुक्रबार नै बताएको थियो । “चीनले विचारविमर्श र छलफलमार्फत व्यापार द्वन्द्व र मतभेदको समाधान गर्नुलाई प्राथमिकता दिइरहेको बताउँदै आएको छ । तर अमेरिकाले पेलेर अघि बढ्न खोजेमा चीनले पनि बाध्य भै तदनुरूप कदम चाल्न पछि हट्ने छैन,” चिनियाँ बाणिज्य मन्त्रालयका प्रवक्ताले भने ।
जुकरबर्गलाई फेसबुकबाट हटाउने प्रयास विफल, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुबै जिम्मेवारी
सान फ्रान्सिस्को । मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षमा पुनः चयन गरिएको छ । यससँग फेसबुकका कतिपय लगानीकर्ताले उनलाई फेसबुक सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी पदमा रहँदा यसका गतिविधिलाई हेर्न समस्या भएको र यसका कारण फेसबुकको साखमा समस्या आउनसक्ने विचार राख्दै अध्यक्ष पद छाड्न सुझाब दिएका थिए । फेसबुकको वार्षिक साधारणसभामा गत बिहीवार भएको थियो । साधारण सभाल जुकरबर्ग प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहिरहने गरी अनुमोदन गरेको हो । फेसबुकमा जुकरबर्गको ६० प्रतिशत शेयर छ र उनले मतदानमा आफैँले आफूविरुद्ध मत हालेको भए मात्रै हार्ने सम्भावना रहेको थियो । साधारणसभाको परिणामले जुकरबर्ग थप समय पनि दुबै जिम्मेवारी सम्हाल्न तयार रहेको देखिएको छ । जकर्बर्गलाई अध्यक्षबाट हटाउने खोज्ने लगानीकर्ताहरूमध्येका एक ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्ट पनि हो । “संसारको एउटा विशाल कम्पनीमा अहिले जुकरर्बर्गले दुईवटा महत्वपूर्ण पद ओगट्ने भएका छन् । यदिे प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ,“ ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले भने । तर जुकरबर्गले गत अप्रिलमा आफ्नो नेतृत्वको बचाउ गर्दै भनेका थिए,“हामीले त्रुटिबाट सिकेका छौँ कि छैनौँ त्यसबाट मानिसहरूले हामीलाई उत्तरदायी बनाउनुपर्छ भन्ने मलाई लाग्छ।” उनले साधारण सभापछि संछिप्त प्रतिक्रिया दिँदै भने “अबका दिनमा फेसबुकले आफ्ना प्रयोगकर्ताहरूको तथ्याङ्कलाई थप गोप्य बनाउने प्रयास गर्नेछ ।” एजेन्सी